दैनिक ५ सय टन अष्ट्रिजको मासु बजारमा ल्याउने तयारी

28

बुटवल भदौ ३१
रुपन्देहीको तिलोत्तमा वडा नं. २२ गंगोलियामा रहेको अस्ट्रिज नेपाल प्रा.लिले यस बर्षको दशैका लागि दैनिक ५ सय टन मासु बजारमा ल्याउने तयारी गरेको छ ।
अन्य समयमा दैनिक ५ सय के.जी विक्रि वितरण गर्दै आएको प्रा.लिले दशैमा मात्र ४ सय देखि ५ सय टन मासु बजारमा लैजाने तयारी गरेको बताएको हो । यो अन्य समयको तुलनामा ८ गुणा बढि हो ।
प्रालीका प्रवन्ध निर्देशक सिपी शर्माले नेपाली बजारमा खसीकै मुल्यमा अष्ट्रिजको मासु बजारमा पठाउन लागिएको बताउनुभयो । गतबर्ष ५० हजार खसीबोका बराबरको मासु बजारमा पठाएको प्रा.लिले अन्य समय भन्दा सस्तो र खसीको मासुको मुल्यको तुलनामा पनि सस्तो मुल्यमा अष्ट्रिज र ईमोको मासु उपलब्ध गराउने तयारी गरेको उहांको भनाई छ ।
अष्ट्रिजको मासु अत्यन्त स्वस्थकर रहेको जनाउंदै चिकित्सकहरुको परिक्षण पछि मात्र डिफ्रिज गरीएको मासु बजारमा पठाईने शर्माको भनाई छ ।
अहिले रुपन्देहीको सुर्यपुरा र गंगोलियामा मासुका लागि तयार भएका अष्ट्रिज दशैंको लागि कटिङ गर्न शुरु गरिएको छ । अष्ट्रिजको मासुको मुख्य बजार काठमाडौं रहेको भएपनि सबै जिल्लाहरुमा मासु पुगेको प्रालीले बताएको छ ।
अन्य मासुको तुलनामा अष्ट्रिजको मासु स्वस्थकर रहेको, चिल्लोपना नहुने र सबै विरामीहरुका लागि खान मिल्ने भएकाले पनि दशैमा विशेषतः अष्ट्रिजको मासु खानुपर्ने निर्देशक शर्माको भनाई छ ।
दुईबर्ष अघि २ हजार रुपैया प्रतिकेजी मूल्यमा बिक्री गरिएको बोनलेस यसवर्ष १४ सय ९० रुपैया र बोनसहितका लागि प्रतिकेजी ८ सय ९० रुपैयां मात्र निर्धारण गरिएको छ ।
क्यान्डरलेनको २५ सय तथा रेडनमको प्रतिकेजी ९ सय रुपैया रहेको छ । २०६४ सालमा १५ सय अण्डा र केही अष्ट्रिज गरी १५ करोड रुपैयाको लागतमा सञ्चालनमा आएको फर्ममा अहिले ७ हजार अष्ट्रिज रहेका छन् भने ३ अर्ब लगानी भईसकेको छ ।

SHARE