नाका सहज बनाउन उद्योगी–व्यवसायीको माग

12

प्रकाश न्यौपाने
भैरहवा, १५ कात्तिक ।
उद्योगी व्यवसायीहरुले नेपाल–भारत सीमा नाका बेलहिया–सुनौली नाकालाई सहज गराउन भारतीय दुतावाससँग आग्रह गरेका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघद्वारा मंगलबार भैरहवामा आयोजित नाका असहजताबारे छलफल कार्यक्रममा भारतीय दुतावासकी वाणिज्यतर्फकी प्रथम सचिव मैथिली झासँग भएको छलफलमा यस क्षेत्रका उद्योगी–व्यवसायीहरुले नेपालकै दोस्रो ठुलो भन्सार नाका बेलहिया–सुनौली नाकालाई सहज बनाउन आग्रह गरेका हुन् । व्यवसायीहरुले नेपाल–भारत मित्रता पुरानो भएकाले नाकाकै कारण दुई देशको सम्बन्धमा विग्रिन नदिन पनि नाका सहज हुनु पर्ने धारणा राखे । व्यवसायीहरुले मधेस आन्दोलन पछि नाका सहज नहुँदा आयात–निर्यात गर्न असहज भएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राजेशकुमार अग्रवालले विगतमा नाकाबाट एक हजार भन्दा बढी मालवाहक गाडी आउने गरे पनि पछिल्ला समये ३ सय वटा गाडी मात्र आएको बताए । उनले नाका असहज हुँदा व्यवसायहीरु धरायसी हुन थालेको गुनासो गरे ।
उनले मधेस आन्दोलनबाट समस्या उत्पन्न भएको बताउँदै दुतावासबाट दैनिक निगरानी गर्ने व्यवस्था भएमा बेलहिया भन्सारका कर्मचारी, प्रहरी जवाफदेही हुने हुँदा समस्याको समाधान हुन सक्ने धारणा राखे । उनले उद्योगको लागि साउथ अफ्रिकाबाट कोइला मगाउँदा लाग्ने खर्च भन्दा सुनौली नाकाबाट नेपाल कोइला ल्याउन बढी खर्च लाग्ने बताए ।
उद्योगी अरुण गोयनकाले सीमा नाकामा भन्सार र प्रहरीले ट्याक्स भन्दै अवैध असुली गर्दा आफुहरु मर्कामा परेको बताए । नाकाबाट साम्रगी आयत गर्दा प्रहरी ट्याक्स, गाडी मुभमेन्ट ट्याक्स, क्रसिङ ट्याक्स जस्ता कारणले व्यवसायनै बन्द गर्ने अवस्थामा आफूहरु पुगेको गुनासो गरे । सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष डा.शान्तकुमार शर्माले मधेस आन्दोलनमा उद्योगीहरुलाई समस्या भए पनि आन्दोलन समाप्त भए पपश्चात पनि उद्योगीहरु थप पीडामा परेको बताए । उनले नाकामा ट्राफिकको समस्या, एकृकित भन्सार चेकपोष्ट निर्माणमा भारतले चासो नदेखाउनु, क्वारेन्टाइन चेकपोष्ट नहुनु, प्रहरीको अवैध रकम असुली लगायतका कारण समस्या उत्पन्न भएको र यसको समाधन गर्नका लागि भारतीय दुताबासले पहल गर्नु पर्ने बताए ।
छलफलमा बोल्ने अधिकांश उद्योगी व्यवसायीहरुले नाकामा रहेको मालवाहक गाडीहरुलाई भारतीय प्रशसानले सहज रुपमा नछोड्दा समस्या उत्पन्न भएको बताएका थिए । व्यवसायीहरुले कागजपत्र सही भए पनि लाइनमा रहेको गाडीलाई भन्सार र प्रहरीले सहज रुपमा नछोड्दा समस्या भएको आरोप लगाएका थिए । व्यवसायीहरुले भारतीय बजार सुनौलीमा खुल्ला रुपमा लागुऔषधको कारोबार हुँदा नेपालमा समस्या देखिएको भन्दै त्यसलाई रोक्न समेत भारतीय दुतावास समक्ष आग्रह गरेका थिए । भारतीय दुतावासको वाणिज्यतर्फको प्रथम सचिव मैथिली झाले यस क्षेत्रका उद्योगी व्यवसायीहरुले आफुहरुसँग सहकार्य गरेमा छिट्टै नै नाकामा समस्या समाधान हुने र यसको लागि आफुले विशेष पहल गर्ने बताइन् ।

 

SHARE