कसरी गाउँन थालियो तिहारमा द्यौसी भैलो ?

8

उत्तरकुमार पराजुली

हिन्दुहरूले मनाउने तिहार(दीपावली) पर्व फागु(होली) पर्वको नाति हो । दसैं फागुभन्दा एक जन्मले नै कान्छो छ । भनेपछि दसैँभन्दा तिहार पक्कै जेठो ठहरिन्छ । हामी नेपालीहरू किन दसैंलाई जेठो तिहारलाई माहिलो र फागुलाई कान्छो तरिकाले मनाउँछौ त भन्ने कुरा गर्नु अघि यी पर्व कसरी जेठा कान्छा भए भन्नेतर्फ ध्यान दिनु आवश्यक छ  ।

फागु पर्व सत्ययुगीन हिरण्य कश्यपुका छोरा प्रह्लाद र बहिनी होलिकासंग सम्बन्धित छ । होलिका भस्म भएको खरानी उडाउँदै मनाउन सुरु गरेको पर्व हो होली । प्रह्लादका नाति बलिका पालामा सुरु भएको पर्व तिहार भएकोले यसलाई फागुको नाति भनिएको हो । उता हिरण्यकश्यपु मरी अर्को जन्ममा रावण भई राम–रावण युद्धमा रामले विजय प्राप्त गरेदेखि सुरु भएको भनिने दसैँ, फागु र तिहारभन्दा एक युगले नै कान्छो देखिन्छ ।

कुरो दानवीर बलिराजका पालाको हो, अर्थात् सत्य युगको । बलिराजले यही भूखण्डमा राज्य गर्थे । उनी धेरै मेहेनेती र गुणी थिए । उनको अठोट बडो बेजोडको थियो । आफ्ना देशवासीललाई आत्मनिर्भर, स्वावलम्बी बनाएर देशलाई स्वर्गको उपाधि दिलाउने उनको दृढ इच्छा थियो । त्यसबेला देशवासीका आधारभूत आवश्यकता पूर्ति गर्ने क्रमअनुसारका सय यज्ञ(कर्यक्रम) सम्पन्न गरेपछि देशले स्वर्गको उपाधि पाउँथ्यो र भूमण्डलमा त्यसको मर्यादा साह्रै विशिष्ट हुन्थ्यो । कुनै राजा चक्रवर्ती हुन खोज्दा पनि स्वर्ग उपाधि प्राप्त देशमा चढाइ गर्न हुँदैनथ्यो । बलि पनि देशलाई स्वर्ग बनाउने यज्ञमा लागे । उस बेला यज्ञ भनेको आजको जस्तो जौ, घ्यू पोल्ने खालको यज्ञ हुँदैनथ्यो । बलि पनि देशलाई स्वर्ग बनाउने यात्रामा लागे । जनताका आधारभूत आवश्यकता प्राथमिकता क्रमअनुसार परिपूर्ति गर्दै जाने कार्यक्रम नै यज्ञ थियो । गास, बास, कपास, शिक्षा, स्वास्थ्य, पानी, उज्यालो, बाटोघाटो, कुलो, नहर आदिको योजना गणित, ज्योतिष, प्रविधिका ज्ञाता आचार्य शुक्र गुरुले मिलाउँथे । राजा बलिले माथि उल्लेख गरिएजस्ता उनान्सयौं यज्ञ गरिसकेपछि स्वर्ग पदवी दिलाउने सयौँ यज्ञ दानपारमित यज्ञ गर्ने तयारी भयो । यसमा देश देशावरका राजा महाराजालाई आफ्नो देशको प्रतिनिधित्व जनाउन आउनै पथ्र्यो र आएका पनि थिए । अरूको उन्नतिप्रगति देख्न नचाहनेहरू डाहाले छटपटाइरहेका थिए । दानपारमित यज्ञ यस्तो यज्ञ हो जसमा कोही याचक(माग्ने)ले मागेको कुरा यज्ञका आयोजकले दिनैपथ्र्यो तर याचकले आफ्नो आवश्यकताको औचित्य भने साबित गर्नुपथ्र्यो । माग्नेले आफ्नो मागको औचित्य साबित गरेर पनि यज्ञकर्ताले माग पूरा गर्न नसके यज्ञ भङ्ग हुने नियम थियो ।

बलिको देशमा त त्यस्तो दुःखी, गरिब कोही थिएन । बाहिरी देशबाट आउनेहरूले मागेबमोजिम पु¥याउनु पर्ने मात्र थियो  । त्यसमा पनि शुक्राचार्यका शिक्षाबाट दीक्षित भएका चेलाहरू सबैतिर चेवा, चर्चा सुन्ने विश्लेषण गर्ने र त्यसको निचोड गुरुकहाँ आई भन्ने गर्थे । यस्ता निचोडबाट विद्वान् शुक्रले थुपै्र कुरा प्रक्षेपण गरी भैपरीआउने कुरालाई सहजै निम्टारा लगाउन योजना गरिहाल्थे ।

दान पारमित(दानबाट पूर्णता प्राप्त गर्ने) यज्ञ हतपति गरिने, सुनिने खालको यज्ञ नभएकाले शुक्राचार्यले यज्ञको बेलीबिस्तार लगाउँदै सबै निम्तारुलाई स्वागत गर्दै भने– महाराजा बलिको दानपारमित यज्ञमा सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत छ । दानवराज बलिको अदम्य अठोट र हामी सम्पूर्ण देशबासीको लगनशीलताले हामी यहाँसम्म आइपुगेका छांै । आजदेखि पाँच दिनसम्म उपस्थित हुने जोसुकैले पनि आफूलाई इच्छा लागेको कुरा माग्न सक्छ तर सो मागेको वस्तु आफ्नै प्रयोजनका लागि हुनुपर्ने(कसैलाई दिन, नास्न नपाइने) र मागको औचित्य सावित गरेपछि तुरुन्तै पाइने छ । जस्तो कसैले एकसय हात्तीको इच्छा ग¥यो भने ती हात्ती चाहिनुको कारण, हात्ती पाल्ने  योजना, सो योजनाबाट आपूm, आफ्नो समाजलाई हुने फाइदा आदिको तर्कयुक्त जवाफ दिनुपर्नेछ । त्यस्तै कोही ब्राह्मणले देश माग्यो भने उसको आचार विरुद्धको माग भएको हुनाले प्राप्त हुन सक्ने छैन तर सोही कुरा कुनै क्षेत्रीले मागे प्राप्त हुनेछ । विदेशबाट पाल्नुभएका कुटनीतिक नियोगका महानुभावहरूले हाम्रो देशले पूरा गरिसकेका उनान्सय यज्ञहरूको सूचक परीक्षण गर्न  र सोसम्बन्धी आवश्यक सोधपुछका लागि हामी हरबखत तयार रहेको कुरासमेत सहर्ष जानकारी गराउँछु । धन्यवाद ।

यज्ञको अन्तिम दिन चलिरहेको थियो । बलिको यज्ञ कसै गरे पनि भङ्ग नहुने छाँट देखिएपछि देउताले विष्णुलाई जोगीको भेषमा सिंगारेर सो यज्ञमा पठाए । शुक्राचार्यले यो कुराको चाल पाइसकेका थिए । तर अत्यन्तै सम्वेदनशील घडीमा निधिखुदी पार्दा इज्जत हल्का हुने डरले भन्न सकेका थिएनन् । विष्णुले तीन पाइला जमिनको माग गरे । विष्णुलाई औचित्य सावित गर्न लगाइँदा उनले भने– एक पाइलामा म बसुँला । अर्काे पाइलामा मैले पढ्ने पुस्तक राखुँला । अर्को पाइलामा पूजा तथा खाना सामग्री राखुँला ।

ठीक छ भनी बलि सङ्कल्पको तयारीमा लागे । गणितज्ञ शुक्राचार्यले पाइला भनी लम्बाइको नापको कुराले मात्र एक आयामिक हुन्छ । यस्तो अवस्थामा जमिनको क्षेत्रफल हँुदैन । चौडाइको यकिन नगरी सङ्कल्प हुन सक्दैन । चौडाइको समेत नाप खोलिनु आवश्यक छ भनी सङ्कल्प रोके । गुरुको कुराको गाम्भीर्यतालाई वास्ता नगरी भिक्षुकले चौडाइ कति पो लेलान् र ! यिनले भनेबमोजिम दिउँला भन्ने सोची बलिले वचन दिइहाले । तब पनि शुक्राचार्य निश्चित नापको लागि कुरा राख्दै थिए । बलिले गुरुका हातको कुश र खोस्न पुगे । कुशले घोचेर शुक्राचार्यको आँखै फुट्यो । अर्को बाहुन बोलाई सङ्कल्प भयो । सङ्कल्प भएपछि विष्णुले(त्यहाँ भेषधारी वामन) जग्गा नाप्न लागे ।

चौडाइ नतोकिएको हुनाले एक पाइलाको नापले घुमाईघुमाई नाप्दा(गणितीय तर्कले) एउटा गोलाद्र्ध सिद्धियो । अर्को पाइलाले अर्को गालाद्र्ध पनि सिद्धियो अर्थात् पृथ्वी नै सकियो, बलिको सम्पूर्ण राज्य सिद्धियो । अनि विष्णुले सम्पूर्ण राज्य सिद्धियो तेस्रो पाइलाका लागि कहाँ नापूँ देही शिर भन्न थाले । सोहीमुताविक बलिले वामनलाई टेक्ने ठाउँको रूपमा टाउको थापिदिए र पातालबासी बन्न पुगे । गुरुको वचनको वेवास्ता गर्दा बलिले आफ्नो राज्य गुमाए । विष्णुका पक्षधरहरूले देही शिर देही शिर(टाउको ले, टाउको ले) भनी चिच्याउन थाले । बलिका पक्षहरूले विष्णुलाई भेल भेल(मूर्ख, काँतर) भन्न लागे । तिनै शब्दहरू आज पनि द्यौशिरे, देउसीरे, भैली, भैलोका रूपमा गाइँदैछ । यसरी दुई परस्पर विरोधी पक्षको रिसको आवेगमा गरेको भनाभन पनि पछिपछि त सबैले रमाइलो गरी भन्ने थालियो । यस्तै यस्तै हुन्छन् संस्कार संस्कृतिका रमाइला पक्षहरू ।

SHARE