पार्टी एकतामा ओली–दाहालकै सहयोगी बाधक : दुवै पार्टीमा बढ्यो एकताबिरोधी चलखेल

22

बालकोटमा ओलीको छटपटी देखेपछि एमालेकै केही एकता पक्षधर नेताबाट माओवादी नेतालाई दुई नेताबीच केही समस्या भएको हो र ? भन्दै फोन गयो । त्यसपछि भने दाहालकै प्रमुख स्वकीयसचिव महरा नै दुई नेताबीच दुरी बढाउन लागेको रहस्य खुल्यो । माओवादी नेताको कुरा बुझेपछि जब एकता पक्षधर नेताले किन प्रचण्डसँग भेट भएन भन्ने जिज्ञासा बज्रचार्यलाई गर्दा उनले खबर अझै नआएको भन्दै आफूहरू दाहाल सचिवालयबाट खबरको प्रतिक्षामा रहेको सुनाए । दुई नेताबीच निकै शंका उब्जाउने महराको त्यो योजनालाई दुवैतिरका एकता पक्षधर केही नेताले तोडे । त्यही दिन दुई नेताबीच बबरमहलमा लामो वार्ता भयो

काठमाडौं, पुस १०

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्दै पार्टी एकताको गृहकार्य अन्तिम चरणमा पुगेपछि माओवादी केन्द्र र एमालेभित्रकै केही नेताहरू एकता भाँड्ने कसरतमा लागेको पाइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निकट केही नेतादेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमै रहेका पदाधिकारी दुई पार्टीबीचको एकता भाँड्न लागेको तथ्य खुलेको आजको सौर्य दैनिकमा समाचार प्रकाशित छ ।
माओवादी केन्द्रभित्र दाहालकै सहयोगी कृष्णबहादुर महरा, वर्षमान पुन, मातृका यादव, गोपाल किराती र विश्वभक्त दुवाल (आहुती) खुलेर एकताको विपक्षमा लागेका छन् । प्रचण्डका अति निकट भनिएका तिनै नेताले यतिबेला नेपाली कांग्रेसका केही नेतासँग गोप्य छलफलगरी एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच दरार ल्याउने अभियान थालेका हुन् । राजन भट्टराई र कमल रानाले लेखेको सो समाचारमा पछिल्लो समय एकता भाँड्नका लागि दुई नेताबीच दरार ल्याउने भूमिकामा प्रचण्डकै प्रमुख स्वकीयसचिव जोखबहादुर महरा (प्रताप) लागेका छन् । उनले ओली र दाहालबीच दुरी बढाउन पटकपटक प्रयास गरेको माओवादी केन्द्रका एक वरिष्ठ नेताले जानकारी दिए ।

‘सिएम कमरेडकै स्वकीयसचिव प्रताप दुई नेताबीच कायम रहेको उच्चस्तरको समझदारी कसरी बिगार्न सकिन्छ भनेर लाग्नुभएको छ, उहाँले एकतामा दरार ल्याउन कृष्णबहादुर महरासहितका नेताहरूलाई हरेक क्रियाकलापको सूचना दिने गरेका छन्,’ माओवादीका एक कार्यालय सदस्यले भने, ‘प्रतापकै कारण प्रचण्ड र ओलीबीच केही आशंका बढाउने घटना घटिसकेको छ ।’ ती नेताका अनुसार एमाले अध्यक्ष ओली गृहजिल्ला झापाबाट काठमाडौं आएको भोलिपल्ट दाहाल छलफलका लागि चितवनबाट काठमाडौं फर्किएका थिए । दुई नेताबीच दाहाल काठमाडौं फर्किएकै दिन छलफल गर्ने सहमति थियो । सोहीअनुसार दाहालले काठमाडौं विमानस्थल उत्रनासाथ प्रमुख स्वकीयसचिव महरालाई ओलीको सचिवालयमा फोन गरी काठमाडौं आइपुगेको जानकारी दिन भने ।

सिएम कमरेडकै स्वकीयसचिव प्रताप दुई नेताबीच कायम रहेको उच्चस्तरको समझदारी कसरी बिगार्न सकिन्छ भनेर लाग्नुभएको छ, उहाँले एकतामा दरार ल्याउन कृष्णबहादुर महरासहितका नेताहरूलाई हरेक क्रियाकलापको सूचना दिने गरेका छन्, प्रतापकै कारण प्रचण्ड र ओलीबीच केही आशंका बढाउने घटना घटिसकेको छ

दाहाल विमानस्थलबाट सिधै ओलीसँग भेट गर्न जान चाहेका थिए । उनको निर्देशनअनुसार महराले ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई फोन लगाउँदै केही पर गए । अनि आफूहरू काठमाडौं आइपुगे पनि बधाई ग्रहणका साथै थाकेको कारण भेटवार्ताका लागि खबर गर्ने बताए । तर, दाहाललाई भने ओली व्यस्त भएकोले भेटघाटको समय मिलाएर जानकारी दिने खबर आएको सुनाए । चितवनमा निकै व्यस्त दाहाल ठीकै भयो भन्दै आराम र बधाई ग्रहणका लागि लाजिम्पाटस्थित निवासतिर लागे । जब ओली निवासबाट साँझसम्म फोन आएन, उनी केही सशंकित बने ।

‘काठमाडौं आउनासाथ भेट्ने भनेको, यति धेरै समयसम्म पनि फोन आएन, महराजीहरू ओलीको नियत ठीक छैन, चुनावी परिणामपछि अर्कै योजना छ भन्छन्, हो कि क्या हो ?’ भन्दै दाहालले केही निकट सहयोगी नेतालाई सुनाए । उनीहरूले ओली एकताबाट पछि हट्ने खालको नभएको र दाहालप्रति उच्च विश्वास र सम्मान रहेको सुनाउँदै एकपटक आफै बुझ्न सुझाए । दाहालमा निकै छट्पटी भए पनि फोन आउला भन्दै भोलिपल्टसम्म कुरे, तर ओलीको सचिवालयबाट फोन आएन । त्यसबेलासम्म दुवै नेताले एकआपसमा सिधा फोन सम्पर्क गरेका थिएनन् । एमाले अध्यक्ष ओली पनि यसबीचमा पटकपटक उताबाट खबर आएन भन्दै बज्राचार्यलाई सोधिरहेका थिए ।

बालकोटमा भेट्न आउनेहरूको भीडले निकै व्यस्त रहँदा पनि ओली दाहाल निवासबाट कतिखेर भेट्ने खबर आउँछ भन्दै बसिरहेका थिए । बालकोटमा ओलीको छटपटी देखेपछि एमालेकै केही एकता पक्षधर नेताबाट माओवादी नेतालाई दुई नेताबीच केही समस्या भएको हो र ? भन्दै फोन गयो । त्यसपछि भने दाहालकै प्रमुख स्वकीयसचिव महरा नै दुई नेताबीच दुरी बढाउन लागेको रहस्य खुल्यो । माओवादी नेताको कुरा बुझेपछि जब एकता पक्षधर नेताले किन प्रचण्डसँग भेट भएन भन्ने जिज्ञासा बज्रचार्यलाई गर्दा उनले खबर अझै नआएको भन्दै आपूmहरू दाहाल सचिवालयबाट खबरको प्रतिक्षामा रहेको सुनाए । दुई नेताबीच निकै शंका उब्जाउने महराको त्यो योजनालाई दुवैतिरका एकता पक्षधर केही नेताले तोडे । त्यही दिन दुई नेताबीच बबरमहलमा लामो वार्ता भयो ।

यता एमालेतिर पनि महराजस्तै केही नेताहरू अध्यक्षसँग एकता हुनैपर्ने भन्दै बाहिर भने बिगार्न लागेको एक नेताले बताए । एकतापछि आफ्नो हैसियत के हुन्छ ? भन्दै उनीहरू बिगार्न लागेको स्रोतको भनाइ छ । ‘मन्त्रीका आकांक्षी स्वार्थी समूह, विदेशी शक्ति केन्द्र निकट रहेको अर्काे समूह आफ्नो सुरक्षाका लागि एकता भाँड्न लागिरहेका छन, यस्तो खेल खेल्नेमा अध्यक्षलाई सहयोग गर्नेदेखि विरोध गर्ने दुवै छन्,’ एमाले स्थायी कमिटीका एक सदस्यले भने । एमालेभित्र अहिलेसम्म खुलेर एकताको विपक्षमा उभिने काम भने भएको छैन ।

स्रोतका अनुसार आफ्नो स्वार्थपूर्तिका लाग एकतामा दरार ल्याउन चाहने एमालेका केही नेताहरू उपाध्यक्ष वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई समेत भड्काउन लागेका छन् । उनीहरूले एकताको पहलकदमी लिएकै कारण गौतम र श्रेष्ठलाई हराइएको भन्दै विपक्षमा उभ्याउने प्रयास गरेको स्रोतको भनाइ छ । दुवै दलभित्र एकता विरोधी चलखेल भए पनि ओली र दाहाल भने एकताको अन्तिम खाका कोर्न व्यस्त छन् ।

मन्त्रीका आकांक्षी स्वार्थी समूह, विदेशी शक्ति केन्द्र निकट रहेको अर्काे समूह आफ्नो सुरक्षाका लागि एकता भाँड्न लागिरहेका छन, यस्तो खेल खेल्नेमा अध्यक्षलाई सहयोग गर्नेदेखि विरोध गर्ने दुवै छन्

वैचारिक, राजनीतिकदेखि सांगठनिक संरचनामा समेत दुई नेताबीच लगभग सहमति जुटने अवस्थामा पुगेको छ । दुवैतर्फ चलखेल बढेपछि ओली र दाहालले आफ्ना निकट सहयोगीलाई समेत जानकारी नदिई वार्ता गर्न थालेका छन् । यही आधारमा ओली र दाहाल दुवैले एकतालाई कसैले रोक्न नसक्ने सन्देश आफूलाई बधाईसहित भेट्न आउनेलाई दिने गरेका छन् भने सार्वजनिक मञ्चबाटसमेत ओली र दाहाल एकताको पक्षमा उभिएका छन् ।

आफ्नो पार्टीभित्रको चलखेलबारे दुवै नेता जानकारसमेत रहेको स्रोतले बतायो । ‘वाम गठबन्धन र पार्टी एकतामा दरार ल्याउने प्रयास हुनु कुनै अनौठो कुरा होइन, प्वाल पार्न पाइन्छ कि भनेर अन्तिम करसत हुनुलाई अनौठो ठान्नु हुँदैन,’ दाहालको भनाइ छ । दाहालले एकतालाई जनताले अनुमोदन गरिसकेको सन्देशसमेत देशभर दिइसकेका छन् ।

‘मैले र केपी कमरेडले जानीबुझी पुल बाँकी राख्यो भने फर्किने खतरा हुन्छ, पुल नै भत्काइ दिउँ भनेर एकतामा एकै चोटी हामफालेको हो,’ दाहालले भनेका छन्, ‘एकताको सहमति पक्षको पल्ला यति भारी छ कि अर्को पक्षले गर्ने कसरत हास्यास्पद लाग्छ ।’

SHARE