गुल्मीमा उम्मेदवार लक्षित बम प्रहार

8

 

गुल्मी, मंशिर ११
गुल्मिमा उम्मेदवार माथी लक्षित गरि बम प्रहार भएको छ । नेपाली कांग्रेसबाट गुल्मी क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार चन्द्र केशिको चुनावी प्रचारको लागि हिंडेका कांग्रेस नेता खिलध्वज पन्थी र कांग्रेस क्षेत्रिय सभापति भगतसिंह खड्का सवार गाडीलाई लक्षित गरेर बिहान पौने दशबजे बम बिस्फोट गराईएको हो ।
चुनाव प्रचारको लागि जिल्लाको मुसिकोट १ थाममा पुगेका पन्थी र खड्का सवार गाडी भन्दा ५ मिटर अगाडि भएको उक्त सुतली बम प्रहारबाट कुनै मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
निर्वाचनको बिरोध गर्दै आएको बिप्लव नेतृत्वको नेकपा माओवादीले बम प्रहार गरेको प्रहरीले आशंका गरेको छ । उम्मेदवार लक्षित आक्रमणका घटना बढ्दै गएपछी प्रहरीले सुरक्षा सतर्कता बढाएको जनाएको छ ।
यता निर्वाचन विरोधी गतिविधि सञ्चालन गरेको भन्दै पक्राउ परेका नेकपा विप्लवका नवलपरासी जिल्ला इन्चार्ज पदम केसी सहित तीन जनालाई सार्वजनिक मुद्दा चलाईएको छ । त्यसरी सार्वजनिक मुद्दा चलाईनेमा बर्दघाट नगरसमिति सदस्य मोहन सापकोटा र सुनवल ११ जर्गाहाका आत्मराम आचार्य रहेको जिल्ला प्रहरी कार्यालय परासीका उपरीक्षक मुकुन्दराज आचार्यले जानकारी दिए ।
केसी र सापकोटा मंसिर ४ गते भूमहीबाट पक्राउ परेका हुन् भने आचार्य कात्तिक ३० गते बर्दघाटबाट पक्राउ परेका हुन् । उनीहरु निर्वाचन विरोधी सामाग्री सहित कार्यक्रमका लागि जांदै गरेको अवस्थामा पक्राउ परेको प्रहरी उपरीक्षक आचार्यले दाबी गरे । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय परासीमा थुनामा राखेर सार्वजनिक अपराधमा मुद्दा चलाईएको प्रहरीले जनाएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालयले निर्वाचन अवधिभर हतियार बुझाउन सर्वसाधारणलाई आग्रह गरे अनुसार सोमबारसम्म नवलपुर र परासी क्षेत्रमा ५२ थान हतियार संकलन भएको छ । जसमा नवलपुरमा ९ र परासी क्षेत्रमा ४३ थान हतियार संकलन भएको प्रहरीले जनाएको छ ।
शान्ति सुरक्षालाई मध्यनजर गर्दै दुवै जिल्ला प्रशासन कार्यालयले इजाजत लिएर राखेका सर्वसाधारणका हतियार बुझाउन आग्रह गरेको थियो । इजाजत लिएका केही हतियारहरु सर्वसाधारणले बुझाउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन खांणले जानकारी दिए ।

SHARE