पोलसंग भोट साट्ने दिपक बाहोराको प्रयास अनुगमन समितीद्धारा कारवाहीको लागि सिफारिश

138

 

बुटवल, मंशिर १२

बहालवाला स्वास्थ्य मन्त्री दीपक बोहोराले निर्वाचन आचारसंहिता विपरित बिद्युतका पोल तथा पैसा बाढेको आरोप लागेको छ । रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार रहेका स्वास्थ्य मन्त्री बोहोराले मतादातालाई प्रभावित गर्नेगरी शुद्धोधन गाउंपालिका वडा नम्बर ४ को जुगडीहवा र वडानम्बर ५ को शितलपाटिको थारु गाउंमा शनिबार राति २२ थान बिजुलीको पोल बाढेंका थिए ।
बोहोराको पठाएको उक्त पोल स्थानीय भुल्ले थारु र घोराहि थारुले ट्याक्टरमा लगेर सांझको समयमा गाउंमा पोल खसालेको स्थानिय शिवकुमारी थारुले जानकारी दिईन् । स्थानीय लक्ष्मी चौधरीले मन्त्री बोहोराले पोल पठाईदिएको र उनलाई भोट दिएपछि तार पनि पठाईदिने खबर पठाएको बताईन् ।
निर्वाचनको आचारसंहिता विपरित सर्वसाधारणलाई प्रभावित गर्नेगरी बिजुलीका पोलहरु गाउंमा खसाल्ने काम गलत भएको सोहि वडाका निर्वाचित अध्यक्ष राजेन्द्र कडेंलले बताए ।
उक्त वडाका पुर्व अध्यक्ष मणिराम थारुले निर्वाचन पहिले पटकपटक आग्रह गर्दा र छिमेकी गाउंमा बिद्युत विस्तार गर्दा नदिने बोहोराले निर्वाचनको समयमा जनतालाई प्रभावित पार्ने गरी पोल बाढ्दै हिडेको बताए ।
स्थानिय कुमारी थारुले बिजुलीको पोलमा मत किन्न खोजिएको भन्दै आक्रोस व्यक्त गरिन् ।
यसैबीच निर्वाचन आचारसंहिता विपरित विजुलीको पोल खसालेको समाचार सार्वजनिक भएपछि निर्वाचन आचारसंहिता अनगुमगन समिती रुपन्देहीका सदस्य खिमप्रसाद अर्यालको टोलीले स्थलगत अध्ययन गरेको छ ।
अर्यालले आचारसंहिता विपरित विजुलीको पोल झारेको पाईएकोले कारबाहिको लागी सिफारिश गरिएको बताए ।
नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलि लिएर पुगेको उक्त आचारसंहिता अनुगमन टोलीले तत्काल ती पोलहरु शुद्धोधन गाउंपालिका र प्रहरीको नियन्त्रणमा राखेको छ । निर्वाचन पश्चात आवश्यक छलफल गरी आवश्यक ठाउंमा गाउपालिकाले पोल वितरण गर्ने बताईएको छ ।

यसैविच रुपन्देहीका जनप्रतिनिधीले उम्मेदवार दीपक बोहोराको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् ।
शुद्धोधन गाउपालिका वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र कडेंल, वडा नम्बर ३ का अध्यक्ष हेम बहादुर खड्का र वडा नम्बर ५ का अध्यक्ष पुण्यराम गौतम, वडा सदस्यहरु हेमन्त थापा, भुनेश्वर थारु लगायतले हस्ताक्षर गरी निर्वाचन आचारसंहिता विपरित जनतालाई प्रलोभन दिने उम्मेदवारको उम्मेदवारी खारेजी गर्न माग गरेका हुन् ।
उजुरी दिदैं वडा नं। ४ का अध्यक्ष राजेन्द्र कडेंलले निर्वाचनको बेला मत किन्न खोज्ने नेताले पछि बेच्न पनि सक्ने बताए ।

SHARE