लुम्बिनी टेलिभिजनलाई प्रदेशको एक नं. टेलिभिजन बनाउनुपर्नेमा जोड

281

 

बुटवल, पुष २५
विकासका लागि सूचना तथा सञ्चार अभियान लुम्बिनी सामुदायिक टेलिभिजनको १५ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । प्रदेशसभा सदस्य लिला गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा बोल्ने वक्ताहरुले मोफसलमा सञ्चालित गैर नाफामुखि मिडिया हाउसहरुलाई आर्थिक र भौतिक रुपमा बलियो बनाउनु पर्ने बताएका छन् ।
विगतमा राजनीतिक परिवर्तन ल्याउन र अहिले देशलाई आर्थिक क्रान्तिको बाटोमा अगाडी बढाउन सञ्चारगृहरुको महत्पवूर्ण भूमिका रहेको भन्दै उनिहरुले त्यस्ता सञ्चारगृह टिकाउने दायित्व राज्यले लिनुपर्ने बताए । राष्ट्रिय एकता, आपसी तथा सामाजिक सद्भाव कायम गर्न र देशलाई शान्ति, सम्वृद्विको बाटोमा अगाडी बढाउन मिडियाको भूमिका महत्वपूर्ण रहदै आएको उनीहरुले बताए । गैर नाफामुखिको हिसाबमा सञ्चालित लुम्बिनी टेलिभिजन जस्ता मिडियाहरुको दीगो विकासमा सरकार र समाजको ध्यानजान आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य लिला गिरीले मुलुकलाई शान्ति, सम्वृद्वि बनाउन मिडियाको भूमिका ठूलोहुने बताए । उनले विगतका प्रजातान्त्रिक तथा राजनीतिक आन्दोलनमा मिडियाको भुमिका महत्वपूर्ण रहेको र अबपनि मिडियाको भूमिका उत्तिकै महत्वपूर्ण रहने बताए । एमालेका केन्द्रिय सदस्य समेत रहेका नेता गिरीले यस क्षेत्रबाट लुम्बिनी टेलिभिजनको भूमिका अहम रहेको बताए । उनले नाफारहित हिसाबले अगाडी बढेका स्थानीय मिडियाहरुलाई प्रदेश र स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए । कतिपय मिडियाले गलत प्रचार गरेपनि लुम्बिनी टेलिभिजनले गलत प्रवृतिको खवरदारी गरेर आफ्नो धर्म नछोडेको बताए । सरकार छोड्न नचाहाने प्रवृति प्रजातान्त्रिक मुल्य मान्यतासंग मेल नखाएको उल्लेख गर्दै उनले मिडियाले अधिनायकबादी प्रवृत्तिको बिरुद्धमा खबरदारी गुर्नपर्ने बताए ।
प्रदेशसभा सदस्य माधव शर्माले हिजो राजनीतिक क्रान्ति पुरा गर्न र अहिले आर्थिक क्रान्ति पुरा गर्नका लागि मिडियाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले यस क्षेत्रबाट लुम्बिनी टेलिभिजनले हिजोका दिनमा खेलेको भूमिकालाई भुल्न नहुने उल्लेख गर्दै वर्तमान र भविश्यका लागि पनि यस टेलिभिजनको भूमिका आवश्यक रहने बताए ।
अर्का प्रदेश सभा सदस्य तथा लुम्बिनी टेलिभिजनका निवर्तमान अध्यक्ष विष्णु पन्थीले मानव सभ्यतालाई यहांसम्म ल्याउन मिडियाको ठूलो भूमिका रहेको बताए । सभ्य समाज बनाउन मिडियाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै मिडिया विना कूनैपनि कामको कल्पना गर्न नसकिने बताए ।
टेलिभिजनका अध्यक्ष एजाज आलमले संस्थाको आर्थिक र भौतिक विकासका लागि भवन निर्माण कार्यलाई अगाडी बढाउने बताए । उनले अनियमतिता रोक्न र गलत कामहरुको खबरदारी रोक्नको लागि टेलिभिजनलाई सशक्त बनाउने बताए । अध्यक्ष आलमले जनताले चाहेको परिवर्तनमा मडियाको भूमिकामा लुम्बिनी टेलिभिजनलाई स्थापित गराउने प्रतिवद्वता समेत व्यक्त गरे ।
कार्यक्रममा प्रदेशसभा सदस्यहरु भोजप्रसाद श्रेष्ठ, कृष्णप्रसाद न्यौपाने र तुल्सीप्रसाद चौधरीले हिजोका दिनमा समाज परिवर्तनमा लुम्बिनी टेलिभिजनको भूमिकाले काम गरेको उल्लेख गर्दै यस टेलिभिजनलाई यस प्रदेशको प्रमुख मिडिया सेन्टरको रुपमा विकास गर्नुपर्ने बताए ।
नेकपा एमालेका केन्द्रिय सदस्य खिमलाल भट्टराईले राजनीतिक परिवर्तन ल्याउन र तीनै तहका निर्वाचन सम्पन्न गर्नमा मिडियाले प्रमुख काम गरेको बताए । उनले अबको आवश्यक्ता निर्माण, सम्वृद्वि र विकास भएकाले यि तिनवटै एजेण्डामा लुम्बिनी टेलिभिजनबाट खबरदारी गर्न जरुरी रहेको बताए ।
नेपाली कांगे्रसका बुटवल नगरसचिव ज्योती भण्डारीले मिडियाले गलत कामको सधैभर खबरदारी गरिरहनु पर्नेमा जोड दिए । जिल्ला समन्वय समितिका संयोजक एकराज विकले बदलिंदो परिस्थितीमा मिडियाको भूमिका झनै बढेको उल्लेख गर्दै मिडियाको विकासका लागि भौतिक र नैतिक रुपले सहयोग पुराउने बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र सिद्वार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारीले आर्थिक सम्वृद्वि र सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको मिडियालाई सहयोग गर्नमा साझा दृष्टिकोण बन्नुपर्नेमा जोड दिएका छन् ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले मिडिया भित्रका समस्याहरुलाई एक आपसमा मिलेर साझा ढंगले समाधान गर्नुपर्ने बताए । कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष मोतीलाल पाण्डे, बुटवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष हरि अर्याल, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, यातायात मजदुर तथा व्यवसायी भलाई कोषका अध्यक्ष नारायणप्रसाद भट्टराई लगायतले बोल्दै सेवामूलक हिसाबले सञ्चालन गरिएका मिडियालाई आर्थिक र भौतिक रुपमा बलियो बनाउनु पर्नेमा जोड दिए ।
लुम्बिनी टेलिभिजनका अध्यक्ष एजाज आलमको अध्यक्षता, महासचिव दिनेश पाण्डेको सञ्चालन र उपाध्यक्ष सुरज भट्टराईको स्वागतमा सम्पन्न भएको कार्यक्रममा टेलिभिजनका सम्वाददाता विमल तिवारी र एमसिआर कोअर्डिनेटर कुश कार्की पुरस्कृत भएका छन् । टेलिभिजनले तिवारी र कार्कीलाई नगद तथा सम्मानपत्र सहित पुरस्कृत गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेशसभा सदस्य लिला गिरी र टेलिभिजनका अध्यक्ष एजाज आलमले कर्मचारीद्धय तिवारी र कार्कीलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका हुन् । टेलिभिजनले विगतका वर्षहरुदेखि टेलिभिजनमा लामो समय कार्यरत, अनुशासित र जिम्मेवारी पूर्वक सेवा प्रदान गर्ने कर्मचारीहरुलाई साधारणसभाको अवसरमा सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।
यसैगरी संस्थाका विशिष्ट सदस्य र साधारण सदस्यहरुलाई पनि प्रमाणपत्र सहित सम्मान गरिएको छ । एकवर्षको अवधीमा विशिष्ट सदस्यता लिने १३ जना र साधारण सदस्यता लिने १६ जना सदस्यहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

 

SHARE