राजश्व छलेको भन्दै सर्वोत्तम सिमेन्टलाई पौने २ लाख जरिवाना

20

 

भैरहवा, १२ पुस ।

राजश्व छलीको आरोपमा नवलपरासीस्थित सर्वोत्तम सिमेन्ट उद्योग प्रालिलाई जरिवाना गरिएको हो । क्षेत्रीय राजश्व अनुशन्धान कार्यालय बुटवलले उद्योगलाई राजश्व छलेको आरोपमा १ लाख ८५ हजार रुपैया धरौटी जरिवाना गरेको हो ।

सर्वोत्तम उद्योगबाट भ्याट विल जारी गरि लुम्बिनी करिडोरमा रहेको जगदम्बा सिमेन्ट उद्योगको नाममा छ वटा ट्रकबाट पठाएको कच्चा पदार्थ क्लिङ्करको परिमाण, बिलमा उल्लेख गरिएभन्दा दोब्बर पाईएपछि कारवाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले क्षेत्रिय राजश्व अनुशन्धान कार्यालय बुटवलमा पठाएको थियो ।

भ्याट बिलमा कम परिमाणको माल देखाई ट्राफिक प्रहरीको ओभरलोड जरिवानाबाट जोगिन खोजेको उक्त उद्योगको पछिल्लो यस घटनाले महिनौंदेखि ओभरलोड ढुवानी गर्ने र जरिवानाबाट जोगिदै आउने गरेको रहस्यलाई पनि उजागर गरेको छ भने राजश्व छलीको पनि आशंका गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक दक्ष बस्नेतले उक्त उद्योगले ओभरलोड गरि माल पठाउने गरेको सूचनाको आधारमा भैरहवा–परासी हुलाकी सडकबा चेकजाँच गरि धर्मकाँटामा तौल गराउँदा उद्योगबाट जारी गरिएको बिलमा भन्दा दोब्बर परिमाणमा माल ढुवानी गरेको पाईएपछि भ्याट छलेको बिषयमा कारबाहीका लागि राजश्व अनुशन्धान कार्यालयमा पठाईएको बताए ।

ट्राफिक प्रहरीका अनुसार लु २ ख १०९० नम्बरको ट्रकमा ढुवानी भएको क्लिङ्करको परिमाण भ्याट बिलमा २० हजार ९ सय ९० किलो उल्लेख गरिएकोमा तौल गराउँदा ३६ हजार ५० किलो देखिएको थियो । ना ५ ख ९५८२ नम्बरको ट्रकमा २० हजार ८ सय ७० किलो परिमाण बिलमा थियो भने तौल गर्दा ४४ हजार ८ सय किलो भेटिएको थियो । छ वटै ट्रकको बीलमा उल्लेखित परिमाण १ लाख २२ हजार ८ सय ४० किलो थियो । ट्राफिक प्रहरीले पुनः तौल गराउँदा २ लाख ३ हजार १ सय ४० किलो भएको थियो ।

भ्याट बिलमा उल्लेख गरिएको कुल परिमाणको मुल्य १० लाख ८७ हजार १ सय ३४ रुपैयाँ रहेको र छलेको परिमाणको समेत मुल्य जोड्दा १७ लाख ९७ हजार ७ सय ८९ रुपैयाँ पुगेकोले यसबाट भ्याटकोमात्रै राजश्व छलि ९२ हजार ३ सय ८५ रुपैयाँ देखिएकोले कारवाहीका लागि राजश्व अनुशन्धानमा पठाएको बस्नेतले बताए ।

क्षेत्रिय राजश्व अनुशन्धान कार्यालय बुटवलका प्रमुख नरेन्द्र पाण्डेले मुद्धाको टुंगो नलाग्दासम्म १ लाख ८५ हजार रुपैयाँ धरौटी जरिवानामा छ वटा ट्रक छाडिएको बताए । उनले सवै ट्रकमा ढुवानी गरिएको मालको टुक्राएर बनाईएको दुई–दुईवटा भ्याट बिल कार्यालयमा पेश गरिएको बताए । उनले अनुसन्धान भइरहेकाले तत्काल धरौटीमा ट्रक छाडिएको बताउँदै अनुसन्धानको क्रममा गलत गरेको प्रमाणित भए कारबाही गरिने बताए । ट्राफिक नियम अनुरुप मापदण्ड भन्दा बढि ढुवानी गर्नेलाई अधिकतम १ हजार ५ सय रुपैयाँ जरिवाना र बढि भएको माल अर्को गाडीमा पल्ट्री गराउने प्रावधान छ ।

SHARE