ढुक्क भएर लगानी गर्नुस् :ओली

11

 

भैरहवा, मंशिर ११
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । भैरहवामा सञ्चालन भएकोे चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै ओलीले निर्वाचनपछि बन्ने बामपन्थीको सरकारले निजि क्षेत्रको लगानी संरक्षण गरि पुंजी परिचालन गर्ने बताए ।
उनले संयुक्त राष्ट्रसंघले तोकेको दिगो विकास लक्ष्य अनुसार अगाडि बढ्न उद्योगी व्यवसायीहरुसंग हातेमालो गर्दै लुकेर बसेको पुंजीलाई गतिशिल बनाउने आफूहरुको योजना रहेको बताए ।
पछिल्लो समय सरकारले राम्रोसंग काम गर्न नसक्दा सेयर कारोबारमा गिरावट आएको बताउंदै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अब बन्ने सरकारले सुधारात्मक काम गर्ने बताए ।
उनले रुपन्देहीमा बामपन्थी उम्मेदवारलाई विजय बनाउन आग्रह गर्दै यहांका सबै योजनाहरु पुरा गर्न आफूले बजेटको व्यवस्था समेत गर्ने बताए ।
राष्ट्रिय एकता, शान्ति, स्थायित्व र विकासप्रेमी सरकार बनाउन सबै उद्योगीलाई सहयोग गर्न आग्रह गर्दै ओलीले राजनीतिक स्थायित्व नहुंदा संविधान जारी भएपनि विकास र संवृद्धिका काम गर्न नसकेको बताए ।
बाम तालमेलको एउटैै लक्ष्य कम्युनिष्ट केन्द्र बनाएर ५ वर्षे सरकार चलाउने र देशको आर्थिक विकास, पर्यटन, उद्योग, व्यापारमा क्रान्तिकारी परिवर्तन ल्याउनु रहेकाले त्यसअनुसार अगाडि बढ्न आफूहरु कटिवद्ध रहेको उनले बताए ।
यसअघि रुद्रपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन पछि नेकपा एमाले र माओवादी केन्द्रवीचको पार्टी एकता कसैले भांड्न नसक्ने दावी गरे ।
पार्टी एकताकै लागि निर्वाचनमा गठबन्धन भएकाले अब एकता भांड्ने षडयन्त्र नगर्न चेतावनी दिए । सो अवसरमा नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा बादलले नेपालमा अव छिट्टै विभाजित कम्युनिष्टहरुको एकता हुन लागेको भन्दै यो घटना नेपालको ईतिहासमा ठुलो घटना हुने बताए ।
उनले बामएकता देखेर देशी विदेशी शक्तिहरु आत्तिएको विश्लेषण गरे । रुपन्देही क्षेत्र नम्बर ५ का उम्मेदवार प्रतिनिधि सभा सदस्य उमेदवार डिलाराम आचार्यले अब जमाना बदिलिएको भन्दै अवको जित बामकै जित भएको बताए । नेकपा एमाले प्रदेश नम्बर ५ का सचिव तथा रुपन्देही क्षेत्र नम्बर ५ प्रदेशसभा १ का उमदेवार भुमिश्वर ढकालले बाम गठबन्धनको जितबाट समग्र देशको विकास हुने दावि गरे । कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ५ प्रदेशसभा २ का उमेद्वार हजरत बलाल फकीरले क्षेत्र नम्बर ५ को विकासको लागि कुनै कसर बांकी नराख्ने बताए ।

SHARE