टिप्परलाई गुडने समय तोक्न माग

10

भैरहवा पुष ३
सुरक्षित यात्रा अभियान नेपालले सांझ बिहानको समयमा सडकमा सवारीको अत्यन्त चाप हुने भएकाले जोखिमपूर्ण सवारी संचालनमा रोक लगाउन माग गरेको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाउंदै अभियानका अध्यक्ष नारायणप्रसाद अधिकारीले बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्मको समयमा विभिन्न कार्यालयका कर्मचारी, विद्यार्थी र सेवाग्राही आवतजावत गर्ने हुंदा सडकमा सवारीको चाप बढ्ने भएकाले यो समयमा टिप्पर लगायत तीव्र गतिमा र जोखमपूर्ण रुपमा संचालनमा आउने सवारी संचालनमा रोक लगाउन माग गरेका हुन् ।
ज्ञापनपत्रमा बिहान बेलुकाको समयमा बुटवल बेलहिया र देवदह सालझण्डीको सडकमा जोखिमपूर्ण सवारी संचालनमा रोक लगाई आम नागरिकको बाच्न पाउने अधिकारको ग्यारेन्टी गर्न माग गरिएको छ ।
अधिकांश दुर्घटनाहरु बिहान बेलुकाको समयमा टिप्पर लगायत भारबहान ठूला सवारीको कमजोरीका कारण हुनेगरेको भन्दै त्यस्ता सवारीलाई सडक व्यस्त हुने समयमा रोक्न आग्रह गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले आफूहरुले सरोकारवाला निकायहरुसंगको समन्वयमा समस्या समाधानको लागि पहल गर्ने बताए । उनले पछिल्लो समय दुर्घटना बढेको प्रति आफूहरु पनि चिन्तित रहेको जनाउंदै सुरक्षित यात्रा अभियानसंग साझेदारी गरी दुर्घटना न्यूनीकरणमा पहल गर्ने बताए ।
सुरक्षित यात्रा अभियान नेपाल यस क्षेत्रको दुर्घटना न्यूनीकरण गर्न सक्रिय रही यात्रुहरुको सुरक्षित यात्राको लागि अभियान संचालन गर्दै आएको गैरसरकारी संस्था हो ।
संस्थाले विशेष गरी सडक दुर्घटनामा कसैको ज्यान नजाओस् भनी सडक सुरक्षा सम्बन्धी विभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
संस्थाले दुर्घटनाको समयमा तीव्र उद्धार, सिघ्र उपचार भन्ने नाराका साथ रुपन्देहीको देवदह नगरपालिका खैरेनीमा आकस्मिक उद्धारबाहन एम्बुलेन्स संचालनको तयारी गरेको जनाएको छ ।

 

SHARE