किन रोकिए स्थानिय सडक निर्माणका काम ?

14

 

बुटवल पुष ४
क्षेत्रिय सडक योजना र अन्य शहरी सडक योजनाको बजेट शिर्षक स्थानिय सरकार गठन भएसंगै स्थानिय सरकारमा गएपछि सो अन्तर्गत निर्माणाधिन सडकको काम रोकिएको छ ।
सरकारले क्षेत्रिय सडक योजना र अन्य सहरी सडक योजनाको काम स्थानिय सरकारबाट गर्ने प्रावधान बनाएसंगै निर्माणका क्रममा रहेका सयौ सडकहरुको काम रोकिएको हो ।
डिभिजन सडक कार्यालय रुपन्देहीका अनुसार क्षेत्रिय सडक योजना र अन्य सहरी सडक योजना तर्फ जिल्लामा २ सय भन्दा बढि सडकहरु निर्माणको अवस्थामा रहेका छन् ।
उक्त शिर्षक अन्तर्गतको बजेट डिभिजन सडक कार्यालयमा नआएकाले निर्माण सम्पन्न भएका कतिपय ठेकेदारहरुलाई भुक्तानी दिन समेत अप्ठयारो भएको छ भने निर्माणको क्रममा रहेका ठेकेदारले पनि रकम नपाउदा कामको गतिलाई छिटो गर्न सकेका छैनन् ।
क्षेत्रिय सडक अन्तर्गत केही ठुला सडकहरु समेत रहेकाले लक्ष्य अनुसार कामको प्रगति हुन नसकेको डिभिजन सडक कार्यालयका लेखा अधिकृत विष्णु रायमाझिले बताए ।
क्षेत्रिय सडक अन्तर्गत निर्माणाधिन अवस्थामा रहेको बेलबास बेथरी सडक निर्माणको कामपनि अहिले रोकिएको छ । डिभिजन सडक कार्यालयबाटै टेण्डर आव्हन भएकाले रकमको भुक्तानी यसै कार्यालयबाट हुनुपर्ने भन्दै यातायात विभाग र अर्थमन्त्रालयमा यस बारेमा जानकारी गराईएको रायमाझिले बताए ।
कतिपय सडकहरु कालोपत्रे गर्नका लागि तयार रहेपनि बजेट नहुंदा धुलो उडेको भन्दै कतिपय उपभोक्ताले धुलो किन उडाएको भन्दै कार्यालय सम्म आउने गरेको उनको भनाई छ । त्यसैगरी बेलबास नुवाकोट, लुम्बिनी चक्रपथ, रामापुर लुम्बिनी सडक जस्ता ठुला योजनाहरुको काम अहिले रोकिएको छ ।
बेलबास नुवाकोट सडक १२ करोड ९३ लाख रुपैयामा ठेक्का भएकोमा अहिलेसम्म ठेकेदारलाई ४ करोड ४३ लाख ४३ हजार रुपैया दिन बांकी रहेको छ । त्यसैगरी रामापुर लुम्बिनी सडकमा पनि २ करोड ७९ लाख ७४ हजार रुपैया भुक्तानी दिन बांकी रहेको छ ।
उक्त सडक अमर कन्टक्सन प्रालि काठमाडौंले ९ करोड ७० लाख ५३ हजारमा ठेक्का लिएको थियो । त्यस बाहेक परासी जंगल ललितपुर भैरहवा भन्सार रोडको काम बापतको ४ करोड ४ लाख २६ हजार रुपैया भुक्तानी दिन बांकी रहेको छ । उक्त सडक अहिले सम्म ४१ प्रतिशत मात्र काम भएको छ । भुक्तानी नहुंदा क्षेत्रिय सडक अन्तर्गत १ सय भन्दा बढि सडक निर्माण रोकिएका हुन् ।
क्षेत्रिय सडक अन्तर्गत सबैगरी ८६ करोड ७५ लाख रुपैया बराबर भुक्तानी दिन बांकी रहेको रायमाझिले जानकारी दिए । त्यसैगरी सहरी सडक योजना अन्तर्गत ९ करोड ८८ लाख रुपैया भुक्तानी दिन बांकी रहेको छ । सहरी सडक योजना तर्फ साना सडकहरु रहने गर्दछन् ।

 

SHARE