बारीमै सुक्न थालेपछि किसानहरु उधारोमा उखु बेच्न बाध्य

11

परासी पुष ४
नवलपरासीका किसानहरुले चिनी उद्योगलाई उधारोमा उखु दिन थालेका छन् । खेतमा तयार भएको उखु समय बितेपछि सुक्ने डरले बाध्य भएर हप्तादिन अघिबाट उद्योगहरुलाई उधारोमा बिक्री गर्न थालेका हुन् ।
गतहप्ता उखु उत्पादक कृषक महासंघ र उद्योगीहरुबीच सम्पन्न बैठकले तत्काललाई गतवर्षको मूल्य निर्धारणलाई आधार मानेर भुक्तानी गर्ने सहमति भएको थियो । तर जिल्लाका उद्योगहरुले भने उक्त रकम समेत नदिदा किसानहरुले उधारोमा उखु दिन बाध्य भएका हुन् ।
गतवर्ष उखुको मूल्य ५ सय ३१ रुपैयां २० पैसा कायम थियो । जिल्लामा रहेका तीनवटा उद्योगहरुले मिल गेटसहित विभिन्न स्थानमा तौल केन्द्र स्थापना गरेर उखु खरिद गरिरहेका छन् । त्यसरी बिक्रीका लागि उखु लिएर पुगेका किसानहरुलाई उद्योगले उधारो पूर्जी दिएर पठाउने गरेको छ ।
२÷४ दिनमा भुक्तानी दिने भन्दै उद्योगहरुले अहिलेलाई उखु खरिद गरिरहेको किसानहरुले बताएका छन् । किसानहरुले उंखु उपलव्ध गराउन थालेपछि जिल्लाका बाग्मती, लुम्बिनी र इन्दिरा चिनी उद्योग सञ्चालनमा आएका छन् ।
उद्योगहरुबाट भुक्तानी पाउन २ महिनादेखि १ वर्षसम्म कुर्नुपर्ने विगतको बाध्यताले किसानहरुले घर खर्च चलाउनका लागि स्थानीय भेली उद्योगमा सस्तोमा उखु दिने गरेका छन् ।
उंखु काटेर अर्को उखु लगाउन र अन्यबाली लगाउने देखि दैनिकी चलाउनका लागि आवश्यक पर्ने रकमका लागि उनीहरुले ३ सय ५० देखि ४ सय प्रति क्विण्टलका दरले क्रसर उद्योगलाई उखु बेचिरहेका छन् ।
यसवर्षको उखुको मुल्य कम्तिमा ५ सय ६२ रुपैया उपलव्ध गराउन उद्योगहरुसंग माग गरेको उखु उत्पादक कृषक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए । गत साता उद्योगी र किसान प्रतिनिधिबीच भएको सहमतिमा तत्काललाई मिल सञ्चालन गर्न गतवर्षको रकम उपलव्ध गराउने सहमति भएको उनले बताए ।
भारतमा उखुको मूल्य यसवर्ष २० रुपैया बढेकाले आफूहरुले पनि सोही अनुसार ३२ रुपैया बढाउन माग गरेको मैनालीको भनाई छ । उद्योगी र किसान प्रतिनिधिहरुले गतवर्षको रकम उपलव्ध गराउने सहमति भएको जनाएपनि जिल्लाका उद्योग सञ्चालकहरुले भने मूल्यबारे जानकारी नआएको बताएका छन् ।
बाग्मती चिनी उद्योग प्रतापपुरका प्रबन्धक टंक काफ्लेले चिनी उत्पादक संघबाट कुनै जानकारी नआएकाले अहिलेलाई पछि भुक्तानी गर्नेगरी किसानबाट उधारोमा उखु खरिद गरी मिल सञ्चालन गरिएको बताए । भुक्तानीको समस्याका कारण हरेकवर्ष जिल्लाको उखु उत्पादनमा कमीहुंदै आएको छ ।
चारवर्ष अघि २२ लाख क्विण्टल उंखु उत्पादन हुंदै आएको जिल्लामा यसवर्ष १२ देखि १४ लाख क्विण्टल मात्र उत्पादन भएको कृषक समितिका जिल्ला अध्यक्ष उमेश यादवले जानकारी दिए ।

SHARE