१४ औ राष्ट्रिय औद्योगिक प्रदर्शनी बुटवलमा शुरु

7

बुटवल पौष ६
रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा बिहीबारदेखि १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव शुरु भएको छ ।
समृद्ध नेपाल निर्माणको आधार स्वदेशी उद्यमशीलताको विस्तार भन्ने नाराका साथ औद्योगिक प्रदर्शनी आयोजना गरीएको हो । स्वदेशी उत्पादनलाई प्राथमिकता दिएर बुटवल मण्डपमा सञ्चालन गरिएको उक्त प्रदर्शनी पुस १८ गतेसम्म चल्ने छ ।
प्रदर्शनीमा बोल्ने उद्योगी व्यवसायीले औद्योगिक प्रदर्शनी तथा मेला महोत्सवहरुले मुलुकको आर्थिक विकासलाई टेवा पुराउने बताए । राष्ट्रिय अर्थतन्त्रको विकासका लागि औद्योगिक विकास आवश्यक रहेको र त्यसका लागि नयां औद्योगिक नीति आवश्यक रहेको उनिहरुको भनाई छ ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले औद्योगिक तथा आर्थिक विकासका लागि राजनीतिक रुपमा लगानी मैत्री वातावरण हुनुपर्ने बताए ।
उनले अब बन्ने सरकारले औद्योगिक विकास गर्ने निर्णय गर्नुपर्ने उल्लेख गर्दै नेपाललाई राम्रो र विकसित बनाउन सकिने अवसरलाई बुझ्नु पर्ने बताए ।
उनले नीजि क्षेत्रलाई जिम्मा दिएमा १० वर्षमा नेपाललाई दक्षिण एशीयामै राम्रो र विकसित देश बनाउने दावी गरे । उनले अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र र स्थायी औद्योगिक प्रदर्शनी स्थल नीजि क्षेत्रले २ वर्षमा बनाउन सक्ने बताए ।
नेपाललाई गरिब बनाउने प्रपञ्चको बिरुद्वमा जुट्नुपर्ने उल्लेख गर्दै अध्यक्ष शर्माले नेपाललाई धनी बनाउने गरी लाग्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले सरकारी, सहकारी र नीजि क्षेत्र मिलेर देशको आर्थिक विकास गर्नुपर्ने बताए ।
उनले आर्थिक रुपमा सम्वृद्वि ल्याउने गरी औद्योगिक प्रदर्शनीहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए । आयोजक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष तथा १४ औ औद्योगिक प्रदर्शनी मुल समितिका संयोजक दिनेशराज रेग्मीले प्रदर्शनीले जनतामा सकारात्मक सन्देश दिएको बताए । उद्योग व्यवसाय र आयमूलक कर्मले मात्र राष्ट्रको विकास सम्भव हुने भएकाले उद्योग धन्दाको विकास गरिनुपर्ने उनको भनाई थियो ।
औद्योगीकरण नै राज्य विकासको मूल आधार भएकोले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको औद्योगिक व्यवसायको संरक्षण, सम्वद्र्धन र विकासका निम्ति सरकारी तथा निजी क्षेत्रहरु हातेमालो गरेर अगाडि बढ्न सक्ने बताए ।
नेपालका औद्योगिक उत्पादन, कृषि तथा पर्यटकीय विकास, जलस्रोत आदि आकर्षक आम्दानीका स्रोत भएको बताए ।
कार्यक्रममा रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष एजाज आलम, जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विक, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जिसी लगायतले बोल्दै राज्यको मात्रै मुख ताकेर देशको आर्थिक विकास हुन नसक्ने बताउंदै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
आयोजक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीको अध्यक्षता, महासचिव माधव पौडेलको सञ्चालन, वरिष्ठ उपाध्यक्ष गणशप्रसाद अधिकारीको स्वागतमा सम्पन्न कार्यक्रममा सहसंयोजक महेश थैवले धन्यबाद ज्ञापन गरेका थिए ।
५ सय भन्दा बढि स्टलहरु सहभागि रहेको प्रदर्शनीमा ६ लाख दर्शकले अवलोकन गर्ने र २० करोड बढिको आर्थिक कारोबार गर्ने आयोजकले अपेक्ष्ाँ लिएको छ ।

SHARE