नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द, मदिरा विक्रीमा पनि रोक

12

 

भैरहवा, १९ मंसिर ।

दोश्रो चरण अन्र्तगत आगामी मंसिर २१ हुने निर्वाचनलाई ध्यानमा राखी रुपन्देही प्रशासनले सुरक्षा बढाएको छ । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रशासनले गयराति १२ बजेदेखि रुपन्देहीसँग सीमा जोडिएका नेपाल–भारत सीमा नाका बन्द गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले निर्वाचनलाई ध्यानमा राखेर नेपाल भारत सीमा नाका बन्द गरिएको जानकारी दिए । नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा तथा प्रशासनको संयुक्त बैठकले गरेको निर्णय अनुसार मंसिर २१ मा नेपालमा हुने निर्वाचनको क्रममा १८ गते मध्यराती देखी २१ गते मध्यरातीसम्म ७२ घण्टासम्म दुवै देशको सीमा बन्द रहने मैनालीले बताए ।

यस अवधिमा नेपाल र भारतबाट आवत जावत गर्ने सवारी साधनहरु लगायत पैदल यात्रुलाई समेत सीमा वारपार गर्न रोक लगाइने छ । तर पर्यटक तथा अत्यावश्यक सवारी साधनहरुलाई आवत जावत गर्न दिने उनले बताए ।

निर्वाचनलाई भयररहित वातावरणमा सम्पन्न गर्न जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी ४ हजार ४ सय ४४ सुरक्षाकर्मी खटिएका छन् ।
यसैबीच निर्वाचनलाई ध्यानमा राख्दै मंसिर १८ गते देखी २२ गतेसम्म मदिरा बिक्रि नगर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गरेको छ ।

जिल्लामा रहेको बिभिन्न ब्यापार संगठन, होटल ब्यावसायी तथा मदिरा ब्यवसायीहरुलाई उक्त अवधिमा मादक पदार्थ बिक्रि नगर्न निर्देशन दिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले बताए ।

निर्वाचनलाई भय रहित वातावरणमा सम्पन्न गर्न स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निर्वाचन अवधिमा मदिरा बिक्रीमा रोक लगाईएको छ ।

SHARE