बुटवलमा डेंगुको भयावह चारसय दश जनामा डेंगु संक्रमण गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्धारा ६ सय रुपैयामै डेंगु परिक्षण

334

 

बुटवल, कार्तिक २१
बुटवलमा डेंगुले महामारीको रुप लिएको छ । असोजको पहिलो सातादेखि रुपन्देहीमा फाटफुट्ट देखिएको डेंगु तिहारपछि महामारीको रुपमा देखा परेको हो ।
असोज १५ गतेसम्म २५ जनामा मात्रै देखिएको डेंगुको संक्रमण कार्तिक २० सम्म आईपुगग्दा ४ सय १० जनामा पुगेको छ भने २ जनाको मृत्यू भएको छ ।
लुम्बिनी अञ्चल अस्पतालका अनुसार दैनिक ३० देखि ४० जनामा डेंगुको संक्रमण देखा परेको छ । लुम्बिनी अञ्चल अस्पताल बुटवल सहित बुटवलका सबैजसो अस्पतालमा आउने विरामीहरुमा डेंगुका रोगी भेटिएका छन् ।
२०६८ सालदेखि डेंगुको संक्रमण देखिएको बुटवलमा यो पटक सबैभन्दा धेरै बिरामी भएका हुन् । रोगले महामारीको रुप लिन थालेपछि सोमबार इपिडिमियोलोली तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेको नेतृत्वमा स्वास्थ्य टोली बुटवल आएको छ ।
टोलीले बुटवलको लुम्बिनी अञ्चल अस्पताल सहित विभिन्न सरकारी निकायसंग भेट गरि डेंगु रोगले महामारीको रुप लिन थालेकाले यसको व्यवस्थापन थाल्नेछ । उनले डेंगुले प्रकोपको रुप लिएकाले यसबाट बच्ने उपायका बारेमा सबै तहबाट सचेतनाका कार्यक्रम गर्नुपर्ने बताए ।
टोलीले तीन दिनसम्म रुपन्देहीमा रहेर खोज र नष्ट गर अभियान प्रत्येक घरघर पुग्ने गरि गर्न जनस्वास्थ्य र स्थानीय तहलाई आग्रह गर्नेछ । डेंगु लागेका विरामीमध्ये ७५ प्रतिशत बुटवल उपमहानगर भित्रका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केयरसिंह गोदारले लामखुट्टेको टोकाईबाट लाग्ने डेंगुरोगको उपचार नभएकाले यसको टोकाईबाट बच्न आग्रह गरेका छन् । उनले बिरामीको संख्या बढेपनि आत्तिनुपर्ने अवस्था भने नभएको बताए ।
पोथी जातको लामखुट्टेको टोकाईबाट डेंगुको संक्रमण बढ्ने भएकाले यसको बासस्थान खोजी गरि नष्ट गर्नु र त्यसको टोकाईबाट बच्नु नै यो रोगको उपचार भएको गोदारले बताए । रगतको अभाव हुन नदिन नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देही र अन्य संघसंस्थाले समेत स्वतस्फूर्त रुपमा रक्तदान गरेका कारण विरामीलाई रगत आपूर्ती भईरहेको रक्तसञ्चार सेवा केन्द्र बुटवलका संयोजक मित्रलाल न्यौपाने बताए । दैनिक ५०/६० यूनिट रगत डेंगुका बिरामीलाई खपत भइरहेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।


डेंगुको संक्रमण बढिरहेको मौका छोपी विरामीहरुले चर्को शुल्क तिर्न बाध्य भएका समाचार बाहिर आईरहंदा बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले ६ सय रुपैयामा डेंगु परिक्षण गर्ने जनाएको छ ।
अस्पतालले सोमबार सुचना प्रशारण गर्दै ६ सय रुपैयामा डेंगुको रगत परिक्ष्ँण गर्ने सुविधा दिईएको जनाएको हो । दैनिक जसो ३० देखि ४० जनासम्म विरामीको संख्या थपिरहंदा सरकारी अस्पतालमा निशुल्क रुपमा गरिने डेंगुको रगत परिक्षणको लागि निजी ल्याबहरुले २५ सयदेखि ३ हजार रुपैयासम्म लिने गरेको गुनासो आएपछि मेडिकल ल्याबोरेटरी एसोसियसन अफ नेपाल मेलान रुपन्देहीले स्वास्थ्य सेवा शुल्क समेत गरी एकहजार ५० रुपैया भन्दा बढि नलिन आग्रह गर्दै विज्ञप्ती समेत जारी गरेको थियो ।
तर मुटु अस्पतालले भने महामारीको रुपमा फैलिरहेको डेंगुको सहज र सुलभ परिक्षण होस् भन्ने उद्देश्यले अत्यन्त न्यून शुल्कमा परिक्ष्ँण गर्ने सुविधा दिईएको जनाएको छ ।

SHARE