रुपन्देही क्रिकेट संघको अध्यक्षमा पुनः मल्ल

7

 

भैरहवा कार्तिक ७
क्रिकेटको विकास गरेर रुपन्देही जिल्लालाई खेल पर्यटनका रुपमा अघि बढाउन सकिने भैरहवामा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् ।
रुपन्देही क्रिकेट संघको मंगलबार भैरहवा भएको तेस्रो जिल्ला अधिवेशनमा बोल्ने बक्ताहरुले राष्ट्रिय क्रिकेटमा रुपन्देहीको लामो समयदेखि महत्वपूर्ण योगदान रहेको र पूर्वाधार विकाससंगै जिल्लालाई खेल पर्यटक भित्राउने गरि राम्रो सम्भावना रहेको दाबी गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङले मोफसलमा रुपन्देही हरेक खेलमा अगाडी रहेको भन्दै पूर्वाधारका काममा सरकारले अब समयमा नै लगानी गर्नुपर्ने बताउनुभयो ।
स्थापनाको छोटो समयमा नेपाली क्रिकेटले अन्तराष्ट्रिय स्तरमा पहिचान बनाएको भन्दै उहांले क्रिकेटको विकासमा सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै निलम्बन अवधिमा समेत जिल्लाले नमुना काम गर्न सफल भएको बताउनुभयो ।
आफ्नो पहलमा सिद्धार्थनगरमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदानको माष्टर प्लान बनाउनुका साथै निर्माणको काम समेत भएको बताउनुभयो । पाच वर्षमा पुरा हुने गरि काम शुरु भएको मैदानमा दुईवटा पिच र दुईवटा साईड स्क्रिन थप्ने गरि काम भईरहेको छ ।
कार्यक्रममा सिद्धार्थनगर होटल एशोसियसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, संघका संस्थापक अध्यक्ष प्रेम कुमार सेन्चुरी, नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य आशा गुरुङ, अनुप थापा, लायन्स क्लब अफ भैरहवाका अध्यक्ष रबिन्द्र शर्मा लगायतले खेल पर्यटक भित्राउने काममा समेत क्रिकेटबाट सम्भावना रहेको भन्दै यसका लागि सबै लाग्नुपर्ने बताउनुभयो । रुपन्देहीको क्रिकेटको योगदानलाई सरोकारवालाहरुले सम्बोधन गर्नुपर्ने उनिहरु बताउछन ।
रुपन्देही क्रिकेट संघको आगामी वर्ष २०७४÷२०७६ का लागि प्रशान्त विक्रम मल्लको अध्यक्षतामा १५ सदस्यीय नयां नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा धिरज अधिकारी, कोषाध्यक्षमा निरज प्रताप खांण र महिला सदस्य कविता गौचन सर्वसम्मत चयन हुनुभएको छ ।
संघको सचिव र बांकी सदस्य भने निर्वाचनबाट चयन गरिएको छ । जिल्लामा हाल २४ वटा क्लबहरु रहेका छन । जसमा आवद्ध राष्ट्रिय÷अन्तराष्ट्रिय खेलाडी, कार्यसमिति सदस्य, पूर्व खेलाडी गरि ८३ जना रहेका छन् ।

SHARE