त्रिशुलीमा बस खस्दा ८ जनाको ज्यान गयो

7

 

बुटवल, मंशिर १३

काठमाडौंबाट अर्घाखांचीको लागि छुटेको यात्रुबाहक बस बुधवार विहान त्रिशुली नदिमा खस्दा ८ जनाको ज्यान गएको छ । दुर्घटनामा परि २४ जना यात्रु घाईते भएका छन् ।
नमस्ते अर्घाखांचीको लु २ ख २९१ नम्बरको बस बुधबार विहान सवा नौं बजे पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट त्रिशुली नदीमा खसेको हो ।
बस त्रिशुली नदिमा खसी पुरै डुबेको थियो । सशस्त्र प्रहरीका गोताखोरले बसलाई त्रिशुली नदिको २५ फिट तल फेला पारेका छन् । सशस्त्रको विपत व्यवस्थापन टोलीका गोताखोरले चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट खसेको बसलाई फेला पारेसंगै क्रेन लगाएर निकालेका हुन् ।
चिसो र धमिलो पानी संगै बस गहिराईमा रहेकाले उद्धारमा समस्या भएको थियो । चितवनबाट गईरहेको बा ६ ख ४९७२ नम्बरको ट्रकसंग ठक्कर खांदा बस नदीमा खस्न पुगेको थियो । घाईतेहरुको काठमाण्डौ र चितवनका विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
बुधबार विहान बालाजुस्थित बसपार्कबाट २८ जना यात्रुको चलानी लिएर हिंडेको उक्त बसमा कलंकी र बिच सडकबाट कति यात्रु बसमा चढेका थिए भन्ने खुल्न सकेको छैन । दुर्घटनामा केहि यात्रु वेपत्ता भएको हुनसक्ने आशंका गरिएको छ । ८ जना मृतक मध्ये ३ जनाको मात्रै सनाखत भएको छ । सनाखत हुनेमा सन्धिखर्क नगरपालिका ८ किमडांडाकी लक्ष्मी पाडेल, देवदह १०, घोडाहका विक्रम पाण्डे र पवन महत रहेका छन् ।
त्यस्तै दुर्घटनामा परि घाईते हुनेहरुको पनि अधिकांशको ठेगाना खुलेको छैन । घाईतेमध्ये कपिलवस्तुका कमल विक, अर्घाखांचीका धुर्ब भट्टराई, अर्घाखांची धारापानीका धुर्ब दमासे, किमडांडा पकलेकी लक्ष्मी पौडेल, खन मखातका माधब खनाल, बांगि पलासपाटाका पवन महत, सन्धिखर्क कुरकी शाबित्रा गौतम, अन्य घाईतेहरुमा संदिप दमासे, उमादेबी पोखरेल, तुलसा घर्तिमगर, यम बहादुर क्षेत्री, इन्दिरा दमासे, केशरमणी न्यौपाने, पदम बहादुर रायमाझी, निशा थापा, सुशील क्षेत्री, दधिराम गैरे, राम बहादुर बि।क। राजेन्द्र रायमाझी रहेको प्रहरीले जनाएको छ ।
घाईते रहेका १ नाबालक, १ महिला र ३ पुरुषको पहिचान खुल्न सकेको छैन ।

SHARE