मल नपाएपछि कृषक मर्कामा

16

भैरहवा
हिउंदे बाली लगाउने बेला मल अभाव भएपछि मर्कामा परेका पश्चिम नेपालका किसानहरुलाई केही राहत भएको छ । सरकारले पश्चिम नेपालका लागि भारतबाट रासायनिक मल आयात गरेको छ ।
हिउंदे बाली गहुं र तोरी छर्ने बेला मल अभाव भएपछि सरकारले जि टु जि माध्यमबाट डिएपी मल खरिद गरी किसानलाई वितरण गर्न सुरु गरेसंगै पश्चिम नेपालका किसानहरुले केही राहात पाएका हुन् ।
रुपन्देहीको बेलहिया नाका हुंदै सरकारले भैरहवामा रहेको क्षेत्रीय कृषि सामाग्री कम्पनीमा २५ सय मेट्रिकटन डिएपी मल भित्र्याएको छ ।
मल भित्रिएसंगै पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल क्षेत्रमा मल ढुवानी हुन थालेको कृषि सामाग्री कम्पनी क्षेत्रीय कार्यालय भैरहवाका प्रमुख राजेन्द्रबहादुर कार्कीले बताए ।
पश्चिम नेपालका सबै क्षेत्रमा मल अभाव भएकाले यातायातको सिन्डीकेटका कारणले गर्दा मल आपूर्ति गर्न ढुवानीका लागि सवारी साधनको अभाव भएको ढुवानीको जिम्मा लिएका कम्पनीहरुले बताएका छन् । ढुवानी व्यवसायीहरुले मल ढुवानी गर्न सिन्डीकेटले समस्या निम्तिएको बताए ।
वर्षे बालीपछिको महत्वपूर्ण मानिने हिउंदे बाली गहुं र तोरीको उब्जाउ बढाउन डिएपी र युरीया मल आवश्यक पर्दछ । तर डिएपी मल केही मात्रामा आयात गरिए पनि कृषि सामाग्री कम्पनी भैरहवाले युरीया अझै आयात गर्न सकेको छैन । आएको डिएपी मल पनि किसानले चाहिए जति पाउन सकेका छैनन् ।
चाइनाबाट ग्लोबल टेण्डर मार्फत् मल आउंदै गरेकोले अर्को हप्ताबाट प्रयाप्त मात्रामा मल पाइने कार्यालयले दावी गरेको छ ।

SHARE