पांचसय जनाको निशुल्क सुगर परिक्षण

32

 

बुटवल, कार्तिक ३०
विश्व मधुमेह दिवसको अवसरमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले संचालन गरेको निशुल्क सुगर परिक्षण शिवीर सकिएको छ । दिवसको अवसरमा मंगलबारदेखि शुरु गरेको तिनदिने शिवीर विहीबार सकिएको हो ।
बुटवल १० रामनगर स्थीत अस्पताल परिसरमा संचालन गरिएको शिवीरमा ५ सय जनाले निशुल्क परिक्षण गरेको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी अधिकृत कमल भण्डारीले ५ सय जनाको रगत र पिसाबबाट सुगर परिक्षण गरिएको बताए ।
दैनिक रुपमा खाने खानपान र शारिरीक व्यायाम प्रति सर्वसाधारण सचेत बन्न नसक्दा पछिल्लो समय मधुमेहका विरामीहरु बढ्दै गएका छन् । अत्यन्त कम शुल्कमा सामान्य रुपमा रगत र पिसाब परिक्षण गरी रगतमा सुगरको अवस्था थाहा पाउन सकिने भएपनि सर्वसाधारण आफ्नो स्वास्थ्य प्रति सचेत बन्न सकेका छैनन् ।
अस्पतालका अध्यक्ष एजाज आलमले सर्वसाधारणलाई समयसमयमा सुगर परिक्षण गरी मधुमेह संगै अन्य विभिन्न रोगहरुबाट समेत सजग बन्न सकुन् भन्ने उद्देश्यले विभिन्न समयमा निशुल्क शिवीर संचालन गरिदै आएको बताए ।
विश्व स्वास्थ्य संगठनका अनुसार मधुमेहबाट महिलाहरु धेरै जोखिम रहेको देखिएको छ । प्रत्येक १० मध्ये एकजना महिला मधुमेहका बिरामी हुने बताईन्छ । अन्तराष्ट्रिय मधुमेह संघका अनुसार संसारभरि १ सय ९९ लाख महिला मधुमेहबाट ग्रसित रहेको तथ्यांक छ ।
प्रत्येक पांचमध्ये दुईजना महिला प्रजनन उमेर समूह अन्तर्गतका रहेको र मधुमेह महिलाको मृत्युको प्रमुख कारणमध्ये नवौं कारण रहेको चिकित्सकहरुको भनाइ छ ।
मधुमेहले मानिसका महत्वपूर्ण अंगलाई काम नलाग्ने बनाउन सक्छ । ह्दयरोग, मस्तिष्कघात, अन्धोपना र पक्षघात गराउने या मिर्गौलाले काम गर्न नसक्ने र मुटुमा समस्या ल्याउन सक्ने प्रवल सम्भावना हुन्छ । त्यसकारण व्यक्तिगत कुरामा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।
मुख सुख्खा हुने, पिसाब लागिरहने, धेरै भोक लाग्ने, तौल घट्ने, घाउ निको हुन समय लाग्ने, हातगोडा झम्झमाउने, निदाउने वा गल्नेजस्ता लक्षण देखिएमा तुरुन्त जांच गराउनु आवश्यक छ ।
नेपालमा अहिले नौ लाखभन्दा बढी मानिसमा मधुमेह भएको अनुमान छ । विश्व स्वास्थ्य संघका अनुसार विश्वमा प्रत्येक १० सेकेण्डमा एकजना व्यक्ति मधुमेहको बिरामी बन्ने गरेका छन् भने एकजनाभन्दा बढीको मधुमेहजन्य रोगको समस्याकै कारण मृत्यु हुने गरेको छ ।
मानिसको जीवनशैलीमा आएको परिवर्तन, जस्तै गुलियोप्रेमी हुनु, बढी नुनिलो चिज मन पराउनु, चिल्लोयुक्त खानपान, अत्यधिक कार्बोहाइड्रेट युक्त खानेकुराका कारण मोटोपन बढेको र त्यसैले मधुमेहले महामारीको रूप लिंदै गएको विज्ञहरु बताउंछन् । नेपालमा खासगरी सबैभन्दा बढी असर मोटोपना भएका र शारीरिक व्यायाम कम गर्नेहरूमा मधुमेह देखिएको छ ।

 

SHARE