आर्थिक सम्वृद्विका लागि व्यापार घाटा कम हुनुपर्ने-उपराष्ट्रपती पुन

52

राष्ट्रिय औद्योगीक प्रर्दशनी सूरु
बुटवल पौष ६
उपराष्ट्रपति नन्दकिशोर पुनले मुलुकको आर्थिक सम्वृद्विका लागि व्यापार घांटालाई घटाउनुपर्ने बताएका छन् । मुलुकमा व्यापार घांटा बढेको चिन्ता गर्दै उपराष्ट्रपति पुनले व्यापार घांटालाई घटाउन उद्योग धन्दाको विस्तार गरेर निर्यातलाई बढाउनुपर्ने बताए ।
राजनीतिक संक्रमण अन्त्य भई नयां युगको प्रारम्भ भएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान गराएर सम्वृद्वितर्फ अघि बढ्नुपर्ने बताए ।
बिहीबारदेखि बुटवलमा शुरु भएको १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले बुटवलमा हुने आर्थिक गतिविधिले राष्ट्रमा ठूलो महत्व राख्ने बताए ।
आफ्नै देशमा आवश्यक वस्तुको उत्पादन गरिएमा देशको अर्थतन्त्र बलियो हुने र त्यसका लागि स्वदेशी वस्तुको प्रयोग गर्ने बानी बसाल्नु पर्ने बताए ।
उनले मुलुकको आर्थिक सम्वृद्विका लागि आर्थिक क्रान्ति आवश्यक हुने र त्यसका लागि औद्योगिक विकास गर्नुपर्ने बताए ।
मुलुकलाई सम्वृद्व बनाउन प्रकृतिले पनि साथ दिएको उल्लेख गर्दै उनले पुरानो अर्थनीतिलाई परिवर्तन गरी निर्यातमुखि नीति बनाउनु पर्नेमा जोड दिए । उनले देशको विकासका लागि सरकारी र नीजि क्षेत्रबीच सहकार्य हुनुपर्ने बताए ।
नीजि क्षेत्रले राष्ट्रको विकासमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले जलविद्युत, कृषि, पर्यटनको विकासमा विदेशी लगानी भित्राउनुपर्ने बताए ।
उपराष्ट्रपति पुनले तीन तहका सरकार सम्वृद्विको आधार भएको बताउंदै नयां युगको प्रारम्भसंगै सिंहदरवार घरघरमै आएको बताए ।
नेकपा एमालेका उपमहासचिव तथा रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले अभाव र गरिबीका विरुद्व केन्द्रित हुने बेला आएको बताए ।
उनले जनताको चाहाना अनुसार देश आर्थिक सम्वृद्विको बाटोतर्फ अघि बढेको उल्लेख गर्दै ईतिहांसको गीत गाएर दिन बिताउने चरणको पार भएको बताए ।
नेपालमा राजनीतिक अस्थिरताको अन्त्य भईसकेकाले आत्मनिर्भर र स्वाधिन भएर देशलाई अघि बढाउनु पर्ने बताए । पूर्व अर्थमन्त्री समेत रहेका नेता पौडेलले यस क्षेत्रमा उद्योग कलकारखाना स्थापना गर्नुपर्ने र त्यसका लागि वातावरण र जमिन उपलब्ध गराईने बताए ।
उनले बुटवलमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र र प्रदर्शनीस्थल निर्माणका लागि बजेटको अभाव हुन नदिने आश्वासन दिए ।
पांच नम्बर प्रदेश विभाजनको संकट टरेको बताउंदै नेता पौडेलले पांचनम्बर प्रदेशको राजधानी बुटवल नै हुने बताए । प्रदेशको राजधानी तोक्ने आधिकारिक निकाय प्रदेशसभा भएकाले कसैले पनि अन्यथा निर्णय गर्न नसक्ने र गरेमा जनता सडकमा उत्रन सक्ने चेतावनी दिए ।
कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा प्रदेशसभा सदस्य दधिराम न्यौपाने, अर्का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, नेपाली कांगे्रसका बुटवल नगर सभापती खेलराज पाण्डे लगायतले बोल्दै मुलुकको आर्थिक सम्वृद्वि र विकासका लागि आर्थिक एजेण्डाहरुलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।

SHARE