गुल्मीमा बांदर आतंक

12

 

गुल्मी, भदौ ३०

गुल्मीका किसानहरुलाई बांदर आतंकले सताएको छ । अहिले जिल्लाका धेरैजसो गाउंका किसानहरु घरमा बस्न पाउंदैनन् । रात परेसंगै घरबाट निस्किएका किसान रातभर खेती जोगाउन बारीमै बस्नु पर्ने बाध्यता रहेको छ ।
बर्षभरि खानका लागि आफ्नो परिश्रम र पसिनाले लगाएको बाली नै नजोगिने भएपछि रातदिन नभनी किसानहरु खेतबारीमा बास बस्न बाध्य भएका हुन् । पछिल्ला केही वर्षयता जिल्लाका किसानहरु बांदर आतंकबाट हैरान भएका छन् ।
बारीमा लगाएको बाली स्याहार्ने समयमा बांदरको बिगबिगीले हैरान भएका किसानहरुले भर्खरै निर्वाचित भएका जनप्रतिनिधीहरुलाई समेत गुहार्न थालेका छन् । बारीमा लगाएको मकै, आलु लगायत फलफुल बांदरले सखाप पारेपछि हैरानी व्यहोर्नु परेको उनिहरुको गुनासो छ ।
जिल्लाको धुर्कोट, मदाने, मालिका, सत्यवती, रुरु, छत्रकोट, इस्मा, चन्द्रकोट, गुल्मीदरवार, कालीगण्डकी गाउंपालिका साथै रेसुङगा नगरपालिका र मुसिकोट नगरपालिकाका अधिकांश किसान यतिखेर रातको समयमा समेत घरमा भेटिदैनन् ।
बांदरले हैरान पारेपछि बारीमै छाप्रा बनाएर बस्ने गरेको धुर्कोट गाउंपालिका ६ का पुनाराम भण्डारीले बताए । दुख गरेर लगाएको खेती केहि समयमै सखाप पारिदिएपछि रातको समयमा समेत बारीमा बस्नु परेको भण्डारीको भनाई छ ।
जिल्लामा बांदरको विगविगी भएको भन्दै अहिले जिल्लाका बिभिन्न स्थानीय तहले बजेट समेत छुट्टाएका छन् । यता समस्या समाधानका लागी जिल्ला वन कार्यालयमा समेत निवेदन दिन आउने किसानको संख्या बढ्दो छ । अहिले जिल्ला वन कार्यालयमा पनि बांदर नियन्त्रणका लागि निवेदन दर्ता हुने गरेको जिल्ला वन अधिकृत बिशाल घिमिरेले बताए ।

SHARE