कांग्रेसले हारेपनि कांग्रेसको बिचारले जित्यो -बिश्व प्रकाश शर्मा

16

बुटवल पुष ९
नेपाली कांगे्रसका नेता विश्वप्रकाश शर्माले कांगे्रसले निर्वाचनमा हारेपनि कांग्रेसको बिचारले जितेको बताएका छन् । कांगे्रस निर्वाचनमा उपविजेता भएपनि कांगे्रसको लोकतान्त्रिक संसदीय प्रणालीले जितेको उनले बताए ।
नेपाली कांगे्रस बुटवलले आईतबार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले शान्ति स्थापना, संविधान जारी र मधेश पहाडलाई कांगे्रसले जोडेको तथ्य जनतालाई बुझाउन नसक्दा कांगे्रसले निर्वाचनमा हार्नुपरेको बताए ।
दुई ठू्रला कम्युनिष्ट पार्टीको गणितिय गठबन्धन र गठबन्धनको अन्तर बिरोधसंग खेल्न नसक्नु, प्रधानन्यायधिश महाअभियोग प्रकरण, आईजीपी प्रकरणमा नेतृत्वले गल्ती गर्दा पनि कांग्रेसले पराजय व्यहोरेको उनको भनाई छ ।
उनले कांगे्रसलाई आधुनिक कांगे्रस बनाउन भिन्न ढंगले छलफल चलाएर सोच्ने बेला आएको बताए । देश बीपीले प्रतिपादन गरेको बिचारबाट अगाडी बढिरहंदा कांगे्रसले एकपटक निर्वाचनमा हार्दैमा निराश नहुन कार्यकर्तालाई आग्रह पनि गरे । नेपालका कम्युनिष्टहरुले अघोषित रुपमा कांगे्रसको बाटोमा आएर संसदीय प्रणाली स्वीकार गरेको उनले दावी गरे ।
उनले निर्वाचन पछि कतिपय नेताले कांग्रेसको नेतृत्व माथी प्रश्न उठाएको भन्दै कपाल फुलेको र कपाल कालो भएकै कारण नेतृत्व परिवर्तन गर्न जरुरी नरहेको प्रष्ट पारे ।
शर्माले कम्युनिष्ट आन्दोलनले आध्यात्मिक स्वतन्त्रता, पे्रस स्वतन्त्रता, नीजि सम्पतिलाई नस्वीकार्ने बताउंदै कांगे्रसको बाटोमा आउंदै गरेका कम्युनिष्टहरु बिचलित भएको आरोप लगाए ।
बामगठबन्धनले कांग्रेसलाई बिर्सिएर उसको साथ र सहयोग बिना अगाडी बढ्न खोजिए दुर्भाग्य हुने चेतावनी दिए । नेपाली कांगे्रस बुटवल नगर सभापति खेलराज पाण्डेको अध्यक्षता, ज्योती भण्डारीको सञ्चालन र विमलराज भट्टराईको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

SHARE