बलिराजाको पराम्परामा बल्ढेङगढी समाज

6

कमल रायमाझी
भैरहवा, ११ कार्तिक । बलिहाङगढीका लोकप्रिय राजा बलिहाङ रानामगरको सम्झनामा पाल्पा बल्ढेङगढी समाज रुपन्देहीले दिपावलीको अवसर पारेर दिउसी भैलौ कार्यक्रमलाई निरन्तरता दिएको छ ।
पाल्पा जिल्लाको बल्ढेङगढी क्षेत्र र रुपन्देहीका विभिन्न स्थानमा पुगेर समाजले दिउसी भैलो कार्यक्रमलाई निरन्तरता दिएको हो ।
परम्परागत मौलिक कला, संस्कृतिमा आधारित दिउसी भैलोमा समाजमा आवद्ध पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको समाजका अध्यक्ष डिबि कार्कीले जानकारी दिए ।
दिउसी भैलो कार्यक्रममा लोक संस्कृतिका ज्ञाता रहेका बलिराजाको राजधानी बलिहाङगढी हालको बल्ढेङगढी क्षेत्रका पुराना लोक कलाकारहरुको प्रस्तुती रहेको समाजका अध्यक्ष कार्कीले बताए ।
दिउसी भैलो कार्यक्रम बलिराजाको इतिहाससंग जोडिएकाले यसको सम्बर्धन संरक्षण गर्नका लागि समाज अगाडि बढेको समाजकी सचिव लता खड्काको कथन रहेको छ ।
लगातार तीन दिनसम्म भएको दिउसी भैलो कार्यक्रममा उठेको रकमबाट हालको बल्ढेङगढी क्षेत्रमा रहेको बलिराजाको दरवार कुवारी देवीको मन्दिरको संरक्षण गरिने समेत समाजकी सचिव खड्काले बताईन् ।
दिउसी भैलोको सुरुवात
१४ अांै शताव्दीमा राजा बलिहाङलाई एकरात सपनामा मृत्युको दिव्य ज्ञान भएपछि जनतालाई बोलाएर आफूलाई मृत्युको दिव्य ज्ञान प्राप्त भएकाले कार्तिक महिनाको औसीको रातमा मृत्यु हुने बताएछन् । राजाले आफ्नो मृत्युपछि पनि नयाँ राजा र रैतीहरु मिलेर बस्नु भन्ने सन्देश दिएछन् । यो सन्देश थाहा पाउनासाथ सारा जनताहरु राजाको मृत्य ुहुने चिन्ताले शोकमग्न भएछन् र रुँदै कराउँदै हजुरलाई कसरी बचाउन सकिन्छ भन्दै राजालाई बिन्ती चढाउन पुगेछन् ।
आफूहरुलाई स्वर्णीम जिन्दगीमा राखेका आफ्ना प्रिय राजाको मृत्युको खवरबाट आकुल व्याकुल भएका जनताहरुले बिन्ती गरेपछि राजा बलिहाङले यमराजको प्रार्थाना गर्न भनेछन्् ।
जनताहरुले बलिराजालाई मृत्युबाट बचाउनका लागि यमराजसंग बलिराजाले पठाएको फाईलो भन्दै लामो समयसम्म प्रार्थना गरेछन् । फाईलोको अर्थ प्राचीन भाषामा बचाउनुहोस् हो । सबै जनताले फाईलो भट्याउँदै घरघरमा रातिको समयमा बत्तीको उज्यालो राखेर यमराजको प्रार्थना गर्न थालेछन् ।
राजालाई मृत्युको दिव्य ज्ञान प्राप्त भएको समय अनुसार काल लिन आउँदा बलिराजालाई बचाउनुहोस् भन्दै जनता भोकभोकै बसेर प्रार्थना गरेको देखेपछि कालको समेत मन फिरेको लोकइतिहास भेटिन्छ ।
राजालाई लिन आएको काल जनताहरुले फाईलो भन्दै राजालाई नमार्न शोकाकुल कहालीलाग्दो अवस्थामा प्रार्थना गरेको भेटेपछि राजालाई प्राण दिएको समेत लोकइतिहासमा लिपिबद्ध रहेको छ ।
मृत्युको मुखमा पुगेर बाँचेका राजाले मृत्युदान प्राप्ति पछि जनतालाई ३ दिनसम्म खुसीयाली मनाउन आदेश दिएकाले त्यस दिन देखि जनताहरुले घरघरमा झिलीमिली बत्ति बालेर मिठो मसिनो खाएको समेत इतिहासकारहरु बताउँछन् ।
जुन अहिले तिहारमा मनाइने पर्व त्यस बेला देखि सुरुवात भएको भन्दै इतिहासकारहरुले आंैशीको दिनदेखी बत्ती बालेर भाईटिकासम्म दिदीबहिनीहरुले दाजुभाईलाई टीका लगाईदिएको, सेलरोटी, मासु र जाडँरक्सी पिएर रमाईलो गरेको समेत बलिहाङ राजाको लोकइतिहासमा भेटिन्छ ।
बलिराजाको दीर्घायुको कामना गर्दै त्यही बेलादेखि देउसी भैलो खेल्न सुरु गरिएको हो । त्यतिबेला खुसीयालीमा सोरठी नाँच, दिउसी भैलो र तिहार पर्व मनाउन सुरु गरिएको देखिन्छ । पुरानो फाईलो फाईलो भन्ने शव्द अपभ्रंश भएर अहिले भैलो भएको समेत विभिन्न इतिहासकारहरुको अध्ययनले देखाएको छ ।
यसैको निरन्तरताका लागि अहिले त्यसक्षेत्रमा जन्मिएका युवाहरुको समाज पाल्पा बल्ढेङगढी समाज रुपन्देहीले दिउसी भैलोलाई निरन्तरता दिएको हो ।
भत्किँदै बलिराजाको दरवार
तीन सय बर्ष लामो शासन सञ्चालन गरेका बलिराजाको बंशको राजधानी रहेको बलिहाङगढी हालको रैनादेबी छहरा गाउपालिका अन्तर्गत बल्ढेङगढीको चुचुरोमा पर्ने दरवार अहिले भग्नाशेष अवस्थामा रहेको छ ।
संरक्षणको अभावले दरवार भत्किएर पुरानो इतिहास समेत मेटिने अवस्थामा पुगेको छ । अहिले पनि दरवारको वाल, इनार, चौकिल्ला, गुफा, रानि बनहरु सुरक्षित नै रहेको छन् ।
सैनिकहरुले प्रयोग गरेका पुराना परेड ग्राउण्ड देखि सुरुङ मार्ग र मोर्चाहरु समेत बलिराजाको दरवार क्षेत्रमामा भेटिन्छन् ।
दरवार हातामा पुरानो कुवारीको मन्दिर समेत रहेको छ । जुन मन्दिरमा त्यस क्षेत्रमा बासिन्दा देखी रुपन्देही र अर्घाखाची वाट समेत भक्तजनहरु पुजाआज गर्न आउने गरेका छन् ।
यस दरवारको संरक्षणको लागी स्थानियहरुले बहिहाङगढी क्षेत्रबिकास समिति गठन गरेका छन् भने जिल्ला बाहिर रुपन्देहीमा बस्ने बल्ढेङगढी बासीले डिबि कार्कीको नेतृत्वमा पाल्पा बल्ढेङगढी समाज रुपन्देही गठन गरेर प्रारम्भिक कामहरु शुरु गरेका छन् ।
सरकारी क्षेत्रवाट भने यसको बिकासका लागी कुनै सहयोग प्राप्त हुने गरेको छैन । नत स्थानिय राजनितिक दलका नेताहरुले यसको बिकासका लागी पहननै गरेका छन् । निर्वाचनका बेला बिभिन्न प्रलोभन पारेर भोट बैंकको रुपमा यहाँका जनतालाई प्रयोग गरेपनि पर्यटनको प्रचुर सम्भावना बोकेको यस क्षेत्रको प्रचार प्रसार र बिकासका लागी राजनितिक क्षेत्र वाट सहयोगको अपेक्षा यस दरवारले गरेको छ ।

 

SHARE