किन घट्यो गुल्मीमा सुन्तला उत्पादन ?

9

बुटवल पुष ६
गुल्मीमा यसवर्ष सुन्तला उत्पादनमा कमी आएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउंपालिकामा सुन्तला खेती बढ्दै गएकोमा यसवर्ष उत्पादन घटेपछि किसानहरु निराश भएका छन् ।
जिल्लामा १५ देखि ५० प्रतिशत सम्म सुन्तला उत्पादनमा कमी आएको किसानहरु बताउंछन् । अघिल्लो वर्ष फलेको सुन्तला बोटबाट ढिलोगरी टिपेको, फुल हाल्ने बेलामा खडेरी परेको, फुल पातलो फक्रिएको र पतेरोले रस चुसेर दाना पर्ने बेलामा केस्रा चाउरी परेको कारण सुन्तलाको उत्पादनमा कमी आएको हो ।
जिल्लामै सबैभन्दा धेरै सुन्तला फल्ने मालिका गाउंपालिकामा रहेका सुन्तला बगैंचामा अहिले सुन्तलाका बोटहरु खाली देखिन्छन् । मदाने गाउंपालिकाका कृषि प्रँविधीक सेवा केन्द्रकी फुलनदेवी चौधरीले मदानेमा पनि विगत भन्दा ४० प्रतिशत उत्पादन घटेको बताउंछिन् ।
जिल्लाको ईस्मा गाउंपालिका धुर्कोट गाउंपालिकाको नयांगाउं, हाडहाडे, पिपलधारा, वस्तु, वाग्ला लगायतका स्थान सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा रहेका थिए ।
मुसिकोट नगरपालिका अन्तर्गत सबैभन्दा बढि सुन्तला फल्ने अर्लाङकोटमा यसवर्ष ३५ प्रतिशत सम्म उत्पादन घटेको स्थानीय सुधन खरेलले बताए । खरेलले वर्षेनी ६ मेट्रिकटन सुन्तलाको कारोबार गर्दै आएका थिए । अर्को पकेट क्षेत्र अर्खले, रेसुंगा नगरपालिकामा ५० प्रतिशत उत्पादन घटेको छ ।
विगतमा सुन्तला व्यापारीहरु गाउंगाउं पुग्ने गरेकोमा अहिले उत्पादन नभएपछि बाहिर निर्यात पनि कम भएको छ । जिल्ला कृषि विकास कार्यालयले जिल्लाको तिनवटा क्षेत्रलाई मुख्य पकेट क्षेत्रको रुपमा विभाजन गरी पछिल्ला वर्षहरुमा सुन्तला खेतीलाई बढावा दिएको थियो ।
साविकको दिगाम, विरवास, हर्दिनेटा र गौंडाकोटमा २ सय १ हेक्टर मध्ये ३३ हेक्टरमा सुन्तला उत्पादन हुंदै आएको थियो । साविकको नयांगाउं, पिपलधारा, हाडहाडे, भनभने र अर्खलेमा ७८ दशमलव २ हेक्टरमा सुन्तला खेती हुंदै आएको छ भने हर्मिचौर, अर्वेनी, जयखानी, अर्लाङकोटमा २७ हेक्टरमा सुन्तला उत्पादन हुंदै आएको छ ।
जिल्लामा कुल ६ सय ९७ हेक्टर सुन्तलाको पकेट क्षेत्र रहेपनि १ सय ३८ हेक्टर उत्पादनशिल रहेको जिल्ला प्राविधीक सहायक दोमलाल भुसाल बताउंछन् । उत्पादन कमि भएपनि कृषकहरुले भने प्रतिकेजी ५० देखि ६० रुपैया सुन्तलाको थोक मुल्य पाउने गरेका छन् ।
गतवर्ष जिल्लामा ३ हजार १ सय ६ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जसबाट १५ करोड ५३ लाख रुपैया गुल्मीका किसानहरुले जिल्लामा भित्राएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

SHARE