दुईपटक उद्घाटन गरिएको सेज अझै संचालन भएन

12

दिनेश  पाण्डे
बुटवल, असोज २०
स्थापना भएको झण्डै दुई दशक सम्म पनि भैरहवास्थित विशेष आर्थिक क्षेत्र सेज संचालन हुन सकेको छैन । तामझामका साथ दुईपटक सम्म उद्घाटन गरिएको सेज संचालनमा ढिलाई हुंदा आलोचना हुन थालेको छ ।
सेजको अन्य काम सम्पन्न भएपनि विद्युत् आपूर्ती हुन नसक्दा दर्ता भएका उद्योग संचालन हुन सकेका छैनन् ।
लामो समय ऐन नबन्दा संचालनमा अन्यौलता रहेकोमा ऐन बनेपनि ठेकेदार कम्पनीको ढिलासुस्तीले विद्युत् आपूर्ती हुन सकेको छैन । समितिका इन्जिनियर भट्टराईले सेज संचालनको मुख्य समस्या विद्युत् भएको र अबको ५÷६ महिनामा विद्युत् आपूर्ती हुने दावी गर्छन् ।
यता नेपाल बिद्युत प्राधिकरण भैरहवा बितरण केन्द्रले आफूहरुको कारणले नभई ठेकेदारका कारणले सेजमा विद्युत् लैजाने काम सुस्त गतिमा भईरहेको बताएको छ ।
प्राधीकरण भैरहवा वितरण केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले ठेकेदारका कारण ढिलाई भएको बताउंछन् । ठाकुरले अबको २÷४ महिनामै सेजमा विद्युत् उपलब्ध हुने बताए ।
सेजका लागि हाई भोल्टेजको ३३ केभीए डबल सर्किट ट्रान्समिसन लाईन चाहिन्छ । तर यतिबेलै ३३ केभीए लाइन सेजमा पुग्छ भनेर कुनैपनि निकायले ग्यारेन्टी दिन सकेका छैनन् । बरु सरकारी निकाय र ठेकेदार कम्पनीले विभिन्न बहानाबाजी गरिरहेका छन् ।
बढ्दो व्यापार घाटा कम गर्न भन्दै सरकारले १७ वर्ष अघि निर्यातजन्य उद्योग स्थापना गर्ने उद्देश्यले सेजको निर्माण थालेको हो । निर्माण थालेको ५ वर्ष भित्र सम्पन्न गर्ने भनिएपनि करिब ११ वर्ष लाग्यो ।
निर्माण संगै उद्योगीहरु उत्साहित भएपनि सरकारी निकायको समन्वय र उदासिनताका कारण सेज संचालनमा आउन सकेको छैन ।
२०७१ सालमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र उद्योगमन्त्री महेश बस्नेतले सेजको संयुक्त रुपमा उद्घाटन गरेका थिए । जुनबेला संचालन त परै जाओस्, लगानी तथा सेवासुविधा सुरक्षाका लागि उद्योगीले राखेको पहिलो शर्त सेज ऐन समेत थिएन । दुईबर्ष पछि २०७३ मा सेज ऐन आयो ।
त्यस लगत्तै उद्योग स्थापना गर्न आवश्यक विद्युतको व्यबस्था बिना सोही बर्ष फागुनमा तत्कालिन उद्योगमन्त्री नविन्द्रराज जोशीले दोस्रो पटक सेजको उद्घाटन गर्दै संचालन भएको घोषणा गरे ।
मन्त्रीहरुले आफ्नो पालामा काम भएको देखाउन दुईदुई पटक उद्घाटन गरिएको सेज अझै संचालनमा नआउंदा त्यहां दर्ता भएका उद्योग संचालन हुन सकेका छैनन् ।
सेज संचालनमा नआउंदा उद्योगीहरुमा अत्यन्तै निराश छाएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष राजेशकुमार अग्रवाल बताउंछन् ।
अत्यन्त उत्साहका साथ उद्योग दर्ताका लागि प्रस्ताव दर्ता गरेका उद्योगीहरु पनि अन्यौलमा परेका छन् । ५२ विगाहा क्षेत्रफल र ६८ वटा प्लटहरू रहेको सेजमा हालसम्म १९ उद्योग दर्ता भएसंगै ६० वटा प्लटहरूले आफ्नो स्थान पक्का गरिसकेका छन् । बांकी रहेका ८ वटा प्लटमा एकदुईवटा मात्रै उद्योग राख्न मिल्ने सेज विकास समितिका इन्जिनियर लक्ष्मण भट्टराईले बताए ।
यहां स्थापना हुने उद्योगले पांच बर्षसम्म आयकर छुट, कच्चा पदार्थ तथा मेशिनरी उपकरणको आयातमा तिरेको मूल्य अभिवृद्धि कर फिर्ता पाउनेछन् ।
बैंक, इन्स्योरेन्स, उत्पादित बस्तुको प्रदर्शनी हल, सेमिनार हल, चाइल्ड केयर सेन्टर, विद्यालय, हुलाक, स्वास्थ्य चौकी, मनोरञ्जन स्थल लगायतका सुविधा सेज भित्रै उपलब्ध हुनेछ । जुन सुविधाले पनि उद्योगीहरुलाई सेजप्रति आकर्षित गरेको थियो ।
छालाजन्य, जडिबुटी जन्य, फलफुलजन्य, प्लाष्टिक जन्य, इलेक्ट्रिक, गार्मेन्ट जस्ता १७ किसिमका निर्यातजन्य उद्योगले स्थापनाका लागि स्वीकृत पाउने छन् । यसरी स्थापना हुने उद्योगले आफ्नो ७५ प्रतिशत उत्पादन विदेश निर्यात गर्नुपर्ने प्रावधान रहेको छ ।
सेजमा कम्तीमा २ करोड स्थिर पूंजी भएका व्यवसायीले मात्र उद्योग खोल्न पाइने व्यवस्था गरिएको इन्जिनियर भट्टराईले जानकारी दिए ।
सेजमा हालसम्म चेतनशील मल्टी प्रपोज एग्रो प्रा.लि., महेन्द्र कुमार गोयल (रेडिमेट गार्मेन्ट), सिद्धार्थ पेट प्लाष्ट इण्डष्ट्रिज प्रा.लि. (पि फर्म), सिद्धार्थ पेट प्लाष्ट इण्डष्ट्रिज प्रा.लि. (पिभिसी म्याट), आरूङखोला बहुउद्देश्यीय उद्योग प्रा.लि., जगदम्बा सेन्थेटिक्स प्रा.लि., एक्सन पोलिमर्स प्रा.लि., हुलास स्टिल इण्डष्ट्रिज प्रा.लि., सुगम नानो हर्बल इण्डष्टिज प्रा.लि., श्याम कुमार लोहिया, किरण शुज मेनुफ्याक्चर्स, इन्टरटेक पाइप एण्ड फिटिङ, सरोज श्रेष्ठ गार्मेन्ट उद्योग, हिमालयन एग्रो बिजनेश, एसियन थाइ फुड, मिनरल वाटर उद्योग, आइ.डि.एस. इलेक्ट्रिक प्रा.लि., इन्स्टेन्ट नुडल्स एण्ड एलाइड इण्डष्ट्रिज प्रा.लि., ट्रन्स हिमालय ब्रेभरेज प्रा.लि. गरी १९ वटा उद्योगहरूले दर्ता प्रस्ताव गरेका छन् ।
११ वर्ष लागाएर बल्लतल्ल निर्माण सम्पन्न गरिएको सेजको संचालन हुने कुनै छाटकाट छैन । दुईदुई पटक उद्घाटन गरिएको सेज भित्रका कार्यालय र सेवा भवनका भित्तामा लेउ र घांस उम्रिएको छ । भवन चुहिन थालेका छन् ।
सडक, ढल जस्ता संरचना मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् । राष्ट्रिय प्राथमिकतामा परेको यो आयोजना अलपत्र पर्दा यसक्षेत्रका उद्योगीहरु निराश बनेका छन् ।
पूर्वाधार पुरा नहुंदै लोकप्रियताका लागि उद्घाटन गरेका मन्त्रीहरु काठमाडौ फर्किएपछि अन्तर सरकारी निकायसंग समन्वय गरी प्रतिबद्धता अनुरुप सेजको काममा तदारुकता नदेखाउंदा सेज स्थापना र उद्घाटनमै सिमीत बनेको छ ।

 

SHARE