मेल ामा मम्मी डान्स आईडलको तयारी

24

भुवन कार्की
बुटवल । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले आयोजना गर्न लागेको राष्ट्रिय औधोगिक कृषि तथा पर्यटन प्रबद्र्धन प्रदर्शनी २०७४ मा आमाहरुको नृत्य प्रतियोगिता ( मम्मी डान्स आईडल ) हुने भएको छ । बुटवलको बुटवल मण्डपमा कात्तिक ८ गतेदेखि १८ गतेसम्म संचालन हुन लागेको प्रदर्शनीमा विवाहीत छोराछोरी पाएका आमाहरुले नृत्य प्रतियोगितामा भाग लिन पाउने भएका हुन् । 
यो मम्मी डान्स आईडल प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था समेत गरिएको मेलाका सांस्कृतिक संयोजक गोविन्द गैरेले जानकारी दिनुभयो । प्रतियोगिताको प्रथम पुस्कार यमाहा कम्पनीको स्कुटर राखिएको छ भने दोस्रो पुरस्कार ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ४० हजार तथा सान्त्वना पुरस्कारको समेत व्यवस्था गरिएको गैरेले बताउनुभयो ।
यस्तै प्रदर्शनीमा खुल्ला गायन प्रतियोगिता पनि गरिने आयोजकले जनाएका छन् । सांस्कृतिक संयोजक गैरेका अनुसार खुल्ला गायन प्रतियोगितामा प्रथम हुनेलाई यमाहा कम्पनीको स्कुटर दोस्रो हुनेलाई ६० हजार रुपैयाँ र तेस्रो हुनेलाई ४० हजार रुपैयाँको पुरस्कार राखिएको छ ।
उक्त मेलामा विषेश आकर्षणको लागि कुस्ती खेल समेत आयोजना गरिने प्रचारप्रसार समितिका संयोजक यमलाल मरासिनीले जानकारी दिनुभयो । मेला अवधिमा तीन दिन कुस्ती प्रतियोगिता हुने छन् । जसमा भारतीय महिला र पुरुष पहलमानहरुको छुट्छुटै कुस्ती प्रतियोगिता हुने मरासीनिले बताउनुभयो । मेलामा भलिवल प्रतियोगितमा समेत गर्ने तयारी गरिएको उहाँले उल्लेख गर्नुुभयो ।
कात्तिकको ८ गते मेलाको उद्घाटन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल आउने कार्यक्रम रहेको मेला मूल आयोजक समितिका संयोजक खेम श्रीसले जानकारी दिनुभयो । १० दिनसम्म चल्ने मेलामा कृषि, पर्यटन तथा औधोगिक उत्पादनका स्वदेशी तथा विदेशी बस्तुहरुको प्रदर्शनी गरिनेछ । दैनिक उपभोग्यबस्तु, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, औधोगिक मेशिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, अटोमोवाइल्स, सूचना प्रविधि तथा इलोक्ट्रनिक्स, टेक्सटाई, गार्मेन्ट तथा फुटवेयर, फर्निचर तथा फर्निसिङका समग्री, बैंक तथा वित्तीय, होटल तथा रेष्टुरण्टको प्रदर्शनी गरिने आयोजकले जनाएका छन् ।
मेला अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरुले दर्शकलाई भरपुर मनोरञ्जन दिनेछन् भने वाल उद्यात तथा पिङ खेलेर पनि दर्शकले मनोरञ्जन लिनेछन् ।

SHARE