सुनवल नगरपालिकामा असन्तुष्टि बढ्यो,

24

मेयर थापाले एकलौटी गरेपछि विरोधमा उत्रिए बामपन्थी जनप्रतिनिधि ।

सुनवल, ९ मंसिर । सुनवल नगरपालिकाका मेयर भिमबहादुर थापा एकलौटी ढंगले चलेको भन्दै विरोध सुरु भएको छ । नेपाली कांग्रेसबाट मेयर जितेका थापाले बामपन्थीको बहुमत रहेपनि कार्यपालिकामा छलफल र निर्णय नै नगरी स्वच्छाचारी रुपले काम गर्न थालेपछि असन्तुष्टि बढेको हो । सुनवल नगरपालिकाको २३ सदस्यीय कार्यपालिकामा मेयर थापा सहित ३ जना वडा अध्यक्ष गरी कांग्रेसबाट चार जनाको प्रतिनिधित्व छ भने नेकपा एमालेबाट १८ जना र माओवादी केन्द्रबाट १ जना गरी बामपन्थीबाट १९ जना जनप्रतिनिधि रहेका छन् । मेयर थापाले एकलौटी रुपले काम गर्न थालेपछि आज बसेको कार्यपालिका बैठक बामपन्थीहरुले बहिस्कार गरेको सुनवल नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद देवकोटाले बताउनुभएको छ । सुरुवातमा मेयर थापालाई सहयोग गर्दै नगर सभा समेत भव्य रुपले सम्पन्न गरिएकोमा पछिल्लो समय मेयर थापाले नगरपालिकालाई कांग्रेसको राजनिति गर्ने अखडा बनाएको, बामपन्थी निकट कर्मचारीलाई विभेद गर्ने गरेको तथा निर्णय नगरी आफ्नै हिसावले काम गर्न थालेपछि बाध्यभएर विरोधमा उत्रिनुपरेको प्रवक्ता देवकोटाले बताउनुभयो । उपमेयर दधिराम अर्यालले नेतृत्व गरेको बामपन्थी समुहको जनप्रतिनिधिहरुले बैठक बहिस्कार गरेपछि आज कुनै निर्णय हुन नसकेको पनि उहाँले बताउनुभयो ।बामपन्थीबाट जितेका जनप्रतिनिधिहरुले विरोध गरेपछि सुनवल नगरपालिकाका मेयर थापा अल्पमतमा परेका छन् । अव उनको कामको शसक्त ढंगले खवरदारी गर्ने प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

SHARE