पौडेललाई गिरी परिवारको टिका

1172

 

भगवती पाण्डे
बुटवल, मंसिर २५
रुपन्देही क्षेत्र नंं २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित एमालेका उपमहासचिव विष्णु पौडेलले निर्वाचनमा प्रतिष्प्रर्धी नेपाली कांग्रेसका नेता युवराज गिरीलाई उनकै घरमै पुगेर भेटघाट गरेका छन् ।
सोमबार विहानै बुटवल बेसक्याम्पमा रहेको गिरीको घरमा पुगेका पौडेललाई गिरी परिवारले स्वागत गर्दै टिका माला र खादा पहिराईदिएर बधाई दिएको थियो ।
एमाले जिल्ला कमिटी सदस्य ऋषिराम पाण्डेले सोमबार विहान फोन गरेर विष्णु पौडेलले भेट गर्न घरमै आउने जानकारी गराउंदा गिरी एउटा बैठकमा थिए ।
निर्वाचनमा एउटै क्षेत्रको चुनावी मैदानमा होमिएर प्रतिष्प्रधी बनेका पौडेल र गिरीको बिचमा अन्य क्षेत्रका उम्मेदवारहरुको जस्तो तिक्तता पूर्ण वातावरण बनेन । दुवै उम्मेदवारहरुले एकअर्काप्रति कुनै आरोप प्रत्यारोप गर्नुभन्दा निर्वाचनमा विजयी बनेपछि आफुले गर्नसक्ने यसक्षेत्रका विकासका मुद्धाहरु लिएर मतदाताको सामु पुगिरहे ।
जसले गर्दा निर्वाचित भएपछि पौडेललाई गिरीको घरमा जाने र गिरीलाई पनि पौडेललाई स्वागत गर्ने मन र ढोका खुला थियो । छोटो समयको जानकारी पछि बिहानै घरमा पुगेका पौडेललाई बाटोबाटै स्वागत गर्दै गिरीले अंगालो मारेर बधाई दिए । पौडेलले पनि दाजुले भाईलाई मायां गरेजस्तो अंगालो हाले ।


घरभित्र गिरीकी ७६ वर्षिय आमा द्रौपती गिरी र

 

धर्मपत्नी उमा गिरी स्वागत गर्न बधाई दिन पर्खिएर बसेका थिए । घरभित्र प्रवेश गर्नासाथ आमा द्रौपतीले एमाले नेता पौडेललाई टिका र खादा लगाईदिएर आशिर्वाद दिईन् ।
निर्वाचनमा आफ्नो छोरासंगै चुनावी प्रतिष्प्रधामा रहेपनि पौडेल पनि आफ्नो छोरा जस्तै रहेकोले उनको जितमा खुशी लागेको बताईन् । सबैसंग मिलेर अगाडी बढ्नुहोला, बुटवलले तपाईजस्तो नेता पाएको छ भन्दै आमा द्रौपतीले टिका लगाउंदै गर्दा पौडेलपनि भावुक बनेका थिए ।
गिरीपत्नी उमाले पनि टिका र खादा लगाएर बधाई दिंदै सफल कार्यको लागि शुभकामना दिईन् ।
पौडेलले

निर्वाचनको मैदानमा उम्मेदवार बनेर उभिदा एउटा पार्टि भएपनि निर्वाचित भएपछि सबै बुटवलवाशीको साझा प्रतिनिधीको रुपमा सबैलाई समान व्यवहार गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
“हिंजोसम्म म एउटा पार्टिको उम्मेदवार थिए होंला तर निर्वाचनको मत परिणाम पछि म सबैको साझा प्रतिनिधी भएको छु आफुलाई मत दिनेमात्र नभई मत नदिनेहरुका पनि भावना, चाहना र आवश्यकतालाई सम्बोधन गर्ने र परिपूर्ति गर्ने जिम्मेवारी मैले पुरा गर्ने छु ।” उनले भने ।
पौडेलले निर्वाचनलाई आफुले एउटा खेलको रुपमा मात्र लिएको उल्लेख गर्दै निर्वाचनको क्रममा प्रतिष्प्रधामा रहेपनि निर्वाचित भएपछि सबै दल र बुटवलवाशीको सुझाव र सल्लाह अनुसार काम गर्ने बताए ।
उनले आमा द्रौपतीको आशिर्वादलाई सधै स्मरण गर्ने समेत प्रतिबद्धता व्यक्त गरे । “मेरो र युवराज गिरीको सम्बन्ध राजनितिक र सामाजिक रुपमा मात्र नभई व्यक्तिगत रुपमा पनि अत्यन्त घनिष्ट र सौहाद्रपूर्ण रहेको छ यसलाई मैले सधै बचाईराख्ने छु ।”
गिरीले राजनितीक आग्रह र पूर्वाग्रहले समाज विभाजित भईरहेको अवस्थामा सबैले आफुहरुबाटै परिवर्तन गर्नुपर्ने बताए । “हामी जुन सामाजिक संरचना र सद्भावमा रहेका छौं यसलाई बचाईराख्नु जरुरी छ, यो बचेन भने हाम्रो समाज मात्र होईन देश नै ध्वस्त हुन्छ र त्यो बचाउने पनि समाजका अगुवा भन्ने हामीले नै हो ।” उनले भने ।
गिरीले निर्वाचित भएसंगै जनतासंग गरिएका बाचाहरु पुरा गर्ने र राष्ट्रिय राजनितिमा देखा परेका वैमनश्यतालाई पनि समाधान गर्न प्रभावकारी भुमिका खेल्न पौडेललाई आग्रह गरे ।
राजनितिक आस्थाको आधारमा समाज विखण्डीत भईरहेको अवस्थामा गिरी र पौडेलले निर्वाचनको क्रममा होस् या निर्वाचनपछि पनि प्रदर्शन गरेको व्यवहारले राजनितीक नेताहरुमा अझैपनि राजनितिक संस्कार मरेको छैन भन्ने पुष्टि गरेको छ ।
बाल्यकाल देखि नै राजनितिक परिवार र संस्कारमा हुर्किएका गिरी नेपाली कांग्रेसका पुराना नेता तथा रुपन्देहीका पूर्व जिल्ला सभापती समेत रहेका पुष्पानन्द गिरीका छोरा हुन् । २०४० साल २०४० फाल्गुण २२ गते रुपन्देहीमा मात्र नभई नेपाली राजनितिक ईतिहांसमै सुरजपुरा हत्याकाण्डको नाममा बदनामी कमाएको उक्त घटना गिरीको पूख्यौली घरमै घटेको थियो ।
नेपाली कांग्रेसका तत्कालिन नेता गिरीजाप्रसाद कोईराला संगठन विस्तारको लागि देश दौडाहमा निस्किएका बेला गिरीकै घरमा बैठक बसेकै बखत तत्कालिन मण्डलेहरुले आक्रमण गरि दुईजना कांग्रेस कार्यकर्ताको हत्या गरेका थिए भने २२ जनाभन्दा बढि घाईते भएका थिए ।
उक्त घटनामा मण्डले समुहको भाला तथा खुकुरी प्रहारबाट यादवनाथ आलोक र रामप्रसाद चौधरीको हत्या गरिएको थियो । जुन घटना सहिद यादवनाथ आलोक हत्याकाण्डको नाममा पनि चर्चित बनेको थियो ।

SHARE