खांणमाथी श्रेष्ठको गम्भिर आरोप

850

 

भैरहवा, मंशिर १८
रुपन्देही क्षेत्र नं। ३ प्रदेश सभा १ का स्वतन्त्र उम्मेदवार ओमकुमार श्रेष्ठले नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खांण मानसिक रुपमा विक्षिप्त भएको आरोप लगाएका छन् ।
हारको मानसिकता राखी आफूले लोकतान्त्रिक गठबन्धनलाई सहयोग गरेको भनेर कूप्रचार गरेको भन्दै श्रेष्ठ खांणप्रति आक्रामक भएका हुन् ।
सोमबार भैरहवामा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उम्मेदवार श्रेष्ठले आफू हार्ने निश्चित भएपछि कांग्रेस सिध्याउन राप्रपालाई सहयोग गरेर खांणले लोकतन्त्रमाथि नै प्रहार गरेको आरोप लगाए ।
भैरहवामा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको सभामा पूर्व रक्षामन्त्री समेत रहेका खांणले आफूले फोन गरेर समर्थन गर्न भनेपछि स्वतन्त्र उम्मेदवार श्रेष्ठले गठबन्धनलाई सहयोग गरेको बताएका थिए । त्यसलगत्तै पत्रकार सम्मेलन गरेका श्रेष्ठले जातीय राजनीतिमा लागेका, नवप्रवेशी, पार्टी हितविपरीत काम गर्ने, मधेश आन्दोलनमा सहभागी, नाकाबन्दीको पक्षमा उभिएका अलोकतान्त्रिक व्यक्तिलाई उम्मेदवार बनाएपछि आफू जनचाहना अनुसार पार्टीको बुथसमिति, नगर, क्षेत्रीय र जिल्ला समितिका अधिकांश सदस्यहरुको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेको प्रष्ट्याए ।
कांग्रेस नेता खांणप्रति बढी आक्रामक भएका श्रेष्ठले लोकतन्त्र र पार्टी सिध्याउन तथा आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि जे पनि गर्न सक्ने खांणको भनाईमा कुनै सत्यता नभएको बताए ।
उनले आफूप्रति जनलहर देखेपछि पछिल्लो समय खांण मानसिक रुपमै असन्तुलित भएको बताउंदै त्यस्ता पात्रले जनता, क्षेत्र र राष्ट्रको विकास गर्न नसक्ने बताए ।
विगतमा पनि खांणले आफ्नो स्वार्थका लागि थुप्रै गलत काम गरेको आरोप लगाउंदै श्रेष्ठले खांणलाई जनताले दण्डित गर्नुपर्ने बताए ।
आफूले अत्यधिक बहुमतका साथ चुनाव जित्ने दावी गरेका श्रेष्ठले मतदाता र आफू समर्थकलाई विचलित नभई आफ्नो चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे ।

SHARE