संस्मरणका तरङ्गहरु

19

गुरुदत्त ज्ञवाली

समय कति छिटो परिवर्तन भयो अचम्म लाग्छ ।  हामीलाई त   जादुको खेल झैं लाग्छ भने हाम्रा बा आमालाई कस्तो लागे होला । एउटा कमिज फेर्न नसकिएको , कट्टु नलगाइकन ठुलै उमेरसम्म निर्बाह गरिएको , टालेको लुगा लगाएर राम रमिता हेर्न गइएको , जुत्ता चप्पल त हाई स्कूल प्रवेश नगर्दा सम्म खुट्टामा नपरेकाजस्ता कुरा सामान्य लाग्दथ्यो ।
हुन त हाम्रा बाउ बाजेका पालामा लामो अवधिसम्म एउटै संस्कार र विकासको गति थियो जस्तो लाग्छ । उही भैंसी किन्नु , बेच्नु , खेति गर्नु , बटौलीको बजारबाट नुन तेल गर्नु । यदाकदा कोही लाहुर जानु ,सरकारी जागिर खानु यी त अपबाद जस्तै लाग्दथ्यो यद्यपि देश चलाउन यी सब कुरा हुन्थे जो सहर वा सदर मुकाममा हुन्थे । जे होस यस्तो लाग्दथ्यो हामी यस धर्तिमा सामान्य जीवन बाँच्नकालागि जन्मेका थियौँ र त्यही जीवन मर्नुलाई सफल जीवन मान्दथ्यौँ अथवा श्वर्ग प्रस्थानमा सफलता मान्दथ्यौँ । लाग्दथ्यो ठूला बडा मान्छे  हामी भन्दा फरक बीउका हुन् फरक विश्वका हुन् । हामीले शायद यो सोंचेनौँ हामी पनि फेरिन्छौँ , हामीले पनि पढ्छौँ ,जागिर खान्छौँ , राजनीति गछौं ।
हाम्रा पालामा , हाम्रोको मतलव करीब ६०।७० बर्ष यता समयले निकै फड्को मारेको पाइन्छ । भिरबाटो पीच बाटो भयो , खाली खुट्टाले जमिन छुन छोड्यो , पाजी काजी भयो , संसार आँगन भयो , छोइ छिटो हरायो , बर्जु बराजु हरायो, पोडेभा, चमारभा , गायनभा , यस्ता कसम हराए । मैले मेरा कुरा मात्र गरेको छु । यसको अर्थ सबै भयो वा भएन भन्ने होइन तर अकल्पनीय कुरा फटाफट परिबर्तन हुँदैगएका छन् यही अचम्म लागेको छ ।
टेर्लिङ्ग कमिजको चलन चल्ने  बित्तिकै बेलैमा लगाउन नपाएर डाँको छाडेर रोएको ज्यान हो । त्यही टेर्लिङ्ग कमिजले मिच्छिएर पालो नपाएर रोएको ज्यान पनि यही हो । २ जोर लुगा धेरै सम्म जानिएन , अल्ली पछि , राख्ने र फार्ने २ जोर लुगा हुँदा भुइंमा खुट्टा हुन्नथे खुशीले । धेरै टाढा किन जाने ? मैले हाइ स्कुल पढेको भार्से गुल्मीमा हो । ०३१ सालमा भार्सेका लाहुरेका छोराले बाहेक कसैको खुट्टामा पाइण्ट हुन्नथ्यो जुत्ता चप्पल त कुरै छाडौं । म तराईबाट पढ्रन गएको हुंदा पाइण्ट लगाउन सिकेको थिएँ अरु साथीले खिसी गरेकाले हाफपाइण्ट लगाएर जान थालें । खिसी पनि स्वाभाविक थियो । पछि सबैमा बानी प¥यो पाइण्ट लगाउन थाल्यौं तर करीब २५ प्रतिशतले मात्र । भार्सेली मगर साथीहरुले भने खिसी गर्दैन्थे , खासगरी भार्से इतर हामी बाहुन छेत्री वा मगरमै पनि यो अवस्था थियो ।
०२८ सालमा मैले हलो जोतेँ , बाहुनको छोरो त्यो पनि उपाध्याय बाहुनले हलो जोत्दा मान्छे अचम्म पर्थे ।  अहिले जोत्न हुन्न भन्दा अचम्म पर्छन् । सानै छँदा एक दिन बाटोमा एउटा झोला भेटाएँ । त्यो झोला खुमे कामी नामका मान्छेको  रहेछ । त्यही झोलामा किताब राखेर स्कुल जान्थेँ । कामीको झोलामा बाहुनले किताब राख्यो भनेर सबले खिसी गरे । म संग अर्को झोला थिएन र सहें । संयोगले खुमेकामीले ले त्यो झोला देखे , मलाइ निकै डर लाग्यो झोला खोस्छन्  कि भनेर , तर उनी त खुशी पो भए । मैले भए भैंसीको मासु राख्ने थिएँ बाबुको हातमा परेर मेरो झोलामा किताबको बास भयो उनले भने । म त खुशी भएँ भएँ म भन्दा खुमे कामी झन खुशी भए । त्यसपछि उनले मलाइ धेरै माया गर्न थाले ।
०२८ सालकै कुरो हो, हाम्रो बसाइ कपिलबस्तुको गजेहडा ९ भक्तौलियामा थियो । ३ जना साथी भागेर लाहुर हिँड्यौं जस मध्ये एक जना मगर अर्का कामी र म थियौं । बाटोमा बास बस्दा कामी साथीको कारणले कतै बास पाइएन । एक ठाउँ त मगर र म घर भित्र बास पाएर बस्यौ. कामी साथी बाहिर सुते । भोलि पल्ट उनलाइ पनि मगर बनायौं , बाग्लुङ्गे कामीको अनुहार पनि मगर जस्तै थियो । उनी अहिले कपिलबस्तुमै छन् नाम यम बहादुर बिश्वकर्मा हो , थकाली पनि भन्छन् । त्यसरी हामीले धेरैको जात फालिदियौं यद्यपि यो समस्या आज पनि छ तर पातलो  छ ।
०३५ साल तिरको कुरो हो , घरमा १ मानाको  ब्यवबस्था थियो  ४ बिघा खेत थियो , पिपरा जनता नि मा बि मा पढाउंथेँ तर खुट्टामा जुत्ता थिएन हवाई चप्पलले काम चलेको थियो । पढाइको शिलशिलामा काठमाण्डु जानु पर्ने भयो जुत्ता छैन , किन्ने पेैसा पनि छैेन , पोखराको बाटोे , बस भाडाको रेट ३५ रुपियाँ थियो शायद जान आउन र कामको पैसा पाइयो , बाटामा भात खाने र काठमाण्डुमा बस्नु पर्दाको समेत पैसा थिएन । मैले तलब बुझेको थिइन अन्य स्रोत थिएन । उपाय नलाग्ने भए पछि  एकजना छिमेकी संग महिनावारी ५ रपियाँ ब्याजको दरमा रु २०० ऋण काढेँ र जुत्ता किनेँ  , बाटामा चिया खाएँ होटलमा पनि बसेँ , रमाइलो कुरो त टेक्सी चढेँ  । लाग्यो म त ठूलो मान्छे पो भएँ । मलाइ आज पनि अचम्म लाग्ने कुरा भनेको छिमेकीले १ महिनाको लागि  २०० को रु १०  ब्याज लिए । मान्छे भन्दा पनि समाजको रुप कस्तो रहेछ ? अझ अचम्मको कुरो त हिसाब भन्दा १ पैसा बढी नदिने आफ्नै अभिभावकको  कुरो । यो एउटा घरको कुरो न भै सामाजिक चिन्तनको कुरो हो ।
समाजमा गरीब भन्दा गरिबीको समस्या जटिल थियो र छ पनि । पैसा छ खर्च गर्दैन र दूख देखाउँछ । पैसा छ औषधि गर्दैन ,छोरा छोरी पढाउन्न , राम्रो लुगा लगाउन्न , सफाई गर्दैन , ।भएको अन्न बस्तु राम्ररी बनाएर मीठो मुखले खान्न । पैसा सँगाल्छ तर कि त संपत्तिको नाममा जग्गा जोड्छ वा यस्तो पनि देखियो कि पैसा छानामा घुसार्छ वा पोको पारेर लुकाउँछ पछि पैसा मुसालेकाटेको अथवा कुहेको अवस्थामा भेटिन्छ । त्यसबेला उ पुर्पुृरो समातेर रुनु सिवाय अरु उपाय हुन्न । यो समस्याबाट म पनि पिडित भएँ । रमाईलो त त्याहाँ देखिन्छ कि पैसा छैन भन्छ , धेरै काम पैसाको अभावले बिग्रेको पनि हुन्छ र पैसा चोरिँदा वा हराउँदा टाउको ठोकेर रुन्छ । त्यस बेला अरु सदस्यले खुशी मान्ने कि पीर मान्ने ? अझ रमाईलो त मैले जससंग ऋण काढेर छोरा छोरी पढाएँ वा औषधोपचार गरेँ ,उसका छोरा छोरी पैसैका अभावले पढाउन नसकेकोमा  दरिद्रता छिरलिएको देखियो । यस्तो लाग्छ लगानी डुबेकोमा उसले सहन्छ तर सन्ततिले पढ्र्दाको खर्चले मानसिक बिरामी हुन्छ । सन्तान मरेको सहन्छ  तर उपचारमा हुने  थोरै खर्च संझेर पुर्पुरो ठोकेर रुन्छ ।
समाजमा यस्तो पनि देखियो कि स्नेहले हो वा कञ्जुस्याइंले हो संततिलाइ प्रगति गर्न नदिने । ए बा पढ्रन जान्छु , नजा .. ए बा लाहुर जाछु , नजा.. ए बा जागिर खान जान्छु , नजा… ए बा ब्यापार गर्छु , नगर , ए बा यो गर्छु । अहिले  केही नगर …. ए बा मेरै हिसाबले खेति गर्छु , पर्दैन मैले गर्छु नगर …. । त्यसो भयो भने त्यो छोराले के गर्छ ? पागल हुन्छ वा आत्महत्या गरेर मर्छ । यी हाम्रा आँखा सामुन्नेका उदाहरण हुन् । मानौ छोरो कठपुतली हो वा पिण्ड पानीको लागि मात्र जन्माइएको हो । पिण्डपानीकै लागि एक दर्जन छोरी जन्माउने कथित  विद्वानहरु छोराहरुकै दुष्टताले अल्पायुमै मृत्य ुशैयामा कहराई रहेको दृष्य त मानसपटलबाट हटाउन चाहेर पनि हटेका छैनन् ।
भुत प्रेत मैले मान्दिन , यसलाइ मान्नु केवल मानसिक कारण हुन सक्छ भन्ने पनि थाहा छ  तर बाल्यकालमा परेको प्रभाव मेटिँदै मेटिन्न । सानो छँदा भुत आयो , गुजी आयो , लाम्काने आयो , मसान आयो भनेर डराउन दिइएको कुराको प्रभावले बेला बेलामा झस्काउँछ । अन्यत्र यसको प्रभाव खासै पर्दैन , रिडी र ग्वादी ओहोर दोहोर गर्दा बाटोमा तालखोलो पर्दछ । खोलो कालीगण्डकीमा जोडिएको ठाउँलाई तालदवाईँ भन्दछन् शायद दोभान भनेको होला । त्यो ठाउँ त्यस छेत्रको दाह संस्कार गर्ने ठार्उँ हो  । त्यस मानेमा त्यो ठाउँ मसान घाट हो र नजिकै मुलबाटो छ जहाँ मोटर बाटो समेत पर्छ । रात बिरात त कुरै छाडौँ साँझ पख त्यो बाटो हिँड्नु पर्दा जिउ सिरिङ्गै हुन्छ । २ बर्ष पहिले बुटवलबाट ग्वादी जाँदा त्यस्तै प¥यो । साँझ झमक्क परेको थियो जानै प¥यो , एक छिन कुरेँ, साथी पाइन्छ कि भनेर । ब्यर्थ भयो झन् अंध्यारो भयो । मनमा मनोविज्ञानको , भौतिकवादको , आत्मबलको , माक्र्सवादको र अचेलको माओवादकोसमेत बल झिकेर तालुमा राखेँ अनि बिरौटा भन्ने ठाउँबाट निर्दिष्ट बाटो लागेँ । मसानघाटनिरै पुग्दा मुटु ढक्क फुल्यो , सास रोकेँ पाइला लम्काएँ र आफ्नैमनलाइ ठग्दै उकालो चढेँ । मसान घाटमा हिँड्दा पछि फर्कन हुन्न छल्छ भन्ने सुनेको थिएँ , एकैचोटी माथी डाँडामा पुगेर बल्ल रोकिएँ । डर कम भयो ,मन ढुक्क भयो र सोचेँ वाइघातको अन्धबिश्वाास मान्छेले किन पाल्छ कुन्नि ?  म त त्यस्तो मान्छे होइन ।
गफ गर्छ मान्छेले । माक्र्सवाद पढ्छ , निल्छ तर माक्र्सवाद सित डराउँछ , विज्ञान पढ्छ विज्ञान सितै डराउँछ , भौतिकवाद चपाउँछ र पनि भौतिकवाद सित थर्थरी काँप्छ । त्यस्तो हुदो रहेछ । मान्छेले पैसा कमाउँछ पैसासित डराउँछ गरिबीसंग पनि मान्छे डराउँछ  । यसो सोँचेँ मैले पनि , म अलिकति डराएँ त के भयो ? लाग्छ मेरो मात्र होइन धेरै मान्छेको पाको अवस्थामा पनि बालकपन गएको हुँदोरहेनछ । त्यसैले त नेताहरु जनताको भन्दा पनि आफ्नै छायाँ संग डराउने रहेछन् जस्तो कि बाघ संग लड्ने मान्छे झुसिल्किरा संग डराऊँछन् ।
हाम्रा पुर्बजहरु मध्ये कति बर्मा गए , भारतको आसाम गए , देहरादून गए , भुटान गए , शिलाङ्ग गए तर पनि संस्कार फेरिएन । जहाँ गए  पनि उही जङ्गल फाँड्ने , ,खेति गर्ने , गाई पाल्ने र तल्लो तहको नोकरी गर्ने मात्र काम भयो । काम प्रतिको अपमान होइन , संस्कार परिवर्तन गर्ने वातावरणको बिकाश भएन फलस्वरुप आज सम्म हामी विश्वको मानचित्रमा पछि परेका छौँ । यसको मुख्यकारण हो दासमनोबृत्ति । हाम्रो इतिहासले बीर गोर्खाली , बीर नेपाली जे भने पनि हाम्रा पुर्बजहरु राजतन्त्रीय जञ्जालबाट कहिल्यै मुक्त हुन सकेनन् । राजाको हितमा राजतन्त्रको हितमा बलिदानी दिंदा शासकले बीर भनेर योद्घाको नाक फुलाईदिइए ता पनि त्यो बीरताले न जनताको कतै कल्याण भएको इतिहास छ न त सिपाहीकै । त्यसको प्रभाव आज सम्म परैकै छ उदाहरण हेरौँ , सारा युवा सक्ति रोजगारीको नाममा विश्व चहारेका छन् । यो हाम्रो चेतनाको बिकाशको संकेत होइन बरु दासत्वको अवशेष हो । यो दुर्गुण आजको संदर्भमा सब भन्दा बढी सरकारको हो ,शासकको हो । जसरी मैले माथि उल्ल्ेख गरेँ कि बच्चामा परेको हाउगुजी , भुत प्रेतका कथा वा हामीलाई तर्साउने , डराउन दिने तरिकाको प्रभावले हाम्रो जीवन भरि मुक्त हुन धौ धौ परेको छ , सताब्दियौँ अझ सहस्राब्दियौँ देखिको कुसंस्कार हटाउन त आधुनिक बैज्ञानिक शिक्षा  शक्ति माथि बिश्वाँस भएको । यो कुरा आजका युवाले बुझ्न जरुरी छ ।

SHARE