साहाराले ठग्यो बेसाहारा बालबालिकालाई

13

बुटवल पुष ९
बुटवलमा संचालनमा रहेको सहाराको घर बालगृहमा रहेका बालकहरु माथि शोषण र कुटपिट गर्ने गरेको आरोप लागेको छ । बुटवल १३ स्थित बेलवासमा संचालनमा रहेको साहाराको घर नामक बालगृहमा रहेका बालकहरु शनिबार राती आफुमाथी शोषण र कुटपिट गरेको भन्दै भागेपछि बालगृहमा उनिहरुमाथी शोषण भएको तथ्य बाहिर आएको हो ।
आश्रममा रहेका मध्ये ५ जना बालक राति भागेर सडकमा आएका थिए । मुगुबाट केही दिनअघि मात्र उनिहरुलाई आश्रम ल्याईएको थियो ।
सुविधा सम्पन्न होस्टलमा बस्ने भनि आफुहरुलाई ल्याएको भएपनि आश्रममा रहेका सहयोगीहरुलाई मानसिक रुपमा यातना दिदै शोषण गरेको बालकहरुले प्रहरी सामु बताएका छन् । उनीहरुले घरपरिवारबाट राम्रो होस्टलमा राखेर पढाउने भन्दै मुगुबाट ल्याएको बुझिएको छ ।
उनिहरु अहिले ईलाका प्रहरी कार्यालयको संरक्षणमा रहेका छन् । संरक्षित बालकहरुमा १५ बर्षका रमेश रोकाय, ११ बर्षका निराजन बुढा, रबिन्द्र रोका, चक्र बुढा र १० बर्षका हस्त बुढा रहेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक पवन भट्टराईले उनीहरुको बारेमा अनुसन्धान गरिरहेको बताए ।
बेलुका पेटभरि खान नदिई उनिहरुलाई सुसारेले कुटपिट गरेपछि आफ्नै घर जाने भन्दै हिड्दै गर्दा स्कटिङमा रहेको प्रहरीले फेला पारि उद्धार गरेको हो । नयांगाउ प्रहरी चौकी इन्चार्ज बिष्णु प्रसाद मिश्रले सडकमा हिडिरहेको अवस्थामा फेलापारी उद्धार गरिएको बताए ।
घरबार बिहिन बालबालिकालाई आश्रय दिने भनिए पनि परिवारमा अभिभावक भएका उनिहरुलाई ५० हजार सहित मुगुबाट बालगृहसम्म ल्याईएको स्रोतले बताएको छ । आश्रम सञ्चालक र सहयोगीहरुले बालबालिकाहरुले घरमा कोही छैन भनि बोल्न बाध्य पार्ने र त्यसो नगरेमा कुटपिट गर्ने गरेकोे उनिहरुले बताएका छन् ।
बालकहरु मुगुबाट ल्याईएको भएपनि चितवनबाट आएको भन्न बाध्य पारेको स्रोतले जानकारी दिएको छ । स्थानीयवाशी पनि बालबालिकाहरु डरत्रासको कारण अरु व्यक्तिसंग कुनै प्रतिकृया दिने अवस्थामा नभएको बताएका छन् ।
देवदह नगरपालिकामा स्थाई घर भएका शंकर प्यासीले संचालन गरेको बालगृहमा अहिले ३४ जना बालबालिका बस्दै आएका छन् । चितवन केन्द्रीय कार्यालय रहेको बताउने प्यासीले सुनवल, धनगढी र सुर्खेतमा शाखा संचालन रहेको बताएका छन् ।
प्रहरीको अनुसन्धानमा रहेका उनले आफुले नियम र परिधिभित्र रहेर आश्रम सञ्चालन गरेको बताएका छन् । एक तले सामान्य घरमा बालगृह संचालन गरेका उनले बालबालिकालाई भेडाबाख्रा जस्तै व्यवहार गरेको प्रष्ट देख्न सकिन्थ्यो ।
सामुहीक नेतृत्वमा संचालक समिति मार्फत बालगृह संचालन गर्नुपर्ने भएपनि उनको एकल कब्जामा आश्रम संचालन भईरहेको छ । उनिका बुवा स्वर्गिय बाबुराम प्यासीले देवदहमा बालआश्रम संचालन गरेका थिए ।
उनको निधनपछि आश्रममा बालबालिका लाई उनका छोरा शंकरले शोषण गरेको समाचार सार्वजनिक भएपछि बालबालिकाहरु जोखीममा परेको भन्दै जिल्ला बालकल्याण समितिले आश्रमका बालबालिकालाई केन्द्रीय बालकल्याण गृहको जिम्मा लगाएको थियो । जिल्ला बालकल्याण समिति रुपन्देहीले केही दिन अघि सो आश्रममा अनुगमन समेत गरेको थियो ।
प्रहरीले आश्रमका बारेमा थप अनुसन्धान भईरहेको र राती भागेका पांच जना बालकलाई सोधपुछ थालिएको बताएको छ ।

 

SHARE