कथाकार लामिछानेलाई मीनपद्म पुरस्कार

7

भैरहवा, २३ कात्तिक ।
बरिष्ठ कथाकार प्रा.डा.कपिलदेव लामिछानेलाई मीनपद्म गौचन स्मृति पुरस्कार प्रदान गरिने भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्मजयन्ती तथा २०३ औं सिद्धार्थ साहित्य संगमको अवसर पारेर बरिष्ठ कथाकार प्रा.डा.लामिछानेलाई पुरस्कार प्रदान गर्न लागिएको हो ।
उक्त पुरस्कार समाजसेवी ओमकार गौचनद्वारा आफ्नो मातापिताको सम्मानमा स्थापित गरिएको हो । उनी सिद्धार्थ उद्योग बाणिज्य भैरहवाका पूर्व अध्यक्ष समेत हुन् । पुरस्कृत हुन लागेका लामिछानेले भाषा साहित्यको क्षेत्रमा दशकौंदेखि अनवरत रुपमा कलम चलाउँदै आएका छन् । उनका दर्जनौं पुस्तकहरु प्रकाशित छन् । उनी सिद्धार्थ साहित्य परिषदका पूर्व अध्यक्ष तथा प्रश्रित प्रतिष्ठान नेपालका हालका अध्यक्ष पनि हुन् ।
यस्तै देवकोटा जयन्तीको अवसरमा समाजका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुराउने विभिन्न व्यक्तित्वहरुलाई सिद्धार्थ साहित्य सम्मान (२०७४) समेत समर्पण गरिने भएको छ । परिषदका सदस्य लक्ष्मीप्रसाद अधिकारीले दिएको जानकारी अनुसार तिलक लामिछाने, रामप्रसाद बराल, बाबुराम अर्याल, योगनाथ आचर्य, चन्द्रकान्त भट्टराई, कृष्ण गुरुङलाई सिद्धार्थ साहित्य सम्मान प्रदान गरिने भएको छ । यस्तै संस्थागत सम्मानतर्फ भैरहवाको रुपन्देही क्याम्पस र अंकुर बचत तथा ऋण सहकारी संस्था लि. बैंकरोडलाई सिद्धार्थ साहित्य सम्मान गर्न लागिएको छ ।
हरेक वर्ष जस्तै यस वर्ष पनि भैरहवामा कार्तिक २७ गते सोमबारका दिन देवकोटा जयन्ती विशेष रुपले मनाउन लागिएको छ ।

SHARE