“सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकतामा”

140

 

बुटवल, मंशिर १३
संयुक्त बाम गठबन्धनका नेताहरुले सुकुम्बासी समस्या समाधान आफूहरुको पहिलो प्राथमिकता भएको बताएका छन् । रुपन्देहीमा थुप्रै बासिन्दा पूर्जाविहीन अवस्थामा रहेको भन्दै उनीहरुले प्रदेश र केन्द्र सरकार बनेपछि पहिलो प्राथमिकताका साथ समस्या समाधान गर्ने बताए ।
बुटवल ११ मझुवामा अव्यवस्थित बसोबासीहरुको चुनावी सभालाई संबोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् ।
सभालाई सम्बोधन गर्दै एमाले उपमहासचिव एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य, रोजगार, सडक निर्माण जनताका लागि आधारभुत कुरा भएको र यसतर्फ आफुहरु सधै प्रयत्नशिल रहेको बताए ।
उनले बुटवलको अव्यवस्थित बस्तीलाई व्यवस्थित गरी लालपुर्जा प्रदान गर्नुको साथै रोजगारीको प्रबन्ध मिलाउने बताए । मंसिर २१ गतेपछि बन्ने बामपन्थीको बहुमतको सरकारले जनताका माग पूरा गरेर देखाउने समेत पौडेलले दावी गरे ।
यस पटकको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा रुपन्देही जिल्लाबाट दुई तिहाई सिट जित्ने दावी गर्दै उनले ढुक्कसंग मतदान गर्न आग्रह गरे ।
रुपन्देही क्षेत्र नम्बर २ प्रदेशसभा १ का उम्मेदवार लिला गिरीले बाम गठबन्धनका अधिकांश उम्मेदवार रुपन्देहीमा विजयी हुने बताउंदै निर्वाचनपछि बन्ने सरकारले बोलेका कुरा पूरा गर्ने बताएका छन् ।
प्रदेशसभा २ का उम्मेदवार भोजप्रसाद श्रेष्ठले यस क्षेत्रलाई विकासमा नमूना बनाउने प्रतिबद्धता व्यक्त गर्दै सकुम्बासी समस्या समाधान गर्ने आफूहरुको पहिलो एजेण्डा रहेको बताए ।
बिगतमा आफ्नै नेतृत्वमा बनेको आयोगले रुपन्देहीका सयौं सुकुम्वासीहरुलाई लालपूर्जा उपलब्ध गराएको भन्दै त्यसयता बनेका आयोगहरुले कांग्रेसको अवरोधका कारण काम गर्न नसकेको दावी गरे । यसैबीच बाम गठबन्धनका उम्मेदवारले बुधबार पनि क्षेत्र नम्बर २ का विभिन्न वडाहरुमा घरदैलो गरी मतदाताहरुका गुनासाहरु सुनेका छन् । बुधबार बुटवल ११ तिनाउ पारी विष्णु पौडेल र लिला गिरीको नेतृत्वमा घरदैलो गरिएको थियो ।
त्यस्तै बुटवल १२ मा प्रदेशसभा २ का उम्मेदवार भोजप्रसाद श्रेष्ठले कार्यकर्ता र शुभेच्छुकहरुका साथमा घरदैलो गरेका थिए । त्यस्तै बुटवल–१० मा प्रतिनिधिसभाका उम्मेदवार पौडेल र प्रदेशसभाका उम्मेदवार गिरीको नेतृत्वमा घरदैलो भएको एमाले प्रदेश सभा १ का निर्वाचन परिचालन समिति संयोजक मोहन चापागाईंले जानकारी दिए ।

SHARE