गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले स्थापना दिवसमा बिविध कार्यक्रम गर्ने

48

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्धारा संचालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले एकमहिना सम्म विभिन्न रचनात्मक कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाउने भएको छ ।

अस्पतालको पाचौ स्थापना दिवस तथा संस्थाको संरक्षक संस्था रुपन्देही उद्योग संघको ४० औं स्थापना दिवसको अवसरमा अस्पतालले मंशिर १० गतेदेखि पौष ९ गतेसम्म ओपिडी शुल्क संगै विभिन्न प्याकेजको परिक्षणमा छुट गरेको जनाएको छ । अस्पतालले एकमहिनाको अवधीसम्म ओपिडी शुल्क एक रुपैया, कायम गरेको छ । त्यस्तै सुगर र यूरिन आर.इ. निःशुल्क परिक्षण गर्नुको साथै १ सय रुपैयामा इ.सि.जि. र ५ सय रुपैयामा थाइराइड परिक्षण गर्ने जनाएको छ ।

फुलबडी परिक्षण र मृगौलाको प्याकेजहरुमा पनि २० प्रतिशत छुट गर्ने अस्पतालले जनाएको छ । समाजप्रतिको आफ्नो दायित्वलाई बोध गर्दै र सर्वसाधारणलाई स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले स्वास्थ्य परिक्ष्ँणमा यसप्रकारको छुट गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । त्यसैगरी स्थापना दिवशकै अवसरमा अस्पतालले विभिन्न सचेतनामुलक कार्यक्रम समेत गर्दै छ ।

अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिवीर, रक्तदान, राजनितिक दल, जनप्रतिनिधि, सामाजिक संघसंस्था, संचारकर्मी तथा विभिन्न सरोकारवालाहरु संग अन्तरक्रिया तथा मुटु र मुटुरोग सम्बन्धि कविता प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने बताए । विगतका वर्षहरु जस्तै यसवर्षपनि अस्पतालमा कार्यरत कर्मचारीहरु बाट उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्ने अस्पतालले जनाएको छ । अस्पतालले आगामी पुष १० गते आफ्नो स्थापना दिवस मनाउंदै छ ।

SHARE