रुपन्देही: कसले मार्ला बाजी ?

28

प्रदेश सभा निर्वाचन

भैरहवा, १९ मंसिर । दशवटा प्रदेससभा निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा मुख्य प्रतिस्पर्धा लोकतान्त्रिक र बाम गठबन्धन बिच नै देखिएको छ । निर्वाचनमा यि दुई शक्ति बाहेक केही स्वतन्त्र र साना दलबाट पनि प्रतिष्पर्धामा छन् । स्थानीय तह निर्वाचनको मतपरिणामलाई आधार मान्ने हो भने अधिकांश स्थानमा गठबन्धनबीच नै प्रतिस्पर्धा छ । क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा बाम गठबन्धनबाट एमाले उम्मेदवार डा. कृष्ण न्यौपाने र लोकतान्त्रिक गठबन्धनको तर्फबाट राप्रपाका ताहिर अलि मैदानमा छन् । देवदह नगरपालिकाका ११ वटा वडा, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ११, रोहिणी गाउंपालिकाको वडा नम्बर १ र २ बाहेक सबै तथा ओमसतियाको वडा नम्बर ६ पर्ने यो क्षेत्रमा स्थानीय तहको निर्वाचनलाई आधार मान्दा यहां बाम गठ बन्धनको मत १७ हजार ८ सय ९९ छ, भने लोकतान्त्रिक गठबन्धनको मत १४ हजार ६ सय ४२ रहेको छ ।

यस हिसावले यो क्षेत्रमा बाम गठबन्धन ३ हजार २ सय ५७ मतले अगाडि देखिन्छ । त्यो संगै कांग्रेस नेता कृष्ण प्रसाद पौडेल समेत बालक चिन्ह लिएर स्वतन्त्रबाट मैदानमा उठेर लोकतान्त्रिक गठबन्धनका अलीलाई चुनौती दिईरहेका छन् । प्रदेशसभा २ मा बामगठबन्धनका दधिराम न्यौपाने र लोकतान्त्रिक गठबन्धनका हरि न्यौपाने प्रतिष्पर्धामा छन् । यो क्षेत्रमा देवदह नगरपालिकाको वडा नम्बर १० र तिलोत्तमा नगरपालिकाको ७ देखि ११ बाहेक १७ सम्मका वडा पर्दछन् । त्यस्तै ओमसतिया र रोहिणी गाउंपालिकाको वडा नम्बर १ र २ वडा पर्दछन् । स्थानीय तहको मतलाई आधार मान्दा यो क्षेत्रमा बामपन्थी गठबन्धनको मत १४ हजार ५ सय १ रहेको छ भने लोकतान्त्रिक गठबन्धनको १३ हजार ८३ मत रहेको छ । क्षेत्र नंं २ को प्रदेशसभा १ मा एमालेका लिला गिरी कांग्रेसका काजीमान श्रेष्ठसंग प्रतिष्पर्धा गर्दैछन् । यो क्षेत्रमा बुटवल उपमहानगरका ७, ९ देखि ११ सम्म र तिलोत्तमाका १ देखि ६ नम्बर वडा पर्दछन् ।

स्थानीय तहमा वडाध्यक्षको मतलाई आधार मान्दा यो क्षेत्रमा बाम गठबन्धनको मत १८ हजार ३ सय ७६ रहेको छ भने लोकतान्त्रिक गठबन्धनको मत ११ हजार ६ सय ४४ रहेको छ । प्रदेशसभा २ मा एमालेले प्रदेश कमिटीका संगठन विभाग प्रमुख भोजप्रसाद श्रेष्ठलाई उठाएको छ भने लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका महेशमान सिंह मैदानमा छन् । यो क्षेत्रमा बुटवल उपमहानगरका १ देखि ६ वडाका साथै ८, १२ र १३ नम्बर वडा समेटिएका छन् भने सैनामैनाका १ देखि ४ नम्बर वडा समेटिएका छन् । स्थानीय तहको निर्वाचनलाई आधार मान्दा यो क्षेत्रमा पनि बाम गठबन्धनको १८ हजार ९ सय ५७ मत छ भने लोकतान्त्रिक गठबन्धनको ११ हजार ८ सय ५५ मत रहेको छ ।

क्षेत्र नं. ३ प्रदेशसभा १ मा सिद्धार्थनगर नगरपालिकाका, ओमसतिया गाउंपालिकाको वडा नम्बर २, सियारी १ तथा मायादेवी गाउंपालिकाको वडा नम्बर ७ र ८ तथा तिलोत्तमा नगरपालिकाको १४ नं. वडा समेटिएको छ । यहां बाम गठबन्धनबाट माओवादी केन्द्रका विश्वास बराल उम्मेदवार छन् भने उनीसंग लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका देवीप्रसाद चौधरी प्रतिष्पर्धामा छन् । यो क्षेत्रमा संघीय समाजबादी फोरमका सन्तोष पाण्डेय, बिबेकसिल साझा पार्टीबाट अमित गुप्ता तथा स्वतन्त्रमा ओमकुमार श्रेष्ठ पनि प्रतिस्पर्धामा छन् ।

स्थानीय निकायमा यो क्षेत्रमा एमाले र माओवादी केन्द्रको गरी ९ हजार ९ सय ५० मत आएको थियो भने कांग्रेस र राप्रपाको गरी १२ हजार ८ सय २९ मत आएको थियो । प्रदेशसभा २ मा बामपन्थी गठबन्धनबाट एमालेका तुलसीप्रसाद चौधरी संग लोकतान्त्रिक गठबन्धनका हरिध्वज मल्ल प्रतिष्पर्धामा छन् । प्रदेश २ मा बुटवल उपमहानगरपालिकाका १४ देखि १९ सम्मका वडा, शुद्धोधन गाउंपालिका, सियारी गाउंपालिकाको २, ३, ६ र ७ नम्बर वडा तथा तिलोत्तमाको वडा नम्बर १३ समेटिएको छ । स्थानीय तहमा प्राप्त गरेको मत जोड्दा यो क्षेत्रमा पनि बाम गठबन्धनको १७ हजार ९ सय ११ मत रहेको छ भने लोकतान्त्रिक गठबन्धनको १४ हजार १ सय ८९ मत रहेको छ । यहां संघीय समाजवादी फोरम नेपालको पनि राम्रै उपस्थिति देखिन्छ । मधेशी मश्लिम समुदायको बाहुल्यता रहेको क्षेत्र नं. ४ प्रदेशसभा १ मा बाम गठवन्धनका तर्फबाट एमालेकी पल्लवी शुक्ला र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका अष्टभुजा पाठक उम्मेदवार छन् । यो क्षेत्रमा सांगठनिक र जनमतको हिसावले दुवैशक्ति कमजोर मानिन्छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको २, १२ र १३ तथा सम्मरीमाई गाउंपालिकाको वडानम्बर १ देखि ६ सम्म र मर्चवारी गाउंपालिकाको पांचवटा वडा समेटेको यो क्षेत्रमा स्थानीय तहको निर्वाचनमा एमाले, कांग्रेस र माओवादीको उपस्थिति कमजोर रह्यो । यद्यपि सम्मरीमाई गाउंपालिकाका निर्वाचित अध्यक्ष जितेन्द्रनाथ शुक्ला र पल्लबी शुक्ला एमाले प्रवेश गरी उम्मेदवार समेत भएपछि कसले बाजी मार्ला भनेर आंकलन गर्न गाह्रो छ । स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा कांग्रेस र राप्रपाको मत जोड्दा ५ हजार ९ सय ३ रहेको छ भने एमाले र माओवादीको १५ सय ३७ मत रहेको छ । यहां पार्टीको सांगठनिक आधार भन्दापनि व्यक्तिगत लोकप्रियताको आधारमा हारजित हुने स्थानीयको भनाई छ । यो क्षेत्रमा राजपा र समाजवादी फोरम पनि बलियो मानिन्छ ।

प्रदेशसभा २ मा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सहबुद्धिन देवान उम्मेद्वार छन् भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट बसिउद्धिन खान प्रतिष्पर्धामा छन् । कोटहीमाई गाउंपालिका, मायांदेवीको वडा नम्बर २ र ३ तथा सियारीको ४ र ५ नम्बर वडा रहेको यस क्षेत्रमा स्थानीय तहको मत परिणामलाई आधार मान्ने हो भने संघीय समाजवादी फोरम र कांग्रेसबीच नै प्रतिष्पर्धा हुने देखिएको छ । क्षेत्र नं. ५ को प्रदेशसभा १ मा बाम गठबन्धनबाट एमालेका भूमिश्वर ढकाल र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका विष्णु पोखरेल उम्मेदवार छन् । सैनामैना नगरपालिकाका पांचदेखि ११ सम्मका वडा, कन्चन गाउंपालिका, गैडहवाका ६ देखि ९ सम्मका वडा रहेको यो क्षेत्रमा स्थानीय तहको मत परिणमको आधारमा एमाले र माओवादीको मत १८ हजार ९ सय १९ रहेको छ भने लोकतान्त्रिक गठबन्धनको १३ हजार ४ सय १६ रहेको छ । त्यस्तै प्रदेश नं. २ मा बाम गठबन्धनका तर्फबाट हजरत अली र लोकतान्त्रिक गठबन्धनका फकरूद्धिन मुसलमान उम्मेदवार छन् ।

अधिकांश लुम्बिनी सांस्कृतिक नगरपालिकाको भूभाग समेटिएको यो क्षेत्रमा बाम भन्दा लोकतान्त्रिक बलियो मानिन्छ । यहांको मत पार्टीगत भन्दापनि व्यक्तिगत प्रभावका आधारमा खस्ने कारण कसले जित निकाल्छ भन्ने आंकलन गर्न गाह्रो रहेको छ । यो क्षेत्रमा लुम्बिनी सांस्कृतिकको १, तिनदेखि ११ नं. वडा, गैंडहवाको १ देखि ५ सम्म र मायादेवी गाउंपालिकाको १ नं. वडा समेटिएको छ । स्थानीय तहको निर्वाचनमा गैंडहवा गाउंपालिकामा संघीय समाजवादी फोरम विजयी भएको थियो भने लुम्बिनी सांस्कृतिक नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

SHARE