सरकारी लार्पवाहीले नेपाली परियोजनामा नेपाली उत्पादन बञ्चित

14

दिनेश पाण्डे
बुटवल असोज १६
राज्यको निती दोहोरो र अष्पष्ट हुदा जतिसुकै ठुला परियोजना बने पनि नेपाली सिमेन्टको प्रयोग हुन पाएको छै्रन । सिमेन्टमा नेपाल आत्मनिर्भर हुन लागेको भनिएपनि कुनैपनि नेपाली सिमेन्टले ग्रेड नंम्वर नपाउदा यस्तो समस्या आएको हो ।
नेपाली सिमेन्टहरुमा अहिलेसम्म पनि नापतौल तथा गुणस्तर बिभागले नेपाली ओपिसी र पिपिसी सिमेण्टलाई ग्रेड नम्बर लेख्न नदिंदा ठुला राष्ट्रिय गौरवका परियोजनाहरुमा नेपाली सिमेण्ट प्रयोग गर्ने अनुमती छैन ।
भारतीय सिमेन्ट कम्पनीद्धारा निर्मीत सिमेन्ट र नेपाली सिमेन्टको गुणस्तरमा कुनै अन्तर छैन, तर भारतीय सिमेन्टले ग्रेड उल्लेख गरेकै कारण नेपालका परियोजनाहरुमा बेच्ने अनुमती पाउछ तर सोही गुणस्तरको नेपाली सिमेन्ट भने ग्रेड उल्लेख गर्न नपाएका कारण बेच्न नपाएको गुनासो नेपाली सिमेन्ट उद्योगीहरुको छ ।
स्वदेशी योजना तथा सरकारी कार्यालयमा सम्भव भएसम्म १० प्रतिशत महंगो भएपनि स्वदेशी बस्तुको प्रयोग गर्नु भन्ने सरकारी नीति छ । तर सरकारकै अर्को निकाय नेपाल गुणस्तर तथा नापतौल बिभागले ग्रेड नम्बर लेख्न नदिएकै कारण मुलुकमा सञ्चालित ठुला आयोजनाहरुमा स्वदेशी सिमेण्ट प्रयोगमा आएको छैन ।
खासगरी दातृ निकाय एशियाली बिकास बैंकको आर्थिक सहयोगमा निर्माण हुने परियोजनाहरुमा ४३ वा ५३ ग्रेडको सिमेण्ट प्रयोग गर्नुपर्ने शर्त हुन्छ । यस्तो ग्रेड नम्बर नापतौल तथा गुणस्तर बिभागले लेख्न नदिंदा ठुला परियोजनामा भारतीय सिमेण्ट प्रयोग हुंदै आएको छ ।
नेपाल उद्योग बाणिज्य महासंघका सदस्य राजेशकुमार अग्रवालले नेपाली सिमेन्टमा सरकारले ओपिसी र पिपीसी मात्रै लेख्न दिएकाले ग्रेड नहुंदा धेरै ठूला आयोजनामा भारतीय सिमेन्टको प्रयोग भएको बताए ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण परियोजनाका प्रमुख ओम शर्मा पनि नेपाली सिमेण्ट जतिसुकै गुणस्तर भएपनि बैदेशिक लगानीमा निर्माण हुने ठुला आयोजनाहरुमा सम्झौतामै निर्माणमा प्रयोग हुने सिमेण्टको ग्रेड नम्बर तोकिएका कारण भारतीय सिमेण्ट प्रयोग हुंदै आएको बताउछन ।
एडिबीको लगानी रहेको विमानस्थल निर्माण परियोजनामा ग्रेड ४३ ग्रेड ५३ उल्लेख गरिएको सिमेन्ट प्रयोग गर्नुपर्ने उल्लेख गरिएको भएपनि केहि मात्रामा नेपाली सिमेन्ट प्रयोग गरिएको उनले बताए ।
नेपाली सिमेन्ट उद्योगीहरुले पनि सुरुको उत्पादन बर्षहरुमा ग्रेड नं लेख्ने गरेकोमा सरकारले भारतीय उद्योगीहरुको दवावमा ग्रेड उल्लेख गर्न नदिएको एक उद्योगीले बताए ।
ग्रेड नम्बर लेख्न नपाउंदा एकातर्फ राष्ट्रिय गौरवका आयोजनाहरु जहां ठुलो परिमाणमा सिमेण्टको खपत हुन्छ, त्यहां स्वदेशी सिमेण्ट प्रयोग कम हुने गरेको छ भने अर्कोतर्फ ग्रेड नपाएका कारण नेपाली सिमेण्ट कम गुणस्तरका हुन् की भन्ने उपभोक्तामा भ्रम श्रृजना गरेको गुनासो सिमेन्ट उत्पादक उद्योगीहरुको छ ।
ग्रेड नम्बर प्रणालीलाई लागु गर्नेसके स्वदेशमै उत्पादन हुने सिमेण्टको गुणस्तर समेत उपभोक्तालाई थाहा हुने र यसले सिमेन्ट उद्योगहरुबीच नै गुणस्तरमा प्रतिस्पर्धा ल्याउने तर्क उद्योगीहरुको छ ।
अहिले सबै सिमेन्ट उद्योगबाट उत्पादन हुने सिमेण्टलाई एउटै मापदण्डमा राखेर गुणस्तर विभागले गुणस्तर चिन्ह मात्र दिने गरेको छ । यसले नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइरहेका बेला ठुलो आयोजनामा विदेशी सिमेन्ट प्रयोग हुंदा उद्योगीहरुमा निराशा आउने सम्भावना बढ्दै गएको छ ।
रुपन्देहीमा मात्रै करिब १ दर्जन सिमेन्ट उद्योग संचालनमा छन् भने यी उद्योगहरुमा करिब ५० अर्ब बढी लगानी गरिएको छ । जिल्लामा अहिले बेलहिया बुटवल व्यापारिक मार्ग, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, अन्तराष्ट्र्रिय सम्मेलन केन्द्र लगायत राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेका छन् ।

SHARE