सूरु भयो छठ

35

बुटवल कार्तिक ८
श्रद्धा भक्तिपूर्वक सूर्यदेवको आराधना र पूजा गरी मनाइने छठपर्व सुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा ब्रतालुहरु हिजोदेखि नै स्नान गरी चोखो खाएर बसेका छन् ।
ब्रत बसेको दिनबाट छठपर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ । मनोकाङक्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । छठपर्वको मुख्य दिन हुने छठ पूजाको लागि अघिल्लो दिन निर्जल उपवास बस्ने गरिन्छ । छठपूजाका लागि रुपन्देहीका छठ पोखरीहरु सिंगारिएका छन् ।
सन्तानप्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्न मनाइने छठ पर्व मंगलबारबाट विधिवत् रुपमा सुरु भइसकेको छ । छठ पर्व बिहीबार अस्ताउंदो सूर्य र शुक्रबार उदाउंदो सूर्यलाई अर्घ दिएर सकिने छ ।
छठ पुजाका लागि भैरहवामा नेपाली सेनाको २ नं. ग्यारिजन गण अवस्थित छठीमाई पोखरी र गल्लामण्डी स्थित श्रीराम जानकी हनुमान मन्दिर परिसरमा रहेको छठ पोखरीलाई चिटिक्क सिंगारिएको छ । यस्तै जिल्लाको बुटवल र अन्य ग्रामिण क्षेत्रहरु बेथरी, बनगाई, धकधई, बेलहिया मर्चवार, लुम्बिनी लगायतका क्षेत्रमा पनि छठ पोखरी झकिझकाउ पारिएको छ ।
छठपुजामा आउने भक्तजनहरुको सहजताका लागि सचिवालय निर्माण गरि महिला, पुरुषको छुट्टाछुट्टै प्रवेशद्वारा, प्राथमिक उपचार केन्द्र, पिउने पानीको व्यवस्था र सुरक्षाका लागि सिसी क्यामेरा समेत जडान गरेको श्रीराम जानकी हनुमान मन्दिर छठ पोखरी उपसमितिका संयोजक चन्द्रमणि पाठकले बताउनुभयो ।
छठ पर्व नेपाल र भारतका उत्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ ।
यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन रहेको श्रीराम जानकी हनुमान मन्दिर छठ पुजा व्यवस्थापक समितिका संयोजक भैरव कलवारले बताउनुभयो ।
पवित्र मनले छठ पर्व मनाउंदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ ।
तराईमा बसोबास गर्ने मधेशी समुदायले मात्र मनाउँदै आएको यस पर्वलाई पछिल्ला बर्षहरुमा पहाडी मूलका समुदायहरुले समेत मनाउने गरेका छन् । यसले गर्दा एक धर्म र जातीले अर्को धर्म र जातीको पर्ब तथा संस्कारलाई उच्च सम्मान दिंदै एकताको सन्देश समेत दिएको छ ।

SHARE