सिद्धार्थनगर खुल्ला दिसामुक्त घोषणा

11

 

भैरहवा, पुष २१
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका खुल्ला दिसामुक्त घोषणा भएको छ । शुक्रवार भैरहवामा आयोजित कार्यक्रममा सिद्धार्थनगरलाई खुल्ला दिसामुक्त नगर घोषणा गरिएको हो । पर्यटन उद्योग व्यापार र शिक्षा हराभरा बुद्धभूमि, सिद्धार्थनगरको इच्छा तथा हाम्रो नगर सफा राख्छौं, खुल्ला दिसा गर्नेलाई दण्डित गर्छौ भन्ने नाराका साथ नगरलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।
नेपाल सरकारले सन् २०१७ भित्रै नेपाललाई खुल्ला दिसामुक्त घोषणा गर्ने नीति लिए पनि पूर्ण रुपमा अझै खुल्ला दिशामुक्त हुन सकेको छैन । सरकारले तोकेको अवधिमा रुपन्देही पनि खुल्ला दिसामुक्त हुन सकेन ।
रुपन्देहीमा अझैपनि लुम्बिनी सांस्कृतिक नगरपालिका, गैंडहवा गाउंपालिका, सम्मरीमाई गाउंपालिका, कोटहीमाई गाउंपालिका खुल्ला दिसामुक्त घोषणा गर्न बांकी छन् । सिद्धार्थनगरलाई जिल्ला समन्वय समिति रुपन्देहीले खुल्ला दिसामुक्त नगरको परिचय सहितको प्रमाण पत्र दिएको छ ।
खुल्ला दिसामुक्त नगर समारोहलाई सम्बोधन गर्दै रुपन्देही क्षेत्र नं. ३ का सांसद एमाले उपमहासचिव घनश्याम भुसालले नागरिकको स्वस्थ रहन पाउने अधिकारलाई नगरपालिकाले सम्बोधन गरेकोप्रति खुशी व्यक्त गरे । उनले खुल्ला दिसामुक्त संगै बालमैत्री, अपाङगमैत्री, छुवाछुत रहित र लैंगिकमैत्री नगर बनाउन सबैले पहलकदमी गर्नु पर्ने धारणा राखे ।
भुसालले सिद्धार्थनगर प्रचुर सम्भावना भएको नगर भएको बताउंदै लुम्बिनीलाई जोडेर समग्र रुपन्देहीको विकास गर्नुपर्ने धारणा राखे । उनले लुम्बिनीको विकास नभएसम्म रुपन्देही र देशको विकास नहुने बताउंदै सबैको सहयोग रहे मात्र विकास गर्न सकिने बताए ।
उनले शुक्रबार देवदहमा एमाले कार्यकर्ता बसन्त पौडेलेको हत्याको विरोध गर्दै भुसालले मानवले मानवको हत्या गर्नु राम्रो सन्देश नभएको बताए । हिंसा कसैलाई स्वाकार्य नहुने बताउंदै उनले हिंसा गर्ने अपराधीलाई राज्यले कानूनी कठघरामा ल्याउनुपर्ने बताए ।
प्रदेशसभा सदस्य सन्तोष पाण्डेले प्रदेशको विकास गर्न आफूले सबैसंग सहकार्य गरेर अगाडि बढ्ने बताए । उनले प्रदेश नं. पांचको विकासको आधार लुम्बिनी भएको जोड दिंदै प्रदेश राजधानी रुपन्देही गराउनु पर्ने माग गरे । पाण्डेले सिद्धार्थनगर खुल्ला दिसामुक्त भएपनि अझै केही समस्याहरु बांकी रहेको बताउंदै त्यसलाई सम्बोधन गर्न आफू नगरपालिकासंग हातेमालो गरी काम गर्ने बताए ।
जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्माले सिद्धार्थनगरले विकासको एउटा खुड्कीलो मध्ये खुल्ला दिसामुक्त नगर घोषणा गरेर सराहनीय काम गरेको बताए ।
नगरप्रमुख हरिप्रसाद अधिकारीले सरकारले तोकेको समयमै नगरलाई खुल्ला दिसामुक्त घोषणा गर्ने आफूहरुको इच्छा भएपनि स्रोतसाधन, गरिबी तथा विपन्न परिवारका सदस्यहरुले समयमै शौचालय बनाउन नसक्दा केही ढिला भएको बताए । उनले नगरपालिकाले क्रमिक विकासका कामलाई अगाडि बढाउंदै लगिरहेको जनाउंदै नगरबासीकै सहभागितामा विकास निर्माण र समस्या समाधान गर्ने बताए ।
कार्यक्रममा नगर उपप्रमुख उमा काफ्ले, जिल्ला समन्वय समितिका इन्जिनियर धुव्र धिताल, नगरपालिकाका प्रशासकीय अधिकृत यमबहादुर कुवंर, एमालेका रामबहादुर श्रेष्ठ, कांग्रेसका विरेन्द्र श्रीवास्तव, माओवादी केन्द्रका विश्वास बराल, संघीय समाजवादी फोरमका अर्जुन जयसवाल, सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपाने, उद्योग व्यापार संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारी, नमूना एकीकृतकी अध्यक्ष ज्ञानु पौडेल लगायतले मन्तव्य राख्दै खुल्ला दिसामुक्त नगरलाई अझै व्यवस्थित बनाउन सबैको सहकार्य आवश्यक रहेको बताएका थिए । उनीहरुले यहां आउने पर्यटक, यात्रुहरुको सुविधाका लागि नगरपालिकाले सार्वजनिक शौचालय पनि निर्माण गर्नुपर्ने धारणा राखेका थिए ।
खुल्ला दिसामुक्त नगर घोषणा कार्यक्रय अघि बुद्धचोकबाट बाजागाजा सहित विभिन्न जनचेतनामूलक नारा लेखिएको प्लेकार्ड सहित ¥याली निकालिएको थियो । ¥याली बर्मेलीटोल, नारायणपथ, मिलनचोक, बैंकरोड, देवकोटाचोक हुंदै नगरपालिकाको सभाहल गणतान्त्रिक सभागृहमा पुगेको थियो ।
¥यालीमा भैरहवामा क्रियाशिल विभिन्न संघसंस्था, उद्योगी व्यापारी, राजनैतिक दल, आमा समूह, नागरिक समाज र विभिन्न विद्यालयका गरी ७० वटा सहसंस्थाको सहभागिता रहेको थियो । कार्यक्रममा खुल्ला दिसामुक्त नगर घोषणा गर्न सहयोग गर्ने विभिन्न क्षेत्रका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो भने ¥यालीमा सहभागी मध्ये ७ वटा समूहलाई नगदसहित सम्मान समेत गरिएको थियो । कार्यक्रम नगरपालिकाका प्रशासन प्रमुख शेखरनाथ पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

 

SHARE