उपभोक्ता ठग्ने मासु ब्यवसायीको मासु नष्ट

13

बुटवल असोज १०
बजार अनुगमन समितिले बुटवलका केही मासु पसलहरु मंगलबार अनुगमन गरेको छ । चाडपर्व लागेसंगै अनुगमन थालेको समितिले बुटवलको भुड्कि चोक र कृषि उपज केन्द्र पश्चिम तर्फका मासु पसल अनुगमन गरेको हो ।
भुड्कि चोकमा रहेको ताहिर मासु पसल र समिर माछा मासु पसलले बारम्बार सुधार गर्न चेतावनी दिएपनि नसुध्रिएको भेटिएपछि १८ के.जी बाख्रिको मासु र १० केजी माछा बरामद गरी नष्ट गरेको छ ।
अनुगमन समितिले एकै स्थानबाट बाख्रिको मासु विक्रि गरेको तथा सरसफाई बिना नै माछा विक्रि गरेकाले मासु र माछा बरामद गरी नष्ट गरेको हो ।
पशुपंक्षी विकास शाखा बुटवल उपमहानगरपालिकाका पशु चिकित्सक झविन्द्र बञ्जाडेले चाडपर्वको समयमा बढि खपत हुने मासु पसलहरुको अवस्थाका बारेमा जानकारी लिन अनुगमन गरेको र अनुगमन गर्दा ताहिर र समिर मासु पसलले लापरबाही गरी मासु विक्रि गरेकाले कारबाही गरेको बताउनुभयो ।
समिर माछा मासु पसलमा भने अनुगमन समितिले शिल गरेको छ । पटक पटक अनुगमनको क्रममा समिर माछा मासु पसलले अटेर गरी व्यवसाय सञ्चालन गरेकाले अनुगमन समितिले मासु पसल शिल गरेको हो ।
बुटवल उपमहानगरपालिकाका कार्यकारी प्रमुख भरतमणी पाण्डेको संयोजकत्वमा भएको अनुगमनका क्रममा कृषी उपज केन्द्रको पश्चिम तर्फका मासु पसलमा तारजाली लगाउन निर्देशन दिईएको छ ।
पहिलेको तुलनामा मासु पसल सुधार भएको भएपनि सरसफाईमा भने व्यवसायीले त्यति ध्यान नदिएको अनुगमन समितिको निष्कर्ष छ ।
ईलाका प्रशासन कार्यालय बुटवलका शाखाका शाखा अधिकृत धुब्र नेपाल, बुटवल उपमहानगरपालिकाका बरिष्ठ अधिकृत बिजयदेव भुर्तेल, पशु सेवा प्राविधिक गोविन्द खनाल, मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्णकुमार पौडेल, उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष तेज कुमार पाठक, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डे लगायतको टोलीले मासु पसल अनुगमन गरेको हो ।
यता व्यवसायीहरले भने बुटवलमा निर्माण रहेको पशु बधशाला सञ्चालनमा नआउदा मासु व्यवस्थापनमा कठिन भएको बताएका छन् । मासु व्यवसायी संघका संस्थापक अध्यक्ष मोहन बहादुर शाहीले बजार अनुगमनमा समिती आएपनि मासु काटमार तथा ढुवानीका लागि सहज हुने बधशाला सञ्चालन नहुंदा सम्म समस्या दोहोरिने बताउनुभयो ।
बुटवलको रामनगरमा ३ बर्ष अघि निर्माण सम्पन भएको बधशाला राजनितीक खिचातानी तथा कर्मचारीको ईच्छा शक्तिको अभावमा सञ्चालनमा आउन सकेको छैन ।

SHARE