राहतको पर्खाइमा पशुपति विद्यालय

14

भैरहवा, २२ भदौ ।
अविरल वर्षाका कारण बाढीबाट नवलपरासी जिल्लामा विभिन्न क्षेत्रका बासिन्दाहरु प्रभावित भएका छन् । कोही घरबार बिहीन भएका छन् भने कसैको अन्नबाली नष्ट भएका छन । बाढीप्रभावित क्षेत्रमा राहत वितरणको लागि विभिन्न संघ–संस्था समेत पुगिरहेका छन ।
त्यस्तै नवलपरासीकै सुस्ता गाउँपालिका वडा नं. ३ सेखुनवा स्थित श्री पशुपति शिक्षा मन्दिर स्कल पनि बाढीबाट अछुतो रहन सकेन । साउन २० गतेको बाढीबाट उक्त विद्यालयको कक्षाकोठामा पानी पसेर कक्षाकोठा प्रयोगबिहीन भएको छ । शौचालय पनि प्रयोगबिहीन भएको छ । करिब १८ कट्ठामा रहेको विद्यालयको कक्षाकोठा पनि हिलाम्य हुँदा त्यहाँ अध्ययनरत विद्यार्थीहरु अहिले सुस्ता गाउँपालिका वडा नं. १ हरकपुरवा स्थित महिला समुहको भवनमा पठनपाठन गर्न बाध्य छन । १ सय ८० जना विद्यार्थी रहेको उक्त विद्यालयमा टाढा टाढाबाट समेत विद्यार्थीहरु अध्ययन गर्न आउने तर उनीहरुलाई विद्यालय भन्दा टाढा जानुपर्दा सास्ती खेप्नुपरेको विद्यालयका संरक्षक एवं स्थानीय समाजसेवी विरेन्द्र कुंवरले बताउनुभयो । बाढीले गर्दा विद्यालयमा रहेका फाइल रजिष्टार समेत नष्ट भएका विद्यालयका शिक्षकहरुले बताउनुभयो ।
बाढीप्रभावित अन्य क्षेत्रहरुमा राहतको लागि विभिन्न संघ–संस्था पुगे पनि विद्यालयमा अहिले सम्म कोही पनि नआएको कुवंरले दुखेसो गर्नुभयो । पशुपति शिक्षा प्रचार प्रसार समितिद्धारा सञ्चालित विद्यालयले चारित्रिक एवं नैतिक शिक्षा प्रदान गर्ने फरक किसिमको विद्यालय भएको तर कसैले पनि विद्यालयलाई ध्यान नदिदाँ मारमा परेको बताउनुभयो । उहाँले विद्यार्थीलाई विद्यालयकै भवनमा पढ्न पाउने अभिभावकहरुको माग रहेको समेत बताउनुभयो । सामाजिक क्षेत्रमा क्रियाशिल संघ–संस्थाहरुका साथै गाउँपालिका र जिल्ला शिक्षा कार्यालयको पनि यस विषयमा ध्यान दिनुपर्ने उहाँको माग छ ।

 

SHARE