नया साखा स्थापना गर्न अनुमति मागे पत्रकारहरुले

7

परासी पुष ९
पश्चिम नवलपरासीका पत्रकारहरुको पेशागत संगठनले नेपाल पत्रकार महासंघ नवलपरासीको शाखा गठन गर्न माग गरेका छन् ।
संघिय संरचना अनुरुप नवलपरासी ४ र ५ नं. प्रदेशसहित दुई जिल्लामा विभाजन भईसकेकाले सोही अनुसार पश्चिम जिल्लाको परासी र पूर्वी जिल्लाको नवलपुरमा छुट्टाछुट्टै शाखा गठन गर्न केन्द्रीय समितिसंग माग गरेका हुन् ।
यसअघि एउटै जिल्ला शाखा रहेकोमा जिल्ला टुक्रिदा विभिन्न कार्यक्रम र संघसंस्थाहरुसंग समन्वय गर्न असहज भएको भन्दै संगठनहरुले छुट्टाछुट्टै शाखा गठनको माग गरेका हुन् ।
पश्चिम नवलपरासीमा कार्यरत पत्रकार महासंघमा आवद्ध सदस्यहरुले नेपाल पत्रकार महासंघ जिल्ला शाखासंग डेढ महिना अघि छुट्टै शाखाको मागगर्दै लिखित हस्ताक्षर पठाएका थिए ।
जिल्लासहित केन्द्रमा बुझाएको उक्त हस्ताक्षरपछि पनि शाखा गठनका लागि पहल नगरेको भन्दै संगठनहरुले संयुक्त बैठक बसेर तत्काल शाखा गठन वा जिम्मेवारी तोक्न केन्द्रीय समितिसंग आग्रह गरेका हुन् ।
बैठक पश्चात प्रेस चौतारीका जिल्ला संयोजक केशब पराजुली, प्रेस युनियनका उपाध्यक्ष अनिल यादव, प्रेस सेन्टरका संयोजक बेनिमाधव बस्याल, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष घनश्याम पोख्रेल र क्रान्तिकारी पत्रकार संगठनका संयोजक शिब डुम्रेद्धारा हस्ताक्षरित विज्ञप्तीमा शाखा गठनसहित बिभिन्न चारवटा निर्णयहरु गरेको छ ।
बैठकले पश्चिम नवलपरासीमा पत्रकार महांसघको शाखा विस्तार वा जिम्मेवारी प्रदान, पत्रकार महासंघको प्रदेश अधिवेशनका लागि परासी क्षेत्रमा कार्यरत पत्रकार, पत्रकारहरुका सम्पूर्ण संगठन र यस क्षेत्रमा सञ्चालन भएका सञ्चारगृहले सहभागिता जनाई आआफ्नो क्षेत्रबाट सहयोग गर्ने निर्णय गरेको छ ।
प्रदेश अधिवेशन अगावै वितरण हुने नयां सदस्यका लागि पत्रकारहरुका संगठनहरुसंग छलफल गरी सहमति गर्नुपर्ने निर्णय गरेको छ ।
बैठकले नवलपुर एफएमका सञ्चालक तथा पत्रकार महासंघका साधारण सदस्य तिर्थराज भुसालको निधनपछि आईपरेको पारिवारिक समस्याका बारेमा जानकारी लिई समाधानको पहल गर्न केन्द्रीय समितिसंग माग गरेको छ ।

SHARE