टेक्स्टटायल मिलको धुवांले स्थानियहरु प्रभावित

52

बुटवल पुष ४
बुटवलको कालिकानगरमा रहेको जिवी टेक्स्टटायल मिलबाट निस्किएको धुवां र प्रदुषणले त्यस क्षेत्रका स्थानियहरु प्रभावित भएका छन् । मिलबाट निस्केको धुवां र धुलो घरभित्रै पस्ने र घरका भित्ताहरु काला भएको स्थानियहरुले बताएका छन् ।
लामो समयदेखि त्यस क्षेत्रमा सञ्चालनमा रहेको मिलबाट धुवा निस्केर वरिपरीको वातावरण नै कालो बनाउंदा सम्बन्धित निकाय भने बेखबर बनेको छ ।
स्थानियले धुवांबाट प्रभावित भएको भन्दै मिल सञ्चालकलाई त्यसको व्यवस्थापन गरिदिन आग्रह गरेपनि सञ्चालकले भने वेवास्ता गरेको बताईएको छ ।
ठुला उद्योगमा जस्तै कालो मुस्लो सहितको धुवां मिलबाट उड्ने गरेको छ । जिवी टेक्स्टटायलका सञ्चालक अजित कुमार प्रधानले धुवा निस्कने चिमको लम्बाई सानो भएकाले केही असर भएपनि त्यसको समाधान १०÷१२ दिन भित्रै गर्ने बताए ।
चिमलाई ठुलो बनाउन दिईसकेको र चिम निर्माणपछि धुवांको समस्या कम हुने उनको भनाई छ । ०४५ सालमा मिल स्थापना हुंदा कुनैपनि बस्ती नभएको भएपनि अहिले बस्तीको विकास भएको भन्दै उक्त मिललाई स्थानान्तरणका लागि जग्गा खोजी भइरहेको उनले बताए ।
उक्त मिल रहेको वरिपरि सामुदायिक तथा निजी विद्यालयहरु समेत रहेका छन् । जसले गर्दा साना बालबालिकाहरुको स्वास्थ्य समेत प्रभावित बनेको छ । यस क्षेत्रको पुरानो कपडा मिलको रुपमा रहेको उक्त जिवी टेक्स्टटायल मिलमा टोपीको भित्री कपडा बन्ने गर्दछ ।

 

SHARE