आठ वर्षिय बालिकाको समाजसेवा मोह

266

 

बुटवल, पुष ५
बुटवलमा घर भई हाल लण्डन बसोबास गर्दै आएकी ८ बर्षिय बालिकाले खाजा खर्च वापतको रकम संकलन गरी नेपालका गरिब तथा विपन्न परिवारका बालबालिकालाई आर्थिक सहयोग गरेकी छन् ।
लण्डनमै जन्मिएपनि बाबु महेन्द्र कुवंर र आमा मिना थापा कुवंर संगै गतवर्ष नेपाल आएकी बुटवलकी श्रेया कुवंरले विपन्न बालबालिकाहरुको अवस्था देखेर उनिहरुको अध्ययनको लागि एकलाख रुपैया उपलब्ध गराएकी हुन् ।
आर्थिक अवस्थाको कारण गरिब तथा विपन्न वर्गका बालबालिकाहरु अध्ययनबाट वञ्चित रहेको भन्दै सानो रुपमा भएपनि उनिहरुलाई सहयोग पु¥याउने अठोटको साथ लण्डन फर्किए लगत्तै आर्थिक सहयोग जुटाउने अभियान संचालन गरेको आमा मिना कुवंरले जानकारी दिईन् ।
नेपालको छोटो बसाईमा नै विपन्न बर्गका बालबालिकाहरुको अवस्था देखेर सहयोग गर्ने अठोट लिएकी श्रेयाले आफ्नो जन्मदिनको अवसरमा कुनै खर्च नगरी सोहि रकम र जन्मदिनको उपहार दिनेहरुलाई समेत नगद रकम दिन आग्रह गर्दै रकम संकलन गरेको मिनाले बताईन् ।
साथै विद्यालयमा आफुसंगै अध्ययन गर्ने विद्यार्थीहरुसंग खाजा वापतको खर्च कटौती गरी आर्थिक संकलन गर्दै आएकी छन् । पहिलो पटक संकलन गरी पठाएको एकलाख रुपैयाबाट रुपन्देहीका विभिन्न क्षेत्रका ७ जना किशोरीहरुलाई बुटवल टेक्निकल ईन्टिच्युट मार्फत ३ महिने ईलेक्ट्रोनिक्स तालिम समेत प्रदान गरिएको छ ।
समाजसेवाप्रति आफ्नो समेत मोह रहेको र अहिले छोरीले सानो उमेरदेखि नै विपन्न बालबालिकाहरुको सहयोगको लागि शुरु गरेको अभियानबाट निकै खुसी मिलेको बाबु महेन्द्रले बताए ।
छोरीको चाहना अनुरुप हरेक वर्ष नेपालका बालबालिकाहरुलाई आर्थिक रकम संकलन गरी पठाउने उनले बताए ।

SHARE