रुपन्देहीको देवदहमा गोली हानी व्यवसायीको हत्या

191

 

बुटवल, पुष २१
रुपन्देहीको देवदहका व्यवसायी बसन्त पौडेलको हत्याको बिरोधमा बुटवल बन्द आह्वान गरिएको छ । युवा संघ रुपन्देहीले बन्दको आह्वान गरेको हो । एमाले नेता निलकण्ठ पौडेलका छोरा बसन्त पौडेलको हत्याको बिरोधमा बुटवल ठप्प पारिएको छ ।
घटनामा संलग्न अभियुक्तलाई पक्राउका लागि दवाव दिन बन्दको आह्वान गरिएको बताईएको छ । यसअघि दुर्गा तिवारीको हत्यारालाई पक्राउ नगरेकै कारण यो घटना भएको भन्दै एमाले निकट युवाहरुले प्रहरी प्रशासनलाई दवाव दिएको हो ।
देवदह–२, ढेकावारमा उज्वल नामक समिल संचालन गर्दै आएका बलु भनिने बसन्त पौडेलमाथि समिलमै श्रीमती सहित आगो तापेर बसीरहेको अवस्थामा गोली प्रहार भएको बताईएको छ ।
गोली प्रहारबाट घाईते भएका उनको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।
मोटरसाइकलमा आएका दुई जनाको समूहले उनको छातीमा गोली प्रहार गरी भागेको प्रहरीले बताएको छ ।
पौडेललाई गोली प्रहार भएलगत्तै फरार अभियुक्त मनोज पुनले पत्रकारहरुलाई टेलिफोन गरी हत्याको जिम्मा लिएको बताईएको छ । बुटवलका सञ्चारकर्मीलाई पालैपालो टेलिफोन गरी आफ्ना मान्छेहरुले पौडेललाई गोली हानेको बताएका हुन् । पुनमाथि गत वर्षको पुस ४ गते देवदह खैरेनीमा तत्कालीन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या गरेको अभियोग छ ।
प्रहरीले घटनाको अन्ुसन्धान भईरहेको र गोली हान्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ । वर्षैपिच्छे गोली हानेर हत्या भएपछि देवदहका स्थानीय त्रसित बनेका छन् । प्रहरीले सबै नाकाहरुमा सुरक्षा चेकजांचलाई कडा बनाएको जनाएको छ ।

 

SHARE