अलपत्र पर्यो दुग्ध चिस्यान केन्द्र

25

 

तानसेन असोज १३
पाल्पा, गुल्मी, अर्घाखांची, स्याङ्जा, पर्वत लगायत जिल्लाका किसानलाई लक्षित गरी पाल्पामा निर्माण शुरु गरिएको चिस्यान केन्द्रको निर्माणकार्य अलपत्र परेको छ ।
तानसेन वुटवल सडक खण्डको १ किलोमिटर भित्र तानसेन नगरपालिका वडा नं. ७ बाघखोरमा निर्माण भईरहेको चिस्यान केन्द्रको निर्माण कार्य विगत ३ बर्ष देखी रोकिएको छ ।
भारतीय राजदुतावासको आर्थिक सहयोगमा निर्माण शुरु भएको कोल्ड स्टोरको करीव २५ प्रतिशत काम मात्र सम्पन्न भएपनि विगत ३ बर्षदेखी निर्माण कार्य रोकिएपछि यस क्षेत्रका किसानहरुमा निराशा छाएको छ ।
यस क्षेत्रमा तत्काल बजारमा खपत हुने भन्दा बढि उत्पादन भएका तरकारी, फलफुल, अदुवा, दुध लगायतका कृषि उत्पादनलाई व्यवस्थित रुपमा भण्डारण गर्न किसानहरुको माग अनुसार चिस्यान केन्द्र निर्माण शुरु गरिएको थियो ।
भारतीय राजदुतावासले सम्झौता अनुसारको रकम निकासा नभएको भन्दै निर्माण कम्पनीले चिस्यान केन्द्रको काम विचमै छाडेको हो । निर्माण कम्पनीले करीव १ करोड बराबरको काम गरिसकेको जनाएको छ ।
तानसेनमा चिस्यान केन्द्र निर्माण कार्य शुरु भएकोमा उत्साहित बनेका किसानहरु निर्माण कार्य रोकिएपछि अन्यौलमा परेका छन् । नगरपालिकाले जसरी भएपनि यो काम पुरा गर्नुपर्ने किसान माधव प्रसाद भट्टराईले बताए ।
३३ फिट अग्लो, २६ मिटर लम्बाई र १४ मिटर चौडाइ, २ हजार टन क्षमता रहेको चिस्यान केन्द्र निर्माणको लागि ४ करोड २५ लाख रुपैयांमा सम्झौता भएपनि अहिले लागत बढेर गएको छ । निर्माण सम्झौता म्याद सकिएपनि रकम निकासा नहुंदा काम रोकिएको हिमडुङ एण्ड थोकर र जयरक्तकाली जेबी निर्माण कम्पनीले जनाएकोे छ ।
पुर्वाञ्चलका विभिन्न जिल्लामा निर्माण भएका चिस्यान केन्द्र राम्ररी प्रयोगमा नआएको अवस्थामा तानसेनमा निर्माण भईरहेको कोल्ड स्टोर पनि प्रयोगमा नआउने बहाना बनाउदै भारतीय राजदुतावासले सम्झौता अनुसारको रकम दिन आनाकानी गर्दै आएको छ ।
यस क्षेत्रमा कृषि उत्पादनलाई व्यबसायिक बनाउने उद्देश्यले चिस्यान केन्द्र जरुरी रहेकोे किसानहरुले बताएका छन् । जनप्रतिनिधी निर्वाचित भएपछि तत्कालै तानसेन नगरकार्यपालिकाले चिस्यान केन्द्र निर्माणकर्ता ठेकेदारलाई काम गर्न ताकेता गरेको नगरप्रमुख अशोक कुमार शाहीले जानकारी दिए ।
त्यस क्षेत्रमा तरकारी दुध र मासु जस्ता उत्पादनमा आत्मनिर्भर भई बाहिरी जिल्लामा निकासी गर्दै आएकोले किसानकै मागमा आधारित रहेर कोल्ड स्टोर निर्माण थालिएको हो ।
कोल्ड स्टोरमा राखिएका उत्पादनको बजार बुटवल देखी छिमेकी भारत सम्म निर्यात गर्न सकिने अवस्था रहेकोले कोल्ड स्टोर पुर्णरुपमा संचालन हुने देखिएको छ ।
अलपत्र अवस्थामा रहेको निर्माणाधिन कोल्ड स्टोरलाई पुरा गराउनको लागी जिल्ला तहदेखी मन्त्रालय तहबाट समेत आवश्यक पहल गर्नुपर्ने देखिएको छ ।

 

SHARE