लायन्स मधुमेह सप्ताहको दोस्रो दिन जनचेतनामूलक ¥याली

21

 

भैरहवा, २८ कात्तिक ।
लायन्स क्लब अफ सिद्धार्थनगर रुपन्देहीले लायन्स मधुमेह सप्ताह अन्तर्गत दोस्रो दिन मंगलबार जनचेतनामूलक ¥याली निकालेको छ ।
भैरहवाको बर्मेलीटोल देखि सुरु भएको जनचेतनामूलक ¥याली नारायणपथ, विद्रोहीचोक, प्रहरीटोल हुँदै मिलनचोक गएर समापन भएको थियो । ¥यालीमा लायन्सका पदाधिकारी, सामाजिक क्षेत्रका अगुवाहरु, नेपाल प्रहरी, निजी तथा आवासीय विद्यालयका विद्यार्थी तथा शिक्षकको सहभागिता रहेको थियो । सहभागीहरुले खानपिनमा ध्यान दियौं, समयमै सचेत नभए मधुमेहले लिन्छ ज्यान, सबै मिली मधुमेहलाई निमूर्ल पारौं जस्ता नारा लेखिएका प्ले कार्ड लिएका थिए ।
¥यालीको अघि आयोजित कार्यक्रमको शुभारम्भ गर्दै रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले पछिल्लो समय मधुमेह रोग जटिल समस्या बन्दै गएको बताउँदै व्यक्ति सचेत भए रोगबाट बच्न सकिने बताए । उनले आम समुदायको प्रतिनिधित्व गर्दै व्यक्ति तथा समुदायलाई रोगबाट सचेत रहन लायन्सले खेलेको भूमिका अह्म भएको बताए । लायन्स नेता अर्जुन पौडेल, अरुणप्रताप राणा, भीष्मप्रसाद न्यौपाने, विजय पाण्डेलगायतले बोल्दै सबैले मधुमेह निमूर्ल पार्न हातेमालो गर्नु पर्ने धारणा राखे ।
अन्तर्राष्ट्रिय लायन्स र डिष्ट्रिक ३२५ बी२ को आह्वानमा लायन्स क्लब अफ सिद्धार्थनगरले मधुमेह सप्ताह आयोजना गरेको हो । बढ्दो मधुमेह रोगलाई नियन्त्रण गर्ने उद्देश्यसहित विभिन्न ठाउँमा शिविर संचालन गर्दै आएको क्लबले सोमबार देखि मंसिर ३ गतेसम्म मधुमेह सप्ताहको आयोजना गरेको छ ।
गत सेप्टेम्बरदेखि मधुमेह परीक्षण अभियान संचालन गरेको क्लबले अहिलेसम्म लुम्बिनीमा २ सय जना, जिल्ला प्रहरी कार्यालयमा कार्यरत १ सय २७ जना प्रहरी, सत्यसाई बृद्धाश्रममा ६७, आन्तरिक राजस्व कार्यालयमा ६६, बह्कुमारी विश्वविद्यालयमा २ सय ३१ जना गरी ६ सय ९१ जनाको रक्त परीक्षण गरिसकेको छ । जसमा ५२ जनामा मधुमेह भेटिएको थियो ।
सिद्धार्थनगर सिटी हस्पिटलको प्राविधिक सहयोगमा ठाउँठाउँमा अस्थायी प्रयोगशाला मार्फत् मधुमेह परीक्षण गरिरहेको क्लबले एक वर्षभित्र ५ हजार बढीलाई सचेतना र करिब ३ हजारको रक्त परीक्षण गर्ने लक्ष्य लिएको क्लबका अध्यक्ष विजय पाण्डेले बताए ।

SHARE