तिहार किन मनाउन थालियो? (के हो यथार्थ?)

13

उत्तरकुमार पराजुली

तिहारको अर्को नाम यमपञ्चक पनि हो । यो कसरी चाडपर्वका रूपमा मनाउने संस्कार स्थापित भयो भन्ने सन्दर्भ यस्तो छ । दाजुभाइ दिदीबहिनीमा भएको बेमेल, आपसी ईष्र्या र डाहाले समाजमा कहित्यै शान्ति स्थापना गर्न नसकिएकोे कुरा विद्वान् राजा बलिले राम्ररी बुझेका थिए । आपसी मेलमिलापको नीतिले नै बलिराजा समृद्धिको चुलीमा पुग्न सकेका थिए । उनी सुर, असुर, दैत्य, दानवजस्ता साम्प्रदायिक सोचबाट माथि उठी “वसुधैव कुटुम्वकम्” को विश्व भ्रातृत्वको सोच लिएर अगाडि बढिरहेका थिए । जब वामनले बलिराज्य छिन्नभिन्न पारे बलिद्वारा स्थापित भ्रातृत्व मिलनको संस्कार पनि बिस्तारै मलिन हुँदै गयो । हुँदा हुँदा बलिले वामनसित बाचा गरेको पाँच दिने भ्रमणको बेलामा पनि पृथ्वीमा रमझम कम हुँदै गयो ।

यमराज ती पाँच दिन तिहार मनाउन सधै गोवत्स द्वादसी अर्थात् कार्तिक कृष्ण द्वादसीका दिन आफ्नी बहिनी यमुनाकहाँ जान्थे । एक वर्ष भने उक्त गोवत्स द्वादसीका रातीसम्म पनि दाइ यमराज घरमा नआउँदा यमुनालाई निकै पीर प¥यो । अनि अर्को दिन तिरादसीको बिहानै कौवालाई बोलाएर आफ्नो निम्तो लिएर दाजु यमराजकहाँ पठाइन् । यमराज यमलोकको विभिन्न कामकाजको झमेलाले बहिनीकहाँ जान पाएका थिएनन् । बहिनीको निम्तो लिएर आको कौवालाई देखेर यमराज निकै खुुसी भए । यमराजले कौवालाई मीठा मीठा खाना खान दिई “लौ बस सँगै” जाउँला भने । कौवा यमलोकमै बसे ।
उता यमुना आत्तिन लागिन् । न कौवा फक्र्यो न दाजु नै आए । अर्को दिन चतुर्दसीका दिन कौवालाई जस्तै गरी कुकुरलाई निम्तो पत्र दिएर दाजु यमराजकहाँ पठाइन् । यमराजले कुकुरलाई पनि कौवालाई जस्तै गरी बस सँगै जाउँला भने ।
कौवा र कुकुर दुवै नफर्केपछि यमुना अझ आत्तिइन् । उनले कार्तिक कृष्ण औँसीका दिन बिहानै गाईलाई निम्तो पत्र दिइन् र दाजु यमराजकहाँ पठाइन् । यमराजले गाईलाई पनि कौवा र कुकुरलाई जस्तै गरी बडो मानमानितो गरी बस्न लगाए र सँगै जाउँला भने ।
कौवा, कुकुर र गाई पनि नफर्केपछि कार्तिक शुक्ल प्रतिपदाका दिन पहिलेजस्तै गरी गोरुलाई निम्तो पत्र दिइ लौ कसै गरे पनि मेरो दाजु यमराजलाई लिएर आउनू भनी यमलोक पठाइन् । गोरु डुव्रmँदै यमराजको दरबारमा पुगे । गोरुले ल्याएको बहिनी यमुनाको निम्तो पत्र देखेर यमराज निकै खुसी भए । बहिनी निकै आत्तिइन् जस्तो मानेर यमराजले गोरुलाई लौ आज आराम गर भोलि बिहानै जाउँला भने ।

अर्को दिन कार्तिक शुक्ल द्वितीयाको दिन कौवा, कुकुर, गाई र गोरुसहित भएर यमराज बहिनी यमुनाकहाँ गए । यमुना निकै खुसी भइन् । उनले कौवा, कुकुर, गाई र गोरुलाई भनिन्— हेर, तिमीहरूको ठूलो परिश्रमले मेरा दाइ आज मेरा घर आउनुभयो । तिमीहरू धन्य छौ । आगामी दिनमा कार्तिक कृष्ण तिरादसीमा कौवाको, चतुर्दसीमा कुकुरको, औँसीमा गाईको र कार्तिक शुक्ल प्रतिपदाको दिन गोरुको जसले पूजा गर्छ त्यो आयु आरोग्य, धन धान्य र यश ऐश्वर्यले भरिपूर्ण भई सुखी होला । आज हामी दुईभाइनाको जस्तै सुखद मिलन होला । यसै कारणले अर्को वर्षदेखि कौवा, कुकुर, गाई गोरुको पूजा हुन लाग्यो । द्वितीयाका दिन यमराज आफ्नी बहिनी यमुनालाई भेट्न गएको दिन भनेर यस दिनलाई यम द्वितीया भन्न लागियो । यम द्वितीयाका दिन दिदी बहिनीका हातको टीका लगाउने व्यक्तिको त्यस वर्षको अकाल मृत्युको भय टर्छ भन्ने लोक मान्यता रहेको छ ।

एक अर्को लोक कथनअनुसार यमराज यमुनाका घर जाँदै गर्दा आफ्नो सिकिस्त विरामी दाजुलाई भेट्न भनी एक महिला जाँदै थिइन् । ती महिलाले यमराजसँग भनिन्— हे यमराज, हे कालका पनि काल महाकाल, हजुर यति खुसी हुँदै आफ्नी बहिनी भेट्न जाँदै हुनुहुन्छ । म भने मेरा दाजुको मुख भेट्न पाउने हुँ कि हैन भन्दै दसधारा रुँदै हिडिरहेकी छु । दाजु बहिनीको मिलन कति आह्लादकारी हुन्छ भन्ने कुरा मैले हजुरलाई भनिरहनु पर्दैन । हामी पनि हजुरहरूका दुईभाइनाजस्तै खुसी हुन चाहान्छौँ । कृपा गरेर मेरा दाजुको मृत्यु टारिदिनुहोस् ।
आफ्ना दाजुको अकाल मृत्यु टारिदिन बलिन्द्र धारा आँसु बगाएर अनुनय विनय गरेको देखेर यमराजलाई दया लाग्यो । अनि यमराजले भने— हे बहिनी, तिम्रो आफ्ना दाइप्रतिको अगाध माया देखेर म निकै प्रभावित भएँ । तिम्रो दाइको आयु सिद्धिएकोले धेरै आयु थप्न त सकिन्न । तर जाऊ, तिम्रो दाइलाई पूजा गरेर फूलको माला लगाइदिनू । त्यो फूलाको माला नओइलिएसम्म तिम्रो दाइलाई कुनै खालको मृत्युले दगा गर्ने छैन ।
तब ती महिला खुसी हुँदै दाजुको घर गइन् । दाजु निकै सिकिस्त थिए । उनले झटपट दाइको पूजा गरिन् र मखमली फूलको माला लगाइदिइन् । यमराजको बाचाअनुसार त्यो कहिल्यै नओइलिने मखमली फूलको माला लगाएपछि ती सिकिस्त विरामी दाइको रोग निको भयो र धेरै समयसम्म बाँचे । त्यसैले आज पनि तिहारमा मखमलीको मालाको विशेष मान्यता राखिन्छ ।
अर्को एक भनाइअनुसार यो तिहार पर्व श्रीराम चौध वर्ष वनवास भुक्तान गरी अयोध्या फर्केपछि यही कार्तिक कृष्ण औँसीका दिन राज्यारोहण गरेको खुसीयालीमा सुरु भएको हो भन्ने पनि गरिन्छ । दीपावली, आतिसबाजी, जूवा फुक्ने जस्ता कुरा राजाको विशेष खुसीयालीका अवसरमा गरिने भएकोले त्यही सम्झनामा तिहार पर्व चल्दै आएको अनुमान पनि वास्तविकताका नजिकै देखिन्छ । फेरि दुई वा दुईभन्दा बढी सन्दर्भ एउटै तिथि मितिमा नहुने भन्ने पनि त हुँदैन । जे होस् ।

बलिराजा यो पाँच दिन(तिहार) यहाँ घुम्न आउँछन् भनी उनले राज्य छाड्दाजस्तै उज्यालो राम्रो, हाँसी, खुसी देखाउन राम्रा कपडा लगाउने, पशुपंक्षीलाई माया, स्याहार गर्ने, द्वारमा बत्ती बाली उज्यालोे राख्ने, घरहरू सिँगार्ने, नाचगान रमाइलो गर्ने गरिन्छ । भैलो र द्यौसीले बलिलाई साँच्चै आफूले छोड्दाको जस्तै झझल्को आउँछ ।बलि आउँछन् हेर्छन्, आफूले छा्ड्दा जस्तो छोडेथे उस्तै रहेको रहेछ भन्दै खुसी हुँदै फर्कन्छन् । तर हामी पाँच दिनको ठसकको लागि अजम्मरी ऋण बोक्छौँ र बलिको ध्वस्त भएको राज्य सम्झी पछुताउँछौँ । यो तिहार त्यस्तै पर्व हो जसरी हामी पितृ कार्यका दिन खुसी मनाउँछौँ। आफ्ना अग्रजको मृत्युको त्यो दुःखद दिनलाई सम्झँदै निम्तारुलाई खुसीसाथ स्वागत गरी खानपिन गराउँछौँ । खुशी साटासाट गर्न भेटघाट गर्न मेलाको कामले झमेला नहोस् भनेर यी पाँच दिन मेलाको काम केही गर्नुहुन्न, खेतीबालीमा पसे जमजुते(यमदूत)ले सह लैदिन्छ भनिन्छ । यसले सबैलाई विन्दास भएर तिहार मनाउन सघाएको छ ।
जब बलिको यज्ञ भङ्ग भै उनी धपिए, यहाँको राज्य व्यवस्थापन बिग्रदैँ गयो । समाजमा धनी र गरिबबीचको धाँजा फराकिलो हुँदै गयो । सो स्थिति खस्कँदै हामी आजको स्थितिमा आएका छौँ । हिन्दुहरूमा रहेको स्वस्थ सत्ता सञ्चालनमा गरिने कुटिल षडयन्त्र र खुट्टा तानातानको यो पुरानो परम्परा त तिहारले देखाइरहेको छ जसमा राजा बलिको बलिदानीपूर्ण गाथा हामी गाइरहेका छौँ सदाचार भने सिक्न सकिरहेका छैनौँ ।

SHARE