दशैमा खानपानमा ध्यान दिनुस् ः चिकित्सक

10

बुटवल असोज १२
दसैंको नजिकिएको छ । दशैमान्न देश बिदेशका बिभिन्न स्थानबाट घर जाने क्रम पनि बढिरहेको देख्न सकिन्छ । रातो टीका र जमराको पर्वको रूपमा चिनिने दसैंमा खानपानको पनि उत्तिकै महत्व छ ।
दसैं भन्नेबित्तिकै मासुको कुरा आईहाल्छ । दसैंमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरू पनि भेटिन्छन् । त्यसैले दसैं या अन्य चाडबाडमा मासु र अरू खानेकुराको मात्रा नमिल्दा स्वस्थ मानिस पनि बिरामी हुने गर्छन् ।
भेटघाट, रमाइलो भन्दा पनि स्वादको पछाडि लागेर खानपिनमा सामान्य ध्यान नदिंदा धेरै जना दसैंका समयमा अस्पतालमा पुग्ने गर्छन् ।
खानपिनमा सामान्य ध्यान नदिदा दसैंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडावान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको संख्यामा पनि उल्लेख्य वृद्धि हुन सक्छ ।
एकै पटक धेरै मासु पकाएर धेरै दिनसम्म खांदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केही पौष्टिक पोषण नपाइने चिकित्सकहरू बताउंछन् ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खांदा मुटुको समस्या संगै क्यान्सरको खतरा समेत बढ्ने हुंदा मासु खाएपनि थोरै मात्रा र कमतेलमा पकाएर खान सुझाव दिनुहुन्छ ।  
स्वास्थ्यको लागि मासु भन्दा माछा उपयुक्त हुने भएकोले माछा सेवन गर्न उहांको सुझाव छ । त्यसैगरी शाकाहारी व्यक्तिहरुले पनि चाडपर्वमा धेरै चिल्लो खानेकुरा नखान र खानामा सागपात, फलफुल र गेडागुडीको प्रयोग गर्न सुझाव दिनुभयो ।
च्याउ स्वास्थ्यको लागि लाभदायक मानिने उहांको भनाई छ । अनियन्त्रित खानपानले शरीरमा अतिरिक्त बोसो जम्मा भई मधुमेह र मुटुको समस्यालाई बढावा दिने भएकोले खानपानमा ध्यान दिन उहांले आग्रह गर्नुभयो । 

SHARE